
सिरहा । ट्राफिक नियम उल्लंघन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका सांसद बब्लु गुप्ता कारबाहीमा परेका छन् ।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पूर्वमन्त्री समेत रहेका गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएका छन् ।
गुडिरहेको बुलेट बाइकको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएको थियो । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियो भाइरल भएसँगै उनलाई कारबाही गर्न सामाजिक सञ्जालमै आवाज उठिरहेको थियो । त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका छन् । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन् ।
गुप्ताले थपेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’
यसअघि ट्राफिक नियम उल्लंघन गर्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।





प्रतिक्रिया