स्याउको बीमाले जुम्लाका किसानलाई दिएको खुसी
जुम्ला । आजभन्दा ५५ वर्षअघि अर्थात् २०२३ सालमा जुम्लामा स्याउका विरुवा भित्रिए । त्यसयता जुम्लाका अधिकांश किसानहरु अन्य खेतीसँगै स्याउ खेतीमा पनि संलग्न छन् ।
शुरुवाती दिनदेखि आजसम्म निरन्तर स्याउ खेतीमा लागेका किसान हुन् ७५ वर्षे रामकृष्ण बुढथापा ।
जुम्ला चन्दनथान नगरपालिका वडा नम्बर २ खुलिकोटका बुढथापाले स्याउ खेती शुरु गर्न थालेको ५५ वर्ष भयो । आफ्नो जीवन गाइपालनलगायतका कृषि पेशमा खर्चिएका उनलाई किसानका हरेक समस्यालाई नजिकबाट बुझेका छन् ।
जलवायु परिवर्तनका कारण समयमै वर्षा नहुने, न्यून वा अधिक वर्षा हुने, असिना तथा कालो तुसारोलगायतका समस्याले स्याउका बोटमा पर्ने क्षति र त्यसले उत्पादनमा पार्ने प्रभावलाई मिहीन ढंगले बुझेका छन् ।
हिमाली जिल्ला भएकाले जुम्लामा उत्पादन अन्य जिल्लाको तुलनामा उसै पनि कम हुन्छ । त्यसमाथि खडेरी, असिना र कालो तुसारोका कारण हुने क्षतिपूर्ती किसानका लागि थप पीडादायी बनिदिन्छन् ।
जसोतसो उत्पादन भएको स्याउ कोल्डस्टोर नहुँदा समय अगावै टिपेर सुर्खेत र नेपालगञ्जसम्म पुर्याउनुपर्ने तनाव अर्कोतिर छँदैछ । किसानका यी र यस्तै पीडामा पछिल्ला ६ वर्षयता महलम बनिदिएको छ, शिखर इन्स्योरेन्स ।
शिखर इन्स्योरेनसले आर्थिक वर्ष २०७२/७३ देखि जुम्लामा स्याउको बोटको मौसमी सूचकांकमा आधारित बीमा शुरु गरेको हो । जसले किसानलाई मौसमका कारण हुने क्षतिको भरपाई गरिदिएको छ । जसको लाभ बुढथापा जस्ता कैयन किसानले लिइरहेका छन् ।
बुढथापाले स्याउ खेती शुरु गरेको ५० वर्षपछि बीमा गरेकै कारण मौसमबाट भएको क्षतिपूर्ती वापत रकम पाएका छन् । बीमाका कारण क्षतिपूर्ती पाएपछि उनी र उनीजस्ता हजारौं किसानहरु अहिले स्याउको बीमा गर्न लागीपरेका छन् ।
बुढथापाकाले पछिल्लो ४ वर्षदेखि आफ्नो स्याउबारीमा भएका ३५० वटा बोटको बीमा गर्दैृ आएका छन् । जसका लागि उनले प्रतिबोट ४५ रुपैयाँका दरले प्रत्येक वर्ष १५ हजार ७५० रुपैयाँ प्रिमियम बुझाउँछन् ।
‘४ वर्षमा एकवर्ष क्षति नभएकाले दाबी गरिँन,’ थापाले क्लिकमाण्डूसँग भने, ‘तर तीन वर्षमा प्रत्येक वर्ष ७० देखि ८० हजार रुपैयाँका दरले दाबी भुक्तानी वापत रकम लिइरहेको छु ।’
किसानलाई मौसमका कारण उत्पादन कम भए पनि बीमाका कारण क्षतिपूर्ती पाइरहेको भन्दै उनले बीमाका कारण स्याउ खेतीप्रति मानिसहरु अझ बढी सक्रिय हुन थालेको उनको भनाइ छ ।
‘पहिले लगानी वापतको प्रतिफल नै आउँदैन कि भन्ने डर हुन्थ्यो तर अहिले मौसमका कारण क्षति पुग्यो भने स्याउ नफले पनि किसानलाई मर्का भने पर्दैन,’ उनले भने, ‘जसले गर्दा बिस्तार स्याउ खेती गर्ने किसानहरु बीमातर्फ आकर्षित भइरहेका छन् ।’
उनको जस्तै अनुभव छ अर्को किसानद्वय विश्वराज खत्री र कमल रोकायाको पनि ।
खत्रीले बुबाले गरिरहेको स्याउ खेती पेशालाई निरन्तरता दिएका हुन् । बुबाको पेशालाई उनले पछिल्लो ५ वर्षयता सक्रियरुपमा निरन्तरता दिएका छन् । उनले पछिल्लो तीन वर्षयता शिखर इन्स्योरेन्समा आफूसँग भएका २ सय बोटमध्ये १ सय बोटको बीमा गरेका छन् ।
