नियामकको कारबाही र प्रतिकूल बजेटले दबाबमा हिमालयन रि, व्यावसायिक लयमा फर्किन चुनौती

105
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको एकमात्रै पुनर्बिमा कम्पनी हिमालयन रि-इन्स्योरेन्स केही चुनौतिपूर्ण अवस्थामा छ । खासगरी, नेपाल बिमा प्राधिकरणले नयाँ व्यवासयमा लगाएको रोक, बिमा कसुर लगायतका मुद्दामा भइरहेको अनुसन्धान र सो क्रममा फेला परेका विभिन्न तथ्यहरुले कम्पनीको भविष्य कस्तो हुन्छ? भन्ने प्रश्न उब्जिएको छ ।

बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को प्रावधानअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न पूर्ण रोक लगाएको छ । यो निर्णयले कम्पनीलाई पुराना दाबी भुक्तानी र रेट्रोसेसनमा मात्र सीमित गरिदिँदा नयाँ व्यवसाय थप र बजार विस्तार गर्ने बाटो बन्द गरिदिएको छ । नयाँ व्यवसायमा लगाएको यो रोकले कम्पनीको व्यवसायीक प्रणालीलाई नै खलबल्याइदिएको छ ।

‘उसले नेपाल तथा विदेशबाट व्यवसाय ल्याउन जुन किसिमको चेन (चक्र) बनाएको थियो अब त्यो नै खलबलिएको छ । नयाँ व्यवसायमा लगाइएको रोकपछि यस कम्पनीमा पुनर्बिमा गराउन खोज्नेले पनि अर्कै विकल्प रोजिसके,’ एक बिमा कम्पनीका सीईओले भने, ‘अब उसलाई पुरानै लयमा फर्किन तथा बिग्रिएका इमेज कमाउन निकै समय लाग्ने देखिन्छ ।’

उनले नेपालको हकमा मात्रै नभएर विदेशी बजारका लागि हिमालयन रिप्रतिको दृष्टिकोण नकारात्मक बनेकाले व्यवसाय विस्तार कठिन हुने बताए । बरु, हाल हिमालयन रिसँग जोडिएकाहरु नै यसको अनिश्चितता देखेर अर्कोतर्फ मोडिने सम्भावना बढेर गएको उनको भनाइ छ । साथै, करिब दुई महिनासम्म पनि नयाँ व्यवसाय गर्न नदिँदा त्यसको असर कम्पनीको आम्दानीमा पनि पर्ने उनी बताउँछन् ।

एकातर्फ, हिमालय रि बिमा प्राधिकरणको कारबाहीका कारण समस्यामा पर्दै गर्दा अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेटले उसलाई थप संकुचनमा धकेलिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाली बिमा कम्पनीहरूले जारी गर्ने बिमांकको कम्तीमा २० प्रतिशत हिस्सा अनिवार्य रूपमा सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीलाई दिनुपर्ने घोषणा गरेको छ ।

यसका साथै हाल हिमालयन रिले व्यवस्थापन गर्दै आएको वैदेशिक रोजगार म्यादी जीवन बिमा जस्ता आकर्षक सामूहिक बिमा कोष (इन्स्योरेन्स पुल) को नेतृत्व र सञ्चालनको जिम्मा समेत नेपाल रिमार्फत् गर्नुपर्ने संकेत बजेटले गरेको छ ।

यस्ता व्यवस्थाले हिमालयन रिको व्यापारिक हिस्सा खोसिने निश्चित देखिएको छ जुन कम्पनीका लागि चुनौतिको पाटो हो । यसका अलावा, सरकारले कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता निकायका सुरक्षण कार्यक्रममा समेत नेपाल रिलाई नै प्राथमिकता दिने घोषणा गरेको छ । यसरी, सरकारबाट नै नेपाल रिलाई प्राथमिकतामा राखिँदा हिमालयन रिका लागि आगामी दिन थप कठिन हुनसक्ने देखिन्छ ।

