
विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् ।
नेपाल सरकारका उपसचिव रहेका तामाङलाई प्रहरीले साउन ३ गते पक्राउ गरे पनि घटनालाई भने ५ दिनसम्म गुपचुप राखेर शुक्रबार मात्रै सार्वजनिक गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङउडानमार्फत विराटनगरबाट काठमाडौं जाने तयारीमा थिए ।
विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो ।
उक्त रकमको स्रोतबारे सोधपुछ गर्दा सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको थियो ।
सामान्यतया स्रोत नखुलेको ठुलो रकमसहित कोही पक्राउ परेमा प्रहरीले तत्काल सार्वजनिक गर्ने परम्परा रहे पनि उपसचिव तहकै कर्मचारी पक्राउ परेको घटनालाई मोरङ प्रहरीले लामो समयसम्म ओझेलमा राख्न खोज्दा प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।
आर्थिक वर्षको अन्त्यमा विभिन्न योजना र भुक्तानीबाट संकलन गरिएको ‘कमिसन’को रकम लिएर उनी शक्ति केन्द्र धाउन काठमाडौं जान लागेको आशंका गरिएको छ ।
प्रहरी स्रोतका अनुसार तामाङले उक्त रकम आफन्तको भएको दाबी गर्दै आएका छन् । यद्यपि, स्रोत पुष्टि गर्न नसकेका कारण उनीमाथि अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।
असार मसान्तको ‘सेटिङ’ को पैसा बोकेर हिँडेका कर्मचारीलाई जोगाउन माथिल्लो तहबाट दबाब आएका कारण प्रहरीले घटना सार्वजनिक गर्न ढिलाइ गरेको हुनसक्ने स्रोतको दाबी छ ।





प्रतिक्रिया