वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको केरा खेतीले करोडपति बने विष्णुहरि, कारमा सरर



चितवन  । चितवन रत्ननगरका विष्णुहरि पन्त पेशाले केरा किसान हुन । एक दशकभन्दा अघि रोजगारी खोज्दै कैयन नेपाली युवाहरु जस्तै उनी विदेश हानिए ।

काम खोज्दै जाँदा मरुभूमिले ओगटेको इजरायल पुगे । त्यहाँ उनले ५ वर्षसम्म कृषि मै काम गरे ।

मरुभूमि भइकन पनि कृषिमा इजरायलले गरेको प्रगती देखेर उनी अचम्मित मात्रै भएनन, नेपालमा आफ्नो खेत अर्र्कैलाई भाडा दिएर गएकोमा पछुतो पनि माने ।

इजरायलमा जम्मा ३ प्रतिशत जनसंख्याले कृषिमा काम गरिरहेको छ । त्यसमा सहयोग गर्न उनी जस्तै विदेशी नागरिकहरु हजारौंको संख्यामा दिनरात नभनी कृषिमा काम गरिरहेका छन् ।

त्यति सानो जनसंख्याले उत्पादन गरेको कृषि उत्पादन छिमेकी मुलुकका भान्सासम्म पुगेको छ ।

हाम्रो मु्लुकको ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित भए पनि हरेक वर्ष ठूलो संख्यामा विदेशबाट कृषिजन्य उत्पादन आयात गरिरहनु परेको सम्झेर उनलाई कैयन पटक चटक्क छाडेर कति बेला स्वदेश फर्कौ जस्तै हुन्थ्यो ।

‘म त्यहाँ ५ वर्ष बसेर बिदामा नेपाल आएँ, फर्केर जान मनले मानेन’ उनले सुनाए ।

इजरायलबाट आफ्नै गाउँ फर्केपछि युरोपमा बस्ने आफन्तहरुले त्यतै आउन निकै कर गरे । आफन्तहरुले नेपालमा भन्दा यूरोप मै करिअर राम्रो हुन्छ भन्दै विभिन्न प्रलोभन पनि देखाए । त अहँ उनको मनले मानेन् ।

इजरायलमा काम गर्दा उनले सिकेको सीप आफ्नै बारीमा खन्याउने हो भने केही त गर्न सकिएला भन्ने आँट मनमा छँदै थियो । तर पनि मनमा सोचे जस्तै सफलता हात पर्दैन कि भन्ने तनावले कहिलेकाँही मन विचलित पनि बनाउँथ्यो ।

अन्ततः उनी केरा खेती नै गर्ने निर्णय गरे । आफ्नो खेत अर्कैसँग थियो । त्यसलाई फिर्ता गरे । आवश्यक थप केही जमिन भाडामा लिए । इजरायल छँदा दुःख गरी कमाएको धन आँखा चिम्लेर केरा खेतीमा लगाए ।

तराईको समथर जमिनमा उम्रिएका केराका बोटलाई हरेक वर्ष आउने हावाहुरीले सोत्तर पाथ्र्यो । त्यसबाट हरेक वर्ष किसानले ठूलो क्षति बेहोरेको आफ्नै आँखाले नदेखेका होइनन तर पनि उनलाई एकपटक जसरी पनि भए आफ्नै देशमा केही गर्न पर्छ भन्ने आत्मविश्वासले जित्यो ।

आफ्नो र भाडामा लिएको जग्गामा हजारौं केराका बोट उमारे । केरा हुर्कदैँ थियो, अलिक वयस्क हुने बेलामा हावाहुरी र असिना निर्मम ढंगले केराका कलिला बोटमा बज्रियो । यसबाट उनी लगानी उठाउन नसक्ने गरी थिचिए ।

तर हावाहुरीको त्यो चुनौतीसँग उनले कत्ति पनि हार मानेन र फेरि पनि दोस्रो वर्ष अझ बढी केराका हरिया बोट जमिनमा उमारे ।
पहिलो वर्षको हावाहुरी दोस्रो वर्ष पनि आयो । सबैजसो केराका बोट एक–एक गरी ढाल्यो । भर्खरै पसाउँदै गरेका केरा माटोमा मिसिए ।
केरा खेती सुरु गरेको २ वर्षसम्म २५ लाखभन्दा बढी घाटा बेहोरे पछि उनी आफ्नै निर्णयलाई सच्चाउने मन बनाए ।