‘तीन वर्षमा वार्षिक ५ हजारका दरले करिब १५ हजार रुपैयाँ बीमा वापतको प्रिमियम बुझाइसकेको छु,’ खत्रीले भने, ‘गत वर्ष २५ हजार र यो वर्ष २२ हजार रुपैयाँ गरी ४७ हजार रुपैयाँ क्षतिपूर्तीवापत भुक्तानी पाइसकेका छन् ।’
खत्री किसानका लागि स्याउमात्रै नभएर सबै प्रकारका कृषि बीमा गर्नु फाइदाजनक हुने बताउँछन् । उनले स्याउसँगै मौरीको बीमालगायतका अन्य प्रकारका खेतीमा पनि बीमालेख जारी भए राम्रो हुने बताए ।
यता कमल रोकायाले गत वर्ष १ सयवटा स्याउका बोटमा बीमा गरेकोमा यसवर्ष २ सयबोटको बीमा गरेका छन् । उनले प्रतिबोट ३८ रुपैयाँका दरले प्रिमियम बुझाइसकेका छन् । बुबाले लामो समयदेखि गर्दै आएकाले उनले गत वर्ष १ सय बोटको बीमा वापत ३ हजार ८०० रुपैयाँ बुझाएर क्षतिपूर्ती वापत प्रतिबोट २५० रुपैयाँका दरले २५ हजार रुपैयाँ पाइसकेका छन् । यस वर्ष पनि सोही अनुसार ५० हजार रुपैयाँ क्षतिपूर्ती वापतको रकम पाएको उनले बताए ।
७ प्रतिशतमा बीमा पहुँच, १५ प्रतिशत पुर्याउने लक्ष्य
जुम्लामा स्याउ खेतीमा बीमा गर्ने शिखर इन्स्योरेन्स एकमात्रै कम्पनी हो । जसले जुम्लाका विभिन्न पालिकामा रहेका १६ लाख स्याउका बोटमध्ये ७ प्रतिशत बोटको बीमा गरिसकेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ४३७ बीमितले ४ लाख २७ हजार १६६ बोटको बीमा गरेका छन् । कम्पनीका अनुसार गत आर्थिक वर्षमा १६ लाख बोटमध्ये १ लाख २० हजार ७०८ वटा बोट अर्थात् ७.५४ प्रतिशतमा बीमा भएकोमा चालु आर्थिक वर्षमा २ लाख ५० हजार बोट अर्थात् १५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।
कर्णाली प्रदेशमा स्याउ बीमा
कम्पनीका डेपुटी जनरल म्यानेजर उदितप्रसाद काफ्लेका अनुसार कम्पनीले २०७२ सालबाट जुम्लामा स्याउ खेतीको बीमा गर्न शुरु गरिएकोमा अहिले जुम्लाका सिञ्जा, देवाल गाउँपालिका, तातोपानीमा स्याउको बोटको बीमा शुरु भइसकेको छ ।
त्यसैगरी मुगुको रारा र बाम, कालिकोटको नग्मा र रास्कोट, डोल्पाको जुफाल, मुस्ताङको जोमसोममा स्याउ खेतीमा बीमा भइसकेको छ ।
प्राप्त तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले जुम्लामा ७.५४ प्रतिशत, कालिकोटमा ८ लाख बोटमध्ये ५१ हजार ९१६ बोट अर्थात् ६.४९ प्रतिशत र मुगुमा १ लाख ५० हजार स्याउका बोटमध्ये २१ हजार ८५० बोट अर्थात् १४.५७ प्रतिशत बोटको बीमा भइसकेको छ ।
७ करोड २० लाख प्रिमियम ८ करोड ३८ लाख भुक्तानी
शिखर इन्स्योरेन्समा आर्थिक वर्ष २०७२/७३ मा जुम्लाका ४१ बीमितले २ हजार १८६ बोटको बीमा गरेका थिए । जसबाट कम्पनीले ३ लाख ६१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
आव २०७३/७४ मा आइपुग्दा ३५१ बीमितले ६ हजार ९९६ वटा स्याउको बोटको बीमा गरी ११ लाख ५४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
आव २०७४/७५ मा १ हजार १८६ बीमितले ३९ हजार ५८७ बोटको बीमा गरेर ६५ लाख ३२ हजार रुपैयाँ प्रिमियम कम्पनीले पाएको थियो भने आव २०७५/७६ मा १ हजार ८०० बीमितले ९४ हजार ९०५ वटा बोटको बीमा गरेर प्रिमियम वापत १ करोड ५६ लाख रुपैयाँ कम्पनीले पाएको थियो ।
