तरलता अभावबीच पनि घरजग्गा कारोबारमा उछाल, साउनपछिकै सबैभन्दा बढी किनबेच



काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावका बीच पनि घरजग्गा कारोबार उछाल आएको छ ।

मासिकरुपमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा फागुन महिनामा भने तरलता अभावकै बीच ७४ हजार घरजग्गाको किनबेच भएको छ ।

गत माघ महिनामा ह्वात्तै घरजग्गा कारोबार घटेको थियो । घरजग्गा कारोबार व्यवसायीहरूले पनि तरलता अभाव भएकै कारण घरजग्गा कारोबारमा सुस्ताएको जनाएको थियो ।

साथै, तरलता अभाव भएकाले केही महिना अझै कारोबार सूस्ताउने बताए पनि फागुनमा भने घरजग्गा कारोबारले नयाँ मोड लिएको छ ।

गत माघमा महिनामा तरलता अभावका कारण ५९ हजार ५ सय १६ घरजग्गाको मात्रै किनबेच भएको थियो । सो महिना देशभरका मालपोत कार्यालयबाट १ लाख ३२ हजार सेवा प्रवाह भएको थियो ।

हाल पनि तरलता अभाव भएको अवस्था छ । तर पनि देशभरका मालपोत कार्यालयबाट फागुन महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको छ । उक्त जग्गा किनबेच भएको संख्या साउनपछि कै सबैभन्दा बढी हो ।

गत साउनमा देशभरका मालपोत कार्यालयबाट ७५ हजार बढी घरजग्गा किनबेच भएको थियो । त्यसपश्चात उक्त संख्यामा हालसम्म पनि घरजग्गा किनबेच हुन सकेको थिएन ।

साउनपछि माघसम्ममा मासिक ७० हजारको हाराहारीमा घरजग्गाको किनबेच हुँदै आएको थियो । तर, अहिले माघ महिनामा ६ महिनापश्चात हालसम्मकै उच्च कारोबार भएको छ ।

फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ६२ हजार ६७८ सेवा प्रवाह हुँदा ७४ हजार ३६ लिखित पारित, ५ हजार नामसारी, ४ हजार ५३९ संशोधन, ३६ हजार ५७२ रोक्का, २४ हजार ७४९ फुकुवा र १८ सय ५७ दाखिला खारेज गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।

फागुन महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट फागुन महिनामा मात्रै ३२ सय ८६ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, बेलबारी मोरङबाट २८ सय ७२, भद्रपुर झापाबाट २७ सय ७२, जनकपुरधाम धनुषामा २४ सय ९६, नेपालगञ्जबाट २४ सय ४९, ललितपुर लगनखेलबाट २१ सय ६७ र भक्तपुरबाट २ हजार २६ घरजग्गाको किनबेच भएको छ ।

उपत्यकामा घरजग्गा किनबेच घट्यो
फागुन महिनाको घरजग्गा कारोबारमा उछाल आएपनि उपत्यकामा भने घरजग्गा किनबेच सुस्ताएको देखिन्छ ।

उपत्यकामा गत पुसमा महिनामा उपत्यकाका तीन जिल्लाको ९ वटा मालपोत कार्यालयबाट ८ हजार ३ सय ८७ घरजग्गाको किनबेच भएको थियो ।

गत माघमा पनि देशभरको घरजग्गा कारोबारमा कमी आउँदा माघ महिनामा उपत्यकामा मात्रै ८ हजार ५ सय १८ घरजग्गा किनबेच भएको थियो । तर, फागुन महिनामा देशभरमा किनबेच बढ्दा उपत्यकामा भने सुस्ताएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

फागुन महिनामा उपत्यकामा ५५ सय ३६ घरजग्गा किनबेच भएको छ । जुन निकै कम हो ।

फागुनमा उपत्यकामा सबैभन्दा बढी ललितपु मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २१ हजार ६७ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, भक्तपुरबाट २० सय ३६, कलंकीबाट १८ सय ३२, साँखुबाट ११ सय ७२, चावहिलबाट ८ सय ९७, डिल्लिबजारबाट ३९१, टोखाबाट ३०९ गोटीखेलबाट ४५ र मनमैजुबाट कुनै घरजग्गाको किनबेच भएको देखिँदैन ।

६ अर्ब बढी राजस्व संकलन
गत माघ महिनामा विभागले देशभरबाट साढे ५ अर्ब मात्रै राजस्व संकलन गरेको थियो । त्यस्तै, विभागका अनुसार फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ६ अर्ब २६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले फागुन महिनामा सेवा करवापत २३ करोड ३८ लाख ७९ हजार, बागमतीवापत १९ करोड ६३ लाख, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ७८ करोड ११ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

५५ करोड छुट
देशभरको मालपोत कार्यालयबाट फागुन महिनामा ५५ करोड ६५ लाख ९४ हजार रुपैयाँ राजस्व छुट दिएको छ ।

सरकारले महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । साथै, ४० वर्ष पूरा भई बसेका एकल महिलाको छुट्टै व्यवस्था गरेको छ ।

ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरिएको छ । एकल महिलाले भने थप १० प्रतिशत छुट पाउने व्यवस्थाले रहेकाले सोहीअनुसार छुट प्रदान गरेको विभागको भनाइ छ ।


क्लिकमान्डु