
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी दिएका छन् ।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै लामिछानेले भने, ‘अहिले म यहाँ बोल्दासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागिसकेको छैन। हामीले तपाईं सबैलाई चिनेका छौं र बलियो मन्त्रिपरिषद् बनाउनेछौं ।’
लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर सम्हालिएर काम गर्नुपर्ने बताए । जनताले अब कसैलाई नकुर्ने उनको भनाइ छ । ‘जनताले पुराना दललाई ३५ वर्ष कुरे । हामीलाई २६ महिना, २६ दिन पनि कुर्ने वाला छैनन् । यो कुरा ध्यान दिनुहोला,’ लामिछानेले भने ।
उनले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी पनि मागे। लामिछानेले भने, ‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु कि हाम्रो पार्टीभित्र यसपटक राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन सकेन । सभापतिको हैसियतमा म क्षमा माग्छु र आगामी दिनमा समावेशीतालाई प्राथमिकताका साथ अघि बढाउनेछु ।’







प्रतिक्रिया