‘सरकारले निजी वा सरकारी जुन स्वामित्वको कम्पनी भएपनि दुबैलाई प्रतिस्पर्धाका लागि समान वातावरण बनाइदिनुपर्ने हो । यदि, त्यसो नगर्ने हो भने निजी क्षेत्रका कम्पनीलाई व्यवसाय सञ्चालन अनुमतिपत्र नै नदिँदा पनि हुन्थ्यो,’ बिमा क्षेत्रका एक जानकारले भने, ‘अन्यथा, सरकारले नीतिगत रुपमा एउटालाई खुला छोडेर अर्कोलाई च्याप्ने काम गर्नुहुँदैन ।’

उनले सरकारको यस्तो किसिमको नीतिले निजी कम्पनीहरु सञ्चालनमा जटिलता पैदा हुने बताए । यसरी, हिमालयन रि बिमा प्राधिकरणको कारबाही, आगामी आर्थिक वर्षको बजेटले गरेका घोषणा र बिमा कसुर सम्बन्धीका मुद्दाका कारण समस्यामा पर्ने अर्थात् आर्थिक संकुचनमा धकेलिने चर्चाहरु पनि चलिरहेका छन् । तथापि, कम्पनीका पछिल्ला आर्थिक वर्षहरुको वित्तीय विवरण भने सुधारोन्मुख हुँदै गएका थिए ।

कम्पनीको वित्तीय स्थिति

हिमालयन रि-इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको (साउनदेखि चैतसम्मको) वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँले ऋणात्मक (घाटामा) रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ थियो ।

प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चैतसम्म ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा भने ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बराबरको मात्रै खुद बिमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च चालु आवको सोही अवधिमा भने ४ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अर्थात्, गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोही अवधिको कम्पनीको कुल खर्च करिब १ अर्ब १९ करोड रुपैयाँले बढी देखिन्छ ।

कम्पनीको पुनर्बिमा व्यवसायका लागि गरिने कमिसन खर्चमा भने केही कमी आएको छ । गत वर्षको नौ महिनामा ८८ करोड ३० लाख रुपैयाँ कमिसन वापत खर्च भएकोमा चालु आवको सोही अवधिमा भने घटेर ८५ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्षको चैतसम्म कम्पनीको दाबी भुक्तानी रकम २ अर्ब २८ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा भने त्यसबाट बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । खर्चमा उच्च वृद्धि हुँदा कम्पनीको कुल आम्दानी संकुचन आएको छ । गत आवको नौ महिनामा ५ अर्ब २० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी चालु आवको सोही अवधिमा भने घटेर ४ अर्ब ७२ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको कुल बिमा दायित्व भने गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ८ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा भने त्यसबाट घटेर ०.५४ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३६३.६२ गुणा ऋणात्मक रहेको देखिन्छ ।

नेपाल बिमा प्राधिकरणको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको विवरणअनुसार हिमालय रिको १८ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ लगानीमा छ ।

जसमा क वर्गको बैंकको मुद्दती निक्षेपमा ११ अर्ब ८९ करोड १२ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ४ अर्ब २३ करोड ३ लाख रुपैयाँ तथा राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा १० करोड रुपैयाँ लगानी छ ।

यस्तै, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ८८ करोड ५३ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड, अन्य संस्थापक सेयरमा २२ करोड ५० लाख र अन्य लगानीमा ४७ लाख रुपैयाँ लगानी रहेको प्राधिकरणको तथ्यांक छ ।

दोस्रो त्रैमाससम्म भने यस्तो थियो वित्तीय स्थिति

हिमालयन रि इन्स्योरेन्स कम्पनी तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नोक्सानीमा गएपनि दोस्रो त्रैमाससम्म भने नाफामा थियो। कम्पनीको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको खुद नाफा आर्जन ६४ करोड ७४ लाख रुपैयाँ थियो ।

गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब २९ करोड रुपैयाँ रहेको कम्पनीको खुद बिमाशुल्क आर्जन उल्लेख्य रूपमा ४१.३१ प्रतिशतले बढेर चालु आवको दोस्रो त्रैमासमा ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीको कुल बिमा दायित्व गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ७ अर्ब ५० करोड २४ लाख रुपैयाँ कायम भएको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ३ अर्ब ७१ करोड कायम थियो भने सञ्चित मुनाफातर्फ कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब १९ करोड रुपैयाँ कायम थियो ।

यस्तै, चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ सञ्चित थियो । यसरी, चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको तुलनामा तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले कम्पनीको वित्तीय स्थिति संकुचनमा धकेलिएको देखाएको छ ।

