सिटिजन्स बैंकमा ५ करोड हिनामिना गर्ने कर्मचारीले नै हाले बैंकविरूद्ध मुद्दा


विराटनगर । सर्वसाधारणको करिब ५ करोड निक्षेप रकमलाई धितोमा परिणत गरी नक्कली कर्जा फाइल तयार पारेर हिनामिना गरेको आरोप लागेका बैंक कर्मचारीले बैंकविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका छन् ।

विराटनगरको राजवंशी चोकमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयकी अपरेसन इन्चार्ज रोजी कँडेल लगायतका कर्मचारीले निक्षेपको ४ करोड ९१ लाख रुपैयाँलाई नक्कली धितोमा परिणत गरी हिनामिना गरेको बैंकको आन्तरिक अडिटमा देखिएपछि बैंकले प्रहरीलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।

बिगो बराबरको जायजेथा बैंकलाई बुझाइसक्दा पनि बैंकले निलम्बन गर्नुका साथै प्रहरीमा उजुरी गरेर थुन्ने प्रक्रिया सुरु गरेको भन्दै हिनामिनामा संलग्न रोजी कँडेलले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी हुन् ।

आफूले बैंकमा गरेको काजगहरू झिकाइ उत्प्रेषणको आदेशद्वारा बदर गरी मुद्दाको टुंङ्गो नलागेसम्म आफूलाई नपक्रन, पक्रन नलगाउनु भनि विपक्षीहरूको नाममा अन्तरिम आदेशसहित स्थायी निषेधाज्ञा जारी गर्न माग गरिएको छ ।

मुद्दामा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी र शाखा प्रबन्धक अभिषेक अग्रवाललाई विपक्षी बनाइएको छ ।

बैंकले आफूले गरेको बैंकिङ ट्रान्जेक्समा केही त्रुटी देखिएका जग्गाहरू धितोमा राखेको रोजीले अदालतलमा दिएको मुद्दामा उल्लेख छ । ‘तपाईंले बैंकमा केही जेथा दिनु पर्ने भयो भनि मौखिक रुपमा भनेकोमा के कसो हो भनि सोधखोज गर्दा विपक्षीहरूले तपाईंले जेथा धितोमा नदिनु भए हामी सबैलाई गाह्रो हुन्छ, हामी सबैको इज्जतको लागि जेथा धितो दिनुहोस् बाँकी कुरा हामी मिलाउने छौं भनि साह्रै जिद्दी गरि तनाव दिन थालेकाले बाध्य भइ सरसल्लाह गरी मैले मेरा ससुरा खगेन्द्र प्रसाद रिजालको नाममा दर्ताको छ करोड मूल्यांकन भएको जग्गाहरू धितोमा राखेको थिएँ’ निवेदनमा भनिएको छ ।

रोजीका पिता राजन कँडेलले भने बैंकमा काम गर्ने क्रममा गल्ती भएको स्वीकार गर्दै रोजीले हिनामिना भएको रकम बराबरको घरजग्गा बैंकको नाममा रोक्का गरिदिँदा पनि बैंकले प्रहरीमा उजुरी गरेर पक्राउ गर्ने तयारी गरेपछि मुद्दा दायर गरिएको बताए।

बैंकले दुई महिनाअघि गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठुलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि संलग्न कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

बैंकको अनुसन्धानबाट उक्त शाखाकी अपरेसन इन्चार्ज कँडेल रकम हिनामिनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको थियो । बैंकले कँडेललाई बर्खास्त गरिसकेको छ भने उक्त शाखामा कार्यरत अन्य ९ कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ ।

रोजी कँडेलसँग व्यक्तिगत कारोबार भएको र उनकै आइडीबाट मुद्दती निक्षेपको दुरुपयोग भएको देखिएपछि अन्य कर्मचारीहरू पनि अनुसन्धानको घेरामा परेको बैंकले जनाएको छ ।

उक्त प्रकरणमा संलग्न भएको आशङ्का गरिएका ४ जना कर्मचारीको राजीनामा आइसकेको बैंकले जनाएको छ ।

निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेर हिनामिना गरेको बैंकको आन्तरिक अडिटमा पुष्टि भएपछि रोजीले आफ्ना ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित दर्वेसाको १४ कट्ठा ६ धुर जग्गा गत माघ १८ गते र सोही स्थानको २ बिघा जमिन गत फागुन २६ गते बैंकको नाममा पास गरिदिएकी थिइन् ।

रोजीसहितका कर्मचारीले बैंकको ५ करोड ३१ लाख रुपैयाँ हिनामिना गरेको देखिएको बैंक स्रोतको भनाइ छ त्यसमध्ये दुई कर्मचारीले २०–२० लाख रुपैयाँ नगद नै बैंकलाई बुझाइसकेका छन् भने बाँकी ४ करोड ९१ लाख बिगोबापतको जायजेथा रोजीले बैंकलाई बुझाएकी छन् ।