आव २०७६/७७ मा १ हजार ८३२ जना बीमितसँग ८९ हजार २२ वटा बोटको बीमा गर्दा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ र आव २०७७/७८ मा २ हजार २२८ बीमितसँग १ लाख ९४ हजार ४७० बोटको बीमा गर्दा ३ करोड २० लाख रुपैयाँ प्रिमियम संलकन गरेको थियो ।
प्रिमियममा ८० प्रतिशत अनुदान
नियामक निकाय बीमा समितिले २०६९ पुस २२ गते जारी गरेको बाली तथा पशुपंक्षी बीमा निर्देशन अनुसार सोही वर्षको माघ १ गतेदेखि बीमा कम्पनीहरुका लागि अनिवार्य गरिएको थियो ।
२०७० असार १ गतेदेखि सरकारले कृषि बीमाको बीमा शुल्कमा अनुदानको व्यवस्था गरेको थियो । शुरुमा ५० प्रतिशतबाट शुरु गरिएको अनुदान अहिले ८० प्रतिशत (कालिज बीमा बाहेक)सम्मको व्यवस्था छ । साथै यसमा मूल्य अभिवृद्धि करसमेत लाग्दैन ।
बीमा समितिका अनुसार २०६९ सालमा ४ प्रकारका कृषि बीमा लेख जारी हुने गरेकोमा हाल त्यस्ता कृषि बीमा लेखको संख्या २६ पुगेको छ । जसमा पशुधन, पंक्षी आदिका लागि ७ वटा, लागत मूल्यमा आधारित बाली बीमा ७ वटा र उत्पाद मूल्यमा आधारित बाली बीमालेखको संख्या १२ पुगेको छ ।
त्यसबाहेक शिखर इन्स्योरेन्सका लागि समितिले मौसम सूचकांक बीमाका लागि स्वीकृति दिएको छ ।
बीमाको मापदण्ड
शिखर इन्स्योरेन्सले गरिरहेको स्याउ बीमा मौसम सूचकांकमा आधारित बीमा हो । यस बीमालेखमा क्षति भएको अवस्थामा क्षतिको मूलयांकन नगरी पूर्वनिर्धारित स्केलअनुसार बीमा दाबीको भुक्तानी हुन्छ ।
जसमा खडेरी (कम वर्षात) भएको अवस्थमा दाबी पाइन्छ । साथै चैत १५ गतेदेखि जेठ १५ गतेसम्म जम्मा ६० मिलिमिटरभन्दा कम वर्षा भयो भने दाबी भुक्तानी पाइन्छ । वर्षातको रेकर्ड सरकारको मौसम मापन केन्द्रले गरिन्छ । साथै किसानको माग अनुसार असिनाबाट भएको क्षति पनि पाइन्छ ।
किसानका माग
किसान रामकृष्ण बुढथापाले शिखर इन्स्योरेन्सले स्याउ बीमालेख बिक्री गर्दा राखेका क्षतिपूर्तीको मापदण्ड थप गर्नुपर्ने बताउँछन् ।
‘अन्य खेतीको तुलनामा कम श्रम खर्चेले राम्रो प्रतिफल आउने बाली स्याउ खेती नै हो,’ उनले भने, ‘त्यसैले धेरै किसान यसैमा आश्रित छन् ।’
तर, चैत १५ गतेदेखि जेठ १५ सम्मको समय सीमा अव्यवहारिक भयो भन्ने लाग्छ त्यसैले यो सीमा परिवर्तन गर्न सकियो भने किसानलाई अझ बढी राहत पाउने उनको भनाइ छ ।
त्यसबाहेक असिना र कालो तुसारोबाट पुग्ने क्षतिको पनि बीमा गर्न सकेको खण्डमा किसानलाई राहत हुने उनको भनाइ छ ।
‘कालो तुसारो चैतदेखि जेठको अवधिमा दिउँसो वर्षा भयो । र, राति आकाश सफा भयो भने तापक्रम माइनसमा जान्छ तर स्याउ पलाउँदाको मुन्टा मरिसक्छ,’ उनले भने, ‘गुच्छा लागेको स्याउ पनि नष्ट हुन्छ ।’
उनले स्याउका लागि सबैभन्दा बढी क्षति कालो तुसारोका कारण भइरहेको बताए ।
उनले जुम्ला अर्ग्यानिक जिल्ला भएको र जिल्लामा अर्यानिक स्याउले उचित मूल्य नपाएको समेत बताए । उनले रासायनिक मल प्रयोग भएको स्याउको विदेशबाट यहाँसम्म आइपुग्दा १५० रुपैयाँ पुग्ने अवस्थामा अर्ग्यानिक स्याउले उचित बजार मूल्य नपाएको बताए ।
