
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा एयर डाइनेस्टीको ९एन–एएफक्यू हेलिकप्टर बुधबार दुर्घटनामा पर्यो ।
काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको उक्त हेलिकप्टर ११ बजेर ५१ मिनेटमा अवतरण गर्ने क्रममा बालाबेसी क्षेत्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना यात्रु काजीबहादुर राई सामान्य घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको केपिलासगढी–२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए । घाइते राईलाई एयर डाइनेस्टीकै अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
हेलिकप्टरमा नागमणि (डाकमनी) राई, उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए । पाइलट सविन थापासहित कुल ६ जना सवार रहेको बताइएको छ । चालक दलसहित अन्य सबै यात्रु सकुशल रहेका छन् ।
प्रारम्भिक जानकारी अनुसार बेलायतमा केही दिनअघि निधन भएकी मनमछी (मनलक्षी) राईको अन्तिम संस्कारका लागि परिवार खोटाङ फर्किंदै थियो । शवसमेत नेपाल ल्याइए पनि हेलिकप्टरमा राख्ने ठाउँ नभएपछि शव गाडीमार्फत पठाइएको थियो भने परिवारका सदस्य हेलिकप्टरमा आएका थिए ।
गाउँमा अवतरणका लागि बारीमा हेलिप्याड तयार गरिएको थियो । तर हेलिकप्टर निर्धारित स्थानभन्दा केही माथि अवतरण भएको र त्यसपछि सार्ने क्रममा सन्तुलन गुमाएर पल्टिँदै माथिल्लो गरामा पुगेर भित्तामा ठोकिएको देखिन्छ ।







प्रतिक्रिया