२०२६ फेब्रुअरीमा एएम बेस्टले गरेको रेटिङले देखाएको स्थिति

अन्तर्राष्ट्रिय बिमा क्षेत्रको रेटिङ एजेन्सी एएम बेस्टले सन् २०२६ फेब्रुअरीमा गरेको रेटिङअनुसार हिमालयन रिइन्स्योरेन्सको वित्तीय सुदृढता मूल्यांकन ‘बी प्लस’ र दीर्घकालीन जारीकर्ता कर्जा मूल्यांकन ‘ट्रिपल बी माइनस’लाई कायम राखिएको छ । उक्त मूल्यांकनले हिमालयन रिको वित्तीय अवस्था बलियो रहेको देखाएको छ ।

कम्पनीको जोखिमअनुसारको पुँजी आधार मजबुत रहेकाले यसको वित्तीय अवस्था बलियो बनेको एएम बेस्टको रेटिङमा उल्लेख छ । प्रारम्भिक वार्षिक वित्तीय विवरणअनुसार २०२५ मा कम्पनीको सेयरधनी कोष १० प्रतिशतले बढेर १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ३० करोड रुपैयाँ रहेको उल्लेख छ ।

कम्पनीको लगानी संरचना कमदेखि मध्यम जोखिमयुक्त रहेको जनाइएको छ । नेपालमा सम्भावित ठूलो भूकम्पीय जोखिम तथा त्यस्तो जोखिमको अनुमानसँग सम्बन्धित अनिश्चिततालाई एएम बेस्टले चुनौतीका रूपमा लिएको छ । यद्यपि, अन्य पुनर्बिमकसँग जोखिम बाँडफाँट गर्ने व्यवस्थामार्फत यस्तो जोखिम आंशिक रूपमा न्यूनीकरण गरिएको रेटिङ एजेन्सीले जनाएको छ ।

एएम बेस्टले कम्पनीको व्यवसायिक दायरालाई सीमित रूपमा मूल्यांकन गरेको छ । जुलाई २०२१ मा स्थापना भएको हिमालयन रिको व्यवसाय विस्तारमा २०२२ मा लागू गरिएको अनिवार्य स्वदेशी पुनर्बिमा व्यवस्था लाभदायक बनेको उल्लेख गरिएको छ ।

२०२५ मा प्रत्यक्ष बिमा व्यवसायको ६ प्रतिशत तथा पुनर्बिमा सम्झौतामार्फत हुने व्यवसायको कम्तीमा १५ प्रतिशत हिस्सा स्वदेशी पुनर्बिमकलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी, स्वदेशभित्र हुने विशेष पुनर्बिमा व्यवसायमा पनि स्वदेशी पुनर्बिमकलाई पहिलो प्राथमिकता प्रदान गरिएको छ ।

यद्यपि, कम्पनीको व्यवसायिक जोखिम संरचना मुख्यतः सम्पत्ति तथा इन्जिनियरिङ क्षेत्रमै केन्द्रित रहने अपेक्षा गरिएको छ । साथै, कम्पनीको व्यवसायिक उपस्थिति अहिले मुख्यतः नेपालमा सीमित भए पनि क्रमशः अन्य मुलुकतर्फ विस्तार गरी भौगोलिक विविधीकरण गर्ने योजना रहेको उल्लेख छ ।

बिमा कसुरमा हिमालय रिका विषयमा हालसम्म देखिएका तथ्य

हिमालयन रिइन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणलाई उपलब्ध गराएको २०८२ माघ २५ सम्मको विवरणअनुसार कम्पनीले विभिन्न मितिमा सेयर खरिद–बिक्री गरेकोमध्ये २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा भृकुटी स्टक ब्रोकिङबाट लिनुपर्ने बाँकी रहेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षमा भृकुटी स्टक ब्रोकिङबाट लिनुपर्ने रकम उल्लेख्य रूपमा बढेको प्राधिकरणले फेला पारेको छ ।