उनले स्याउ खेतिसँगै मौरी पालन पनि अत्यावश्यकरहेको बताए । उनले स्याउ खेतीसँगै मौरी पालन पनि आवश्यक भएकाले त्यसको पनि बीमालेखको व्यवस्था गर्नुपर्ने बताए ।
‘जुम्लाको मौरीबाट उत्पादन हुने मह विश्वकै दुलर्भ मानिन्छ,’ उनले भने, ‘यसको वैज्ञानिक नाम एपिस सेराना सेराना हो । नेपालका अन्य क्षेत्रमा एपिस सेराना जातिको मौरी पाइए पनि एपिस सेराना सेराना भने जुम्लामा मात्रै उत्पादन हुन्छ ।’
उक्त मौरीले उत्पादन गरेको मह विश्वकै उत्कृष्ट भनिएको छ । यस्तो अवस्थामा यसतर्फ पनि बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने उनको माग छ ।
‘अहिले मौरीमा अज्ञात रोग देखा परेको छ, मौरीहरु घारबाट उड्ने तर फर्कन नसक्ने, नजिकै भूँइमा खस्ने रोग देखा परेको छ । जसका कारण किसान मारमा परेका छन्,’ उनले भने, ‘बीमा कम्पनीहरुले मौरीको पनि बीमा गर्न सके किसानले राहत पाउने थिए र मौरी पालन गर्नेको संख्या बढ्ने थियो ।’
कोल्डस्टोर र मलको अभाव
जुम्लामा स्याउका लागि कोल्डस्टोरको व्यवस्था भएको धेरै समय भएको छैन । त्यसअघि असोजमा टिपेका स्याउ चैतसम्म राख्नका लागि माटोमुनी व्यवस्थित तवरले राखिन्थ्यो । र, चैत र वैशाखसम्म च्याउको ताजगी रहन्थ्यो । तर त्यो क्रम बिस्तारै कम हुँदै गएको छ ।
केही वर्ष अघिमात्रै एउटा कोल्ड स्टोर शुरु भए पनि त्यो अपर्याप्त भएको भन्दै अझै अर्को कोल्डस्टोरको आवश्यकता रहेको किसानहरुको माग छ । यसका लागि शिखर इन्स्योरेन्स तयार रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।
त्यसैगरी मलको पनि अभाव रहेको किसानहरुको भनाइ छ ।
‘जुम्लामा रासायनिक मल ल्याउनै पर्दैन, अर्ग्यानिक जिल्ला घोषणा भइसकेको छ,’ उनले भने, ‘तर गड्यौंला मल जस्ता प्रांगारिक मल उत्पादन गर्न सकियो भने त्यसले सहज हुने भएकाले अलिहेको चूनौती छ ।’
शिखर इन्स्योरेन्सका सीइओ पाण्डेले मल उत्पादनका लागि कम्पनी तयार रहेको भन्दै यसमा किसानको पनि लगानी आवश्यक रहेको बताए ।
‘कम्पनी किसानलाई हर सम्भवले सहयोग गर्न तयार छ, तर यसमा किसानको स्वामित्व पनि हुनु जरुरी छ,’ उनले भने ।
कति छ उत्पादन क्षमता र मूल्य ?
जुम्ला जिल्लामा अहिले १६ लाख स्याउका बोट छन् । यदि शुरुवातदेखि स्याउ पाक्ने समयसम्म कुनै मौसमी समस्या भएन भने एउटा बोटबाट औसतमा ४० केजी स्याउ फल्छ । यो भनेको प्रत्यके वर्ष ६ करोड ४० लाख केजी स्याउ जुम्लामा मात्रै उत्पादन हुनसक्छ । तर, मौसमी प्रतिकुलताका कारण सोही मात्रामा स्याउ उत्पादन हुँदैन ।
शुरुवाती वर्षमा त बाटोको पहुँच नहुँदा जुम्लाबासीले उत्पादन गरेका स्याउ जुम्लाबाट टाढा पुग्न सक्दैनथे । त्यसैले त्यही कुहिने अथवा गाईभैसीलाई खुवाउने अवस्था थियो । तर, अहिले बाटोको पहुँचसँगै किसानलाई त्यो समस्या छैन । अहिले सिजन सकिँदासम्म आफूलाई राख्न पनि नसकिने अवस्था छ ।
कृषकले उत्पादन गरेको स्याउ बिक्रेताहरुले प्रतिकेजी ३५ रुपैयाँदेखि ५० रुपैयाँसम्म खरिद गर्छन् । जसन राजधानी आइपुग्दा २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म पर्छ ।