बालेन अभिमुखीकरणमा नआउँदा राजनीतिक अर्थ लगाउन आवश्यक छैन: मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको शपथपछि मात्र नयाँ सरकार गठन हुने जनाएको छ ।

दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम चलिरहँदा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा नेता मनिष झाले सांसदहरूको शपथपछि मात्र सरकार गठन हुने जानकारी दिए ।

संसद सचिवालयको शपथ ग्रहणको कार्यसूची आएपछि मात्र यकिन गरेर कहिले हुन्छ भनेर भन्न सकिने उनको भनाइ छ ।

‘पहिले सांसदहरूको शपथ ग्रहण हुने र त्यसपछि सरकार गठन गर्ने भन्ने कुरा छ,’ झाले भने, ‘ पहिला-पहिला सरकार गठन गर्न निकै हतारो गरेर सांसदको शपथ ग्रहण पनि नलिईकन त्यो हतारिएको देखिन्थ्यो कतिपय केसमा । तर हामी प्रक्रियागत रूपमा सबैलाई समेटेर सबै प्रक्रियाहरू अनुसार अगाडि बढ्न खोजिराखेका छौँ ।’

उनले सरकारमा मन्त्रीहरूको संख्या कम हुने गरि काम भइरहेको बताए । ‘हामीले वाचापत्रमा त्यो लेखेका छौं, ‘लिमिटेड गभर्मेन्ट, म्याक्सिमम गभर्नेन्स’को प्याकेज । सानो सरकार, ठूलो सुशासन भनेर हामीले त्यो अभ्यास गर्ने प्रयास गरिराखेका छौँ र त्यही अनुसारको अहिलेसम्मको संकेत र तयारीहरू देखिन्छ,’ उनले भने ।

झाले सांसदहरूको अभिमुखीकरणमा सभापति रवि लामिछाने केही क्षणका लागि भए पनि आइपुग्ने उल्लेख गर्दै वरिष्ठ नेता बालेन शाह भने नआउने उल्लेख गरे ।

बालेन आगामी सरकार र जनअपेक्षा अनुसारको आफ्नो जिम्मेवारी निर्वाह गर्ने कतिपय कुराहरूमा आन्तरिक गृहकार्य गर्नुपर्ने अवस्थामा भएको बताए ।

‘शारीरिक रूपमा पनि आगामी केही दिनपछि उहाँ पूर्ण रूपमा मानसिक र शारीरिक रूपमा सक्रिय भएर शतप्रतिशत भन्दा धेरै खट्नुपर्ने, मेहेनत गर्नुपर्ने अवस्थामा हुनुहुन्छ । त्यसैले अहिलेको अवस्थामा केही आराम, केही स्वास्थ्य लाभको आवश्यकता रहेकोले गर्दाखेरि यसमा कुनै पनि राजनीतिक अर्थ लगाउनुपर्ने आवश्यकता छैन। यो व्यावहारिक र शारीरिक-मानसिक कुराहरू हो र त्यही कारण मात्र हो,’ उनले भने ।

उनले आज सांसदहरूको अभिमुखीकरण ३ बजेतिर सकिने उल्लेख गरे ।