५ अर्ब ८४ करोडको नोक्सानीमा नेपाल पुनर्बिमा

91
Shares

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी ५ अर्ब ८४ करोड रुपैयाँको नोक्सानीमा धकेलिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत)सम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नोक्सानी ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी गत आवको तेस्रो त्रैमाससम्म आईपुग्दा भने ५ अर्ब ८४ करोडको खुद नोक्सानी व्यहोर्न पुगेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा मात्रै भने कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्ला त्रैमासहरूमा परेको भारी दाबी भुक्तानीको असरका कारण ९ महिनाको समग्र नतिजा भने घाटामा नै रहेको वित्तीय विवरणमा देखिन्छ ।

अघिल्लो आवको नौ महिनासम्म ७ अर्ब ७८ करोड ८५ लाख रुपैयाँको कुल खर्च गरेको कम्पनीले गत आवको सोही अवधिमा भने १२ अर्ब ५२ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ ।

कुल खर्च बढ्दा असर कम्पनीको आम्दानीमा पनि परेको छ । वित्तीय विवरणअनुसार समिक्षा अवधिसम्ममा कम्पनीको कुल आम्दानी ६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ थियो ।

दाबीतर्फको कुल खर्च हेर्ने हो भने पनि अघिल्लो आवको नौ महिनाको तुलनामा गत आवको नौ महिनामा धेरै बढेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको नौ महिनामा ५ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीको खुद दाबी भुक्तानी खर्च गत आवको सोही अवधिमा आईपुग्दा भने १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको नौ महिनासम्ममा ७ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको खुद बिमाशुल्क गत आवको नौ महिनामा भने घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ ।

वित्तीय विवरणअनुसार समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसाले ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँ छ ।