
एजेन्सी । दुई दशकको उमेर अन्तर भए पनि, लियोनेल मेस्सी र लामिन यामल नेपाली समय अनुसार सोभबार विहान १२ बजेर ४५ मिनेटमा आमने-सामने हुँदैछन् । अर्जेन्टिना र स्पेन फिफा विश्वकपको फाइनलमा भिड्दै गर्दा यो खेल ‘टाइटन्स’ (महारथीहरू) बीचको भिडन्त हुने निश्चित छ ।
मैदानमा उनीहरूको यो पहिलो भेट भए पनि, उनीहरूको बाटो धेरै पहिले नै काटिएको थियो । झण्डै २० वर्षअघि, एक असाधारण ‘भविष्यसूचक’ घटनाक्रमले १९ वर्षीय मेस्सीले तीन महिनाको यामललाई नुहाउँदै गरेको तस्विर सिर्जना गरेको थियो । त्यो दृश्य कुनै ‘ब्याप्टिज्म’ (दीक्षा) वा आशीर्वाद दिए जस्तो देखिन्थ्यो ।
‘यो कुनै संयोग थिएन, यो एक चमत्कार थियो,’ उक्त फोटो खिच्ने व्यक्ति जोआन मोनफोर्टले फिफालाई भने ।
सन् २००६ मा, क्याटलान पत्रिका ‘स्पोर्ट’ र बार्सिलोनाको फाउन्डेसनले युनिसेफका लागि कोष जुटाउन वार्षिक परोपकारी अभियानको रूपमा बार्सिलोनाका खेलाडीहरूले बच्चाहरूसँग पोज दिएको क्यालेन्डर प्रकाशित गर्न सहकार्य गरेका थिए ।
‘पहिलो संस्करण निकै व्यस्त र पागलपनपूर्ण थियो । सबै अनुमतिहरू प्राप्त गर्दासम्म हामीसँग सुटिङका लागि मात्र चार दिन बाँकी थियो । हामी सायदै सुत्यौं,’ तत्कालीन मार्केटिङ विभागमा कार्यरत ओरियोल क्यानाल्सले सम्झिए ।
हो, तपाईंले देख्नुभएका ती तस्विरहरू वास्तविक हुन् । १८ वर्षभन्दा अघि, लामिन यामल नामका एक बच्चा र उनकी आमा शीलाले युनिसेफको एउटा फोटोसुटमा लियोनेल मेस्सीलाई भेटेका थिए ।

यामलको परिवारले मातारोको रोकाफोन्डा छिमेकमा युनिसेफको सामुदायिक परियोजनामा भाग लिएका थिए । उनीहरूले २००८ को क्यालेन्डरको लागि बार्सिलोनाको कुनै एक खेलाडीसँग तस्विर खिचाउन एउटा गोलाप्रथा जितेका थिए । त्यो खेलाडी एरिक अबिदाल, जाभी हर्नान्डेज, रोनाल्डिन्हो, हेनरी, इनिएस्टा वा पुयोल जो कोही पनि हुन सक्थे… तर भाग्यले मेस्सीलाई रोजेको थियो ।
यामलको जन्म १३ जुलाई २००७ मा भएको थियो । साढे तीन महिनापछि, ३१ अक्टोबरमा उनकी आमा शीलाले उनलाई क्याम्प नाउको ड्रेसिङ रुममा फोटोसुटका लागि लगेकी थिइन् । ‘मेस्सी कुचो जस्तै कडा भएर बसेका थिए । सायद उनले आफ्नो जीवनमा कहिल्यै बच्चा समातेका थिएनन्,’ क्यानाल्सले भने । मोनफोर्टले थपे, ‘मेस्सी १९ वर्षका थिए र त्यतिबेला उनी अहिलेको भन्दा झन् धेरै लजालु र अन्तर्मुखी थिए।’
तस्विर खिच्न गाह्रो भएपछि, फोटोग्राफरले बच्चालाई हँसाउन आफ्नो छोरीको प्लास्टिकको हाँस प्रयोग गरेका थिए । त्यस्तै, यामललाई नुहाइएको टब र तौलिया पनि घरबाटै सापटी मागिएको थियो ।

त्यो तस्विर वर्षौंसम्म ओझेलमा रह्यो । सन् २०२४ मा यामलका बुबा मुनिरले पारिवारिक एल्बमबाट त्यो फोटो निकालेर सामाजिक सञ्जालमा सेयर गरेपछि यो भाइरल भयो । त्यसको केही दिनपछि नै यामल युईएफए युरो २०२४ को च्याम्पियन बनेका थिए ।
‘यो अविश्वसनीय छ । यो जीवनले दिने उपहारहरू मध्ये एक हो । यो माइकल जोर्डनले लेब्रोन जेम्सलाई नुहाइदिएको जस्तै हो,’ क्यानाल्सले भने।
फोटोग्राफर मोनफोर्ट भन्छन्, ‘त्यो तस्विर मेरो आत्मामा कुँदिएको छ । यो लेखिनु भन्दा पहिले नै लेखिएको इतिहास जस्तो थियो । कसैले सोचेका थिएनन् कि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी बन्नेछन् र लामिन १७ वर्षमा युरो जितेर १९ वर्षको उमेरमा विश्वकपको फाइनलमा मेस्सीसँगै प्रतिस्पर्धा गर्नेछन् । यो असाधारण छ ।’
‘म कहिल्यै धार्मिक थिइनँ, तर अब मलाई लाग्न थालेको छ कि हामीभन्दा माथि केही ठूलो शक्ति छ । यो कसरी भयो भन्ने कुरा व्याख्या गर्न सकिँदैन, यो जादुई छ । र अब उनीहरू विश्वकपको फाइनलमा एकअर्का विरुद्ध उभिँदैछन्, एकजना ३९ वर्षमा र अर्को १९ वर्षमा—यो साँच्चै नै सुनमा सुगन्ध जस्तै हो,’ मोनफोर्टले निष्कर्ष निकाले।





प्रतिक्रिया