मल्टिनेसनल कम्पनीको लोगो चोर्ने नेपाली उद्योगलाई कारबाही गर्दै विभाग, सोध्यो ७ दिने स्पष्टीकरण


काठमाडौं । कोकाकोलासहित बहुराष्ट्रिय कम्पनीको ब्रान्ड ट्रेडमार्कको नक्कल गर्ने १० नेपाली उद्योगसँग उद्योग विभागले ७ दिने स्पष्टीकरण सोधेको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै विदेशी बहुराष्ट्रिय कम्पनीको उजुरीको आधारमा ती कम्पनीको ट्रेडमार्क नक्कल गर्ने १० नेपाली उद्योगसँग स्पष्टीकरण सोधेको हो ।

बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो ब्राण्डको ट्रेडमार्क दूरुपयोग भएको भन्दै उद्योग विभागमा उजुरी दिएका थिए। ती उजुरीको आधारमा विभागले विदेशी कम्पनीको ट्रेडमार्क दूरुपयोग गर्ने नेपाली कम्पनीलाई यसअघि पनि विभिन्न समयमा लिखित स्पष्टीकरण माग गरेको थियो ।

नेपाली कम्पनीले उक्त स्पष्टीकरणको विषयमा अटेर गरी विभागमा कुनै जानकारी उपलब्ध नगराएकाले पुन ७ दिने स्पष्टीकरण सोधेको हो ।

विभागले ७ दिनभित्र स्वदेशी कम्पनीबाट लिखित रुपमा स्पष्टीकरणसहित जानकारी प्राप्त नभए कानूनअनुसार प्रक्रिया अघि बढाइने र तत्पश्चात स्वदेशी कम्पनीले कुनै दाबी गरे पनि उजुरी नलाग्ने जनाएको छ ।

विभागको सूचनाअनसार अमेरिकाको टर्नर इन्टरटेनमेन्ट कम्पनीले चितवनको नौलो फुड्स इन्डस्ट्रिज विरुद्ध र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्टस् विरुद्ध, अमेरिकास्थित इनर्जी ब्रान्ड इंकले रुपन्देहीको अक्वा नेपाल बिस्लेरी विरुद्ध र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेज विरुद्ध, अमेरिकाकै ट्रेक बाइसाइकल कर्पोरेसनले पर्साको टर्बो ट्रेक विरुद्ध ट्रेडमार्क दूरुपयोगसम्बन्धी उजुरी दिएको थियो ।

यस्तै अमेरिकास्थित द कोकाकोला कम्पनीले सुनसरीको दुहवीस्थित प्रिमियर अर्गान्स प्राइभेट लिमिटेड विरुद्ध एक र सुनसरीस्थित पाथिभरा फुड एन्ड प्याकेजिङ्ग विरुद्ध दुईवटा उजुरी दर्ता गराएको थियो ।

यसैगरी जर्मनीको ह्युगो बोस ट्रेडमार्क म्यानेजमेन्टले झापाको इम्यानर फेसनवेयर इन्डस्ट्रिज विरुद्ध, अमेरिकाको जुम कम्युनिकेसन इंकले झापाकै कभिस मार्केटिङ्ग प्राइभेट विरुद्ध र न्युजिल्याण्डको काठमाडौं लिमिटेडले काठमाडौंको ओम मंगलकाली टेक्सटाइल उद्योगविरुद्ध ट्रेडमार्क दुरुपयोगसम्बन्धी उजुरी दर्ता गरेको थियो ।