छानबिनका क्रममा उक्त संस्थाबाट कम्पनीले ठूलो रकम भुक्तानी प्राप्त नगरेको तथा सो रकम असुलउपरका लागि गरिएको पहलका सम्बन्धमा सोधपुछ गर्दा पटक–पटक मौखिक अनुरोध गरिएको जानकारी प्राप्त भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले सेयर खरिद गर्दा नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पब्लिक सेयर खरिद गरेको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ मा गार्डियन माइक्रो लाइफको १० लाख २० हजार ५३० कित्ता साधारण सेयर खरिद गरिएको देखिन्छ । उक्त सेयर गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको चुक्ता पूँजीको १३.६ प्रतिशत तथा कुल साधारण सेयरको ४५.३५ प्रतिशत बराबर रहेको उल्लेख छ ।

साथै, सेयर खरिद गरिएका ती बिमकहरू र हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा रहेका केही आधारभूत सेयरधनी एउटै व्यक्ति तथा संस्था रहेको देखिएको छ । २०८२ चैत २ सम्म हिमालयन रिइन्स्योरेन्सको कुल लगानी रकम १८ अर्ब ५२ करोड ३ लाख ९३ हजार ७४० रुपैयाँ २३ पैसा रहेको देखिएको छ । उक्त लगानीमध्ये ४ अर्ब ३७ करोड १७ लाख ८४ हजार ३४ रुपैयाँ ३ पैसा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको सेयरमा लगानी गरिएको पाइएको छ, जुन कम्पनीको कुल लगानीको २३.६१ प्रतिशत बराबर हो ।

प्राधिकरणबाट जारी बिमकको लगानी सम्बन्धी निर्देशन, २०८२ को दफा ४ उपदफा (१०) को खण्ड (ग) अनुसार पुनर्बिमा व्यवसाय गर्ने बीमकले गर्नुपर्ने लगानीको सीमा तथा शर्त अनुसूची–३ मा व्यवस्था गरिएको छ । उक्त अनुसूचीको क्रमसंख्या ७ मा नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको संस्थापक वा साधारण सेयरमा बिमकको कुल लगानीको अधिकतम १५ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ ।

तर, हिमालयन रिइन्स्योरेन्सले लगानी गर्दा प्राधिकरणबाट जारी लगानी निर्देशनले तोकेको सीमा उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ । लगानी निर्देशिकाले तोकेको सीमा आर्थिक वर्ष २०८१/८२ को मसान्तमै नाघिसकेको अवस्थामा कम्पनीको यस्तो लगानी अनुपात २५.५९ प्रतिशत पुगेको देखिएको प्राधिकरणले जनाएको छ । सो अवस्थामा समेत थप सेयर खरिद गर्न कम्पनीले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई पटक-पटक रकम भुक्तानी गरेको देखिएको उल्लेख छ ।

जुन विषयमा हिमालयन रि-इन्स्योरेन्सलाई २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ बिगो रकम र सो रकममा नियमअनुसार प्राप्त हुने ब्याज समेत थप गरी क्षतिपूर्ति भराई माग दाबी लिन (अवधि २०८१ साउन १ देखि बिमा प्राधिकणको प्रतिवेदन अवधिसम्म) भनिएको छ ।

समग्रमा हेर्दा हिमालयन रि–इन्स्योरेन्सको वित्तीय अवस्था तत्काल संकटग्रस्त देखिँदैन । कम्पनीसँग १८ अर्ब रुपैयाँभन्दा बढी लगानी, १६ अर्ब रुपैयाँभन्दा बढी सेयरधनी कोष, निरन्तर नाफा आर्जन गर्ने क्षमता तथा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट प्राप्त सकारात्मक मूल्यांकन जस्ता आधारले कम्पनीको अवस्था राम्रै देखाउँछ ।

तर, कम्पनीको नयाँ पुनर्बिमा व्यवसायमा लगाइएको रोक, बिमा कसुर सम्बन्धी अनुसन्धान, लगानी सीमा उल्लंघनका आरोप, सेयर कारोबारसँग सम्बन्धित विवाद तथा ठूलो रकम असुल हुन बाँकी रहेको अवस्थाले कम्पनीमाथि कही चुनौति देखाउँ ।

अझ, आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीलाई थप प्राथमिकता दिने व्यवस्थाले हिमालयन रिको व्यवसाय विस्तारको अवसर सीमित हुन जानुले पनि कम्पनीलाई असर गर्न सक्दछ ।