वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा



काठमाडौं । सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।

सिजी कर्प ग्लोबल नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ । विनोद चौधरी अहिले नेपाली कांग्रेसको नेताका रुपमा राजनीतिमा सक्रिय छन् ।

विहिवार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाइवाइ प्लान्टको शिलन्यास गरिएको हो । इजिप्टस्थित नेपाली दुतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सीजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए । वाइवाइको प्लान्ट शिलान्याससंगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

सिजी कर्प ग्लोबलले विश्वब्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराईरहेको छ । दुवईस्थित जेएलटी होटल, काजखस्थितस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ ।

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो । नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइ वाइ उत्पादन हुदै आएको छ । विश्व नूडल्स बजारमा ३ प्रतिशतको हिस्सा ओगट्दै वाइवाइ एक शसक्त ब्राण्ड बनेको छ ।


क्लिकमान्डु