
काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) ले आफ्ना विद्यार्थी र शैक्षिक समुदायका सदस्यहरूलाई दिल्लीको जन्तर-मन्तर वा त्यसको वरपर आयोजना हुने कुनै पनि सभामा सहभागी हुनबाट बच्न सल्लाह दिएको छ ।
यसअघि दिल्ली विश्वविद्यालयले पनि आफ्ना विद्यार्थीहरूलाई यस्तै निर्देशन दिइसकेको छ।
जेएनयूले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेको छ, ‘जेएनयूको शैक्षिक समुदायसँग जोडिएका सबैलाई जिम्मेवारीपूर्वक व्यवहार गर्न र आफ्नो व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन सल्लाह दिइन्छ । भारतको माननीय सर्वोच्च अदालतको सार्वजनिक प्रदर्शनसँग सम्बन्धित निर्देशनहरू अनुसार, तपाईंहरूलाई नयाँ दिल्लीको जन्तर-मन्तर वा त्यस वरपर हुने कुनै पनि सभामा सहभागी हुन वा त्यहाँ जानबाट टाढा रहन अनुरोध गरिन्छ।’
‘सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवारीपूर्वक गर्नुहोस्। नियमहरूको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिमको कारबाहीका साथै विश्वविद्यालयको आचारसंहिता अनुसार अनुशासनिक कारबाही पनि हुन सक्छ । तपाईंहरूबाट शैक्षिक जिम्मेवारी र जिम्मेवार नागरिकताको मूल्यहरूको पालना गर्ने अपेक्षा पनि गरिएको छ,’ सूचनामा भनिएको छ ।
यसअघि दिल्ली विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई जन्तर-मन्तरमा हुने प्रदर्शनमा सहभागी हुन नजान भनेको थियो। दिल्ली विश्वविद्यालयको यो निर्देशनपछि लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले विश्वविद्यालयले विद्यार्थीहरूलाई ‘धम्की’ दिन नसक्ने बताएका थिए।





प्रतिक्रिया