वरुण बेभरेजमा छापा: सेभेनअप उत्पादन र बिक्रीमा रोक

546
Shares

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित वरुण बेभरेज नेपालद्वारा उत्पादित चिसो पेय पदार्थ सेभेनअपमा अखाद्य बाह्य पदार्थ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको उत्पादन र बिक्री वितरणमा तत्कालका लागि रोक लगाएको छ।

विभागमा प्राप्त उपभोक्ताको गुनासोको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीले गत बिहिबार छापा मारेको थियो । त्यसक्रममा कैफियत फेला परेको थियो ।

अनुगमनका क्रममा उद्योगबाट उत्पादित ब्याच नम्बर बी ००६ र उत्पादन मिति १६-०४-२०२६ उल्लेख भएको २५० मिलिलिटरको सेभेनअपको बोतलभित्र बाह्य पदार्थ पाइएको पुष्टि भएको थियो।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माका अनुसार अनुगमन टोलीले उद्योगको बोतल धुने प्रणाली र गुणस्तर जाँचका संयन्त्रहरूको निरीक्षण गर्दा त्यहाँ ७ तहको वासिङ सिस्टम, लाइट चेकिङ र मेटल डिटेक्टर जस्ता प्रविधिहरू जडान भएको भएपनि बजारमा जाने तयारीमा रहेको उक्त ब्याचमा समस्या देखिएपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले अर्को आदेश नभएसम्मका लागि सेभेन अपको उत्पादन कार्य पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। साथै कैफियत देखिएको ब्याचको पेय पदार्थ बजारमा बिक्री वितरण गर्न समेत रोक लगाइएको छ।

विभागले उक्त ब्याचका नमूनाहरू संकलन गरी प्रयोगशालामा थप परीक्षणका लागि पठाएको छ।