यो उनको मात्रै भोगाइ थिएन । मौसमको नियतीमाथि कसैको केही नचल्ने उनले देखका थिए । उनी जस्तै सयौं किसानहरुको हात पनि उनको भन्दा कम थिएन ।

यति हुँदा पनि उनले हार भने मानेनन् । लगातार जमिनमा अघिल्लो वर्षभन्दा अझ बढी केराका बोट रोप्दै गए । तेस्रो वर्षदेखि केही आम्दानी हुन थाले पनि उनको लगानी अझै जमिन मै थियो ।

त्यसैबीच सरकारले कृषि बीमा योजना ल्यायो । त्यही योजना शिखर इन्स्योरेन्सले टपक्क टिपेर चितवनका किसानका घर–घरमा पुर्यायो ।
शिखरले साथ दिन्छु भन्दै ढाडस दिएपछि केरा किसानले बल्ल राहतको श्वास फर्न पाए । शिखर पुगेको वर्ष उनले अझ बढी क्षेत्रफलमा केरा खेती गरे ।

हरेक वर्ष आउने हावाहुरी त्यो वर्ष पनि आयो । हावाहुरीले केराका बोट त्यो वर्ष पनि ढलायो । तर यस वर्ष किसानको आत्मविश्वास ढलेन । बरु अझ बढी बढेर आयो ।

शिखरले केराका हरेक बोटमा सुरक्षाको कवज लगाइ दिँदा किसानले लगानीको १ रुपैयाँ पनि क्षति भोग्नु नपर्ने भयो ।
पन्तले सबै जसो केराबा बोटलाई शिखरको बीमाले सुरक्षा दिए । त्यसयता हरेक वर्ष उनले हरेक बोटको बीमा गरिरहेका छन् । बीमा गरेयता हावाहुरीले जति बोट ढलाए पनि उनी ढुक्कले सुत्न सक्ने भएका छन् ।

भन्छन, ‘बीमा गरेयता घाटा भएको छैन, बैंकमा ब्यालेन्स बढ्दै गएको छ ।’ अनुहारमा मन्द मुस्कान फैलाउँदै नजिकैको सुजुकी ब्रेजा कारतर्फ देखाउँदै भने, ‘हेर्नुस त केरा खेतीले गर्दा यही कार किन्न सकेँ ।’

उनले बीमाको क्षतिपूर्तीवापत गत वर्ष मात्रै १८ लाख रुपैयाँ हात पारे । यसबाट उनलाई धेरै ठूलो राहत भयो ।
यस वर्ष ४० विघामा रोपेको केराले बिक्री गर्दा १ करोडभन्दा बढीको व्यापार हुन्छ । त्यसको ४० प्रतिशत फाइदा गर्छन् ।

चितवनमा केरा उत्पादन संघमा अध्यक्ष समेत भइसकेका उनले शिखरको बीमा कै कारण गत वर्षभन्दा यसवर्ष १२ बिघा बढी क्षेत्रफलमा केराको खेती गरेका छन् ।

भन्छन, ‘बीमाले यस्ते साथ दिने हो भने ५०० रोपनी गर्न पनि समस्या छैन ।’

उनी जस्तै बीमाले फाइदा गर्नेमा किसानका कैयन किसानहरु पनि छन् । चितवनबाहेक कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा र बाराका किसानसँग पनि उत्तिकै सहकार्य गरिरहेका छन् ।

उनका अनुसार बीमा योजनाले किसानलाई मात्रै होइन, मुलुकको व्यापार घाटा बढ्न नदिन पनि सहयोगी भइरहेको छ ।
हरेक वर्ष विदेशबाट ६० प्रतिशत केरा आयात हुँन्छ भने ४० प्रतिशत स्वदेश मै उत्पादन हुन्छ ।

सरकारले किसानलाई प्रोत्साहन गर्नका लागि यस्तै कार्यक्रम ल्याइदियो भने यो प्रतिशतलाई पनि अझ बढाउन सकिने उनको सुझाव छ ।


कमलकुमार बस्नेत