व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो

एक आर्थिक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात ३ खर्ब १५ अर्ब मात्रै

77
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा झनै फराकिलो भएको छ ।

भन्सार विभागको वार्षिक वैदेशिक व्यापार तथ्याँकअनुसार समीक्षा अवधिमा नेपालले कुल २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये २० खर्ब ९६ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको छ भने ३ खर्ब १५ अर्ब २९ करोड बराबरको वस्तु निर्यात भएको छ ।

आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा आयात १६.२० प्रतिशत र निर्यात १३.८१ प्रतिशत ले बढेको छ । तर आयात वृद्धि निर्यातभन्दा अत्यधिक हुँदा व्यापार घाटा पनि १६.६३ प्रतिशतले विस्तार भएको छ । यसले नेपाली अर्थतन्त्र अझै पनि आयातमुखी रहेको र विदेशी मुद्रामाथिको दबाब कायम रहेको संकेत गर्छ ।

वैदेशिक व्यापारको संरचना हेर्दा नेपालले अझै पनि इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, मल, धातु तथा प्रविधि उपकरणमा ठूलो रकम खर्च गरिरहेको छ भने निर्यात केही सीमित वस्तुमै केन्द्रित छ ।

विशेषगरी प्रशोधित खानेतेलको पुनःनिर्यात, अलैंची र गलैंचाजस्ता परम्परागत वस्तुले निर्यात धानेका छन् । उच्च मूल्य अभिवृद्धि भएका औद्योगिक उत्पादनको निर्यात अझै विस्तार हुन नसक्दा आयात–निर्यातबीचको असन्तुलन कायम छ ।

के भयो अत्यधिक आयात ?

नेपालमा समग्र रुपमा सबैभन्दा बढी आयात भएको कृषिजन्य वस्तु हो । गत् आर्थिक वर्षमा ४ खर्ब ४१ अर्ब १९ करोड ५६ लाख ९३ हजार रुपैयाँबराबरको विभिन्न प्रकारको कृषिजन्य वस्तुहरु नेपालमा आयात भएको थियो । व्यापार घाटामा सबैभन्दा महत्वपूर्ण भूमिका कृषिजन्य वस्तुको आयातले खेल्दै आएको छ ।

खाद्यान्नतर्फ नेपाल अझै पनि आयातमा अत्यधिक निर्भर देखिएको छ । चामल, मकै, गहुँ, दाल, फलफूल, तरकारी तथा अन्य कृषि उत्पादनको आयात निरन्तर उच्च रहेको तथ्याङ्कले देखाएको छ । औद्योगिक कच्चा पदार्थसँगै खाद्यान्न आयातको आकार पनि उल्लेख्य रूपमा बढ्दा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य चुनौतीपूर्ण बनेको देखिन्छ ।

यसपछि सबैभन्दा धेरै रकम खर्च गरेर आयात गरेको वस्तु डिजेल हो । गत् आर्थिक वर्षमा १७ अर्ब २४ करोड २८ लाख रुपैयाँ बराबरको करिब ९ लाख ६४ हजार किलोलिटर डिजेल आयात भएको छ । दोस्रो स्थानमा १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख रुपैयाँबराबरको ८० करोड १२ लाख ९६ हजार लिटर कच्चा सोयाबिन तेल आयात भएको छ ।

यस्तै पेट्रोलतर्फ ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँबराबरको ७ लाख ५१ हजार ६ सय ४२ किलोलिटर आयात भएको छ । एलपी ग्यासको आयात ६० अर्ब २८ करोड ६ लाख रुपैयाँबराबरको ५२ करोड ५ लाख २५ हजार किलो आयात भएको छ।

मूल्यका आधारमा शीर्ष १५ आयातित वस्तुमा फलामजन्य सामग्री, स्मार्टफोन, औषधि, हट–रोल्ड फलाम तथा स्टिल, सुन, हवाई इन्धन (एटीएफ), डिएपी मल, कोइला, युरिया मल तथा कच्चा सूर्यमुखी तेल परेका छन् । यीमध्ये स्मार्टफोन आयातको मूल्य मात्रै ४ अर्ब ८६ करोड ९३ लाख पुगेको छ भने सुनको आयात २ अर्ब ६७ करोड ७५ लाख रुपैयाँबराबरको भएको छ ।


यस्तै २९ अर्ब ६९ करोड रुपैयाँबराबरको ३१ हजार ५ सय ३२ थान विद्युतीय तीन पाँग्रेदेखि चार पाग्रे सवारी साधन आयात भएको छ । यसमध्ये बिद्युतीय चार पाग्रे सवारी साधनमात्रै २७ अर्ब ३८ करोड ६४ लाख रुपैयाँबराबरको ११ हजार ६ सय ६८ थान आयात भएको छ ।

के भयो अत्यधिक निर्यात ?
निर्याततर्फ भने प्रशोधित सोयाबिन तेलले एक्लैले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । आर्थिक वर्षभरमा १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख रुपैयाँबराबरको ५९ करोड ३८ लाख २३ हजार किलो सोयाबिन तेल भारतमा निर्यात भएको थियो । दोस्रो स्थानमा रहेको ठूलो अलैंची १२ अर्ब ६३ करोड ६९ लाख रुपैयाँबराबरको ६३ लाख ८५ हजार ८ सय ७० किलो भारतमा निर्यात भएको छ । यसपछि तेश्रोमा ८ अर्ब ९४ करोड ३ हजार रुपैयाँबराबरको ६ करोड ९३ लाख ४४ हजार ९ सय लिटर सनफ्लावर तेल भारतमै निर्यात भएको छ ।

चौथोमा जुट टेक्सटाइल ७ अर्ब १३ करोड ९७ लाख रुपैयाँबराबरको १० करोड ३१ लाख ९१ हजार स्क्वायर मिटर भारतमा निर्यात भएको छ । नेपाली गलैंचा भने ११ अर्ब ५२ करोड ४३ लाख रुपैयाँबराबरको निर्यात भएको छ । यसबाहेक प्रशोधित पाम ओलिन, पोलिस्टर धागो, फेल्ट, कुकुर तथा बिरालोको खाना, जुस, पास्ता, तेलपिना तथा सल–मफलर पनि प्रमुख निर्यात वस्तुमा परेका छन् ।