
जनताको आँगनबाट कहिल्यै टाढा नहुने प्रतिबद्धतासहित सुरु भएको राजनीतिक यात्रा आज इतिहासकै महत्त्वपूर्ण मोडमा आइपुगेको छ ।
आकाशमा जति उडिए पनि जमिनसँगको सम्बन्ध कहिल्यै टुटेन भन्ने विश्वासले नै आजको जनादेश सम्भव भएको हो । नेपाली जनताले असाधारण विश्वासका साथ दिएको जिम्मेवारी केवल चुनावी जित मात्र होइन, यो परिवर्तनको स्पष्ट माग हो ।
देश परिवर्तन चाहन्छ । र, जब जनताले परिवर्तनको चाहना राख्छन्, त्यसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन । तर परिवर्तनका लागि सही नेतृत्व र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ । आज हामी त्यही ऐतिहासिक क्षणमा उभिएका छौँ, जहाँ जनताले आफ्नै हातले भविष्य लेख्ने जिम्मा हामीलाई सुम्पिएका छन् ।
यो जनादेश गर्व गर्ने विषय मात्र होइन, गहिरो जिम्मेवारीको अनुभूति गर्ने समय पनि हो । अबको पाँच वर्ष सामान्य राजनीतिक अभ्यासको निरन्तरता होइन, पूर्ण रूपान्तरणको समय हो । पुराना शैली, पुराना व्यवहार र पुरानै ढर्रामा राजनीति अब सम्भव छैन । नेपाली जनताले ‘काँचुली फेर्ने’ स्पष्ट सन्देश दिएका छन् ।
सांसदका रूपमा सबैभन्दा ठूलो जिम्मेवारी कानुन निर्माण हो । जनताको दैनिक जीवनमा पर्ने प्रभाव-जस्तै बाटो, पानी, बिजुली, स्वास्थ्य, शिक्षा-यी सबै अन्ततः कानुन र नीतिसँग जोडिएका हुन्छन् । त्यसैले अध्ययन, अनुसन्धान र गहिरो बुझाइ बिना प्रभावकारी काम सम्भव हुँदैन । शक्ति केन्द्रित दौडधुप, पहुँच र व्यक्तिगत स्वार्थको राजनीति अब त्याग्नैपर्छ ।
राजनीतिमा आएको नयाँ पुस्ताले बुझ्नुपर्ने कुरा के हो भने जनताले दिएको विश्वास क्षणिक पनि हुन सक्छ । पुराना दललाई जनताले दशकौँ कुर्न सके, तर नयाँ शक्तिलाई समय कम छ । यदि अपेक्षा पूरा भएन भने जनताको निराशा झन् तीव्र हुन सक्छ । त्यसैले प्रत्येक दिन जिम्मेवारीको महसुस आवश्यक छ ।
राजनीति ‘म केन्द्रित’ होइन, ‘देश केन्द्रित’ हुनुपर्छ । व्यक्तिगत पद, हैसियत वा आकांक्षाभन्दा माथि उठेर देशको हितलाई केन्द्रमा राख्न सके मात्र यो जनादेशको सार्थकता हुन्छ । समाजले नेताको सपना बोकेको हुँदैनः नेताले समाजको सपना बोकेको हुन्छ । यही मूलभूत सत्यलाई आत्मसात् गर्नुपर्छ ।
यस सन्दर्भमा नैतिकता र आचरणको प्रश्न अत्यन्त महत्त्वपूर्ण छ । बिचौलियासँगको सम्बन्ध, व्यक्तिगत फाइदाका लागि गरिने सम्झौता वा सत्ताको दुरुपयोगले जनविश्वास तुरुन्तै क्षय गर्छ । सहिदहरूको बलिदानबाट प्राप्त अवसरलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु इतिहासप्रति अन्याय हुनेछ ।
राजनीतिक दलभित्र अनुशासन र स्वतन्त्रताको सन्तुलन आवश्यक छ । स्वतन्त्र अभिव्यक्ति महत्त्वपूर्ण भए पनि त्यसले देशको हित, अन्तर्राष्ट्रिय सम्बन्ध र जनविश्वासमा असर पार्न सक्छ भन्ने चेतना हुनुपर्छ । सार्वजनिक अभिव्यक्तिमा परिपक्वता र जिम्मेवारी अपरिहार्य छ ।
जनप्रतिनिधिहरूले आफूलाई विशेष सुविधा प्राप्त वर्गका रूपमा होइन, जनताको प्रतिनिधिका रूपमा व्यवहार गर्नुपर्छ । सरकारी सेवाको सुधारका लागि आफूले पनि त्यही सेवा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ । यसले प्रणाली सुधारमा प्रत्यक्ष योगदान पुर्याउँछ ।
विकासको परिभाषा पनि पुनःपरिभाषित गर्नुपर्ने समय आएको छ । केवल भौतिक पूर्वाधार—सडक, भवन—मात्र विकास होइन । सामाजिक न्याय नै वास्तविक विकासको आधार हो । जहाँ विभेद छ, जहाँ समान अवसर छैन, त्यस्तो समाजलाई विकसित भन्न सकिँदैन । त्यसैले समावेशिता, समानता र न्यायलाई केन्द्रमा राखेर नीति निर्माण हुनुपर्छ ।
देशको समग्र विकासलाई प्राथमिकता दिनुपर्छ । कुनै एक क्षेत्र मात्र समृद्ध हुँदा देश समृद्ध हुँदैन । कर्णाली, मधेस, सुदूरपश्चिमजस्ता क्षेत्रहरूमा आधारभूत सेवाको पहुँच सुनिश्चित गर्नु नै साँचो विकास हो । यही दृष्टिकोणले दीर्घकालीन परिणाम दिन सक्छ ।
यो देशका निजी क्षेत्रलाई म स्पष्ट रूपमा आश्वस्त पार्न चाहन्छु-तपाईंहरू कुनै पनि अवस्थामा विचलित हुनुपर्ने आवश्यकता छैन । तपाईंहरूले निर्धक्क र विश्वासका साथ काम गर्न सक्ने वातावरण सिर्जना गर्ने हाम्रो पूर्ण प्रतिबद्धता छ ।
देशमा लगानी भित्र्याउनका लागि विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट हार्दिक आह्वान गर्न चाहन्छु-आउनुहोस्, हामी सबै मिलेर देश बनाउने अभियानमा हातेमालो गरौँ । राष्ट्र निर्माणको यो महत्त्वपूर्ण यात्रामा तपाईंहरूको साथ र सहकार्य अपरिहार्य छ। सँगै मिलेर हामी व्यवस्थित, पारदर्शी र दिगो आर्थिक थिति बसाल्न सक्छौँ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय समुदायलाई पनि म विश्वस्त पार्न चाहन्छु कि नेपाल लगानीका लागि सुरक्षित र सम्भावनायुक्त गन्तव्य हो । यहाँ तपाईं र तपाईंको लगानी पूर्ण रूपमा सुरक्षित रहनेछ । कुनै किसिमको अनावश्यक बाधाअड्चन सिर्जना हुन दिइने छैन। तपाईंहरूलाई कुनै व्यक्तिविशेष, नेता वा पार्टीले होइन, स्पष्ट र स्थिर नीतिले संरक्षण गर्नेछ। हाम्रो नीतिगत व्यवस्था नै तपाईंहरूको सुरक्षाको आधार हुनेछ ।
अब समय आएको छ-देशका विश्वविद्यालयहरूले नयाँ रूप लिनुपर्ने, उद्योग तथा कलकारखानाहरू पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने, र समग्र अर्थतन्त्र चलायमान बन्नुपर्ने । रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिनु हाम्रो प्रमुख दायित्व हो।
यी सम्पूर्ण जिम्मेवारीहरूलाई आत्मसात् गर्दै, हामी सक्षम, प्रतिबद्ध र परिणाममुखी ढंगले अघि बढ्नेछौँ ।
राजनीतिमा सहकार्य र टिमवर्क अत्यावश्यक हुन्छ । विभिन्न पृष्ठभूमिबाट आएका मानिसहरू एउटै उद्देश्यका लागि एकत्रित भएका हुन्छन् । व्यक्तिगत मनपर्ने–नपर्नेभन्दा माथि उठेर संविधान, कानुन र पार्टीको सिद्धान्तअनुसार सामूहिक रूपमा काम गर्नुपर्छ ।
जनताको विश्वास कायम राख्न राजनीतिक संस्कार पनि परिवर्तन गर्नुपर्छ । विपक्षीप्रति सम्मान, सहिष्णुता र जिम्मेवार व्यवहार लोकतन्त्रको आधार हो । विजयी हुनु भनेको जिम्मेवारी बढ्नु हो, उन्माद देखाउनु होइन ।
अन्ततः, यो समय उत्सवभन्दा बढी जिम्मेवारीको हो । जनताले दिएको अवसर दुर्लभ छ-आफ्नै हातले देशको भविष्य लेख्ने अवसर । यदि यो अवसर पनि गुम्यो भने इतिहासले क्षमा गर्नेछैन । त्यसैले निरन्तर अध्ययन, इमानदार प्रयास र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ ।
देशले दिएको जिम्मेवारी पूरा गर्न सके मात्र यो परिवर्तन दीगो हुनेछ । नत्र, यो केवल अर्को असफल प्रयासका रूपमा सीमित हुनेछ । अब विकल्प छैन-सफल हुनैपर्छ ।
(रास्वपा सभापति रवि लामिछानेले बुधबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा गरेको सम्बोधनको सारसंक्षेप)







प्रतिक्रिया