रुपन्देहीको होटल क्राउन प्लाजाले १ अर्ब लगानी थप्दै, एक वर्षमा कति गर्‍यो व्यापार ?


काठमाडौं । रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजले सञ्चालनमा ल्याएको होटल क्राउन प्लाजाले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ करोड रुपैयाँ र सन् २०२३ मा पनि ४ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले ११० कोठा क्षमताको होटल निर्माण गरिरहेको छ । हाल भने ७० कोठाको सुविधासहित होटल सञ्चालनमा रहेको छ । साथै, कम्पनीले होटलको क्षमता विस्तार गरी १३८ कोठा पुर्‍याउने योजना बनाएको छ । यसका लागि थप २८ कोठा निर्माण गरी होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने तयारी गरिएको छ ।

सन् २०१४ मा होटल पवन प्यालेस प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२५ मा लुम्बिनी हेरिटेज कम्पनीमा परिणत भएको हो ।

कम्पनीले कन्फरेन्स हल, फुड एन्ड बेभरेज सेवा तथा वेलनेस सुविधासमेत स्तरोन्नति गर्ने तयारी गरेको छ । सन् २०२५ को अक्टोबरमा होटल व्यवस्थापनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

होटलको स्तरोन्नति तथा क्षमता विस्तारका लागि कम्पनीले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ थप लगानी गर्ने भएको छ । यसअन्तर्गत कोठादेखि अन्य सेवासुविधासम्मको विस्तार गरिनेछ ।

कम्पनीको लगानी अनुपात ५६:४४ कायम गरिएको छ भने आवश्यक कर्जा व्यवस्थापन भइसकेको छ । स्तरोन्नति सम्पन्न भएको होटल सन् २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सुभास अमात्य अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङसमेत गराएको छ।

होटल बुद्ध जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा छ।