आईपीओ ल्याउने तयारीमा जस्मिन पेन्टस्, ९ महिनामा कतिको गर्‍यो व्यापार ?

161
Shares

काठमाडौं । जस्मिन पेन्ट्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमै साढे ८७ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ८७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ८३ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ६७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ६२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७४ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ६५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा २३ प्रतिशतले वृद्धि भएको थियो । चालु आवको ९ महिनाको अवधिमा वार्षिक कारोबारसँग तुलना गर्दा ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा २१ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा १७ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ ।

कम्पनीको चालु आवको ९ महिनाको अवधिमा पुँजी संरचना र ऋण कभरेज मेट्रिक्समा सुधार आएको छ । कम्पनीको गियरिङ ०.२ गुणा र बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ ०.७ गुणा रहेको छ ।

गत आवमा उक्त सूचक क्रमशः ०.२ गुणा र ०.८ गुणा थियो । कम्पनीका अनुसार सकारात्मक सञ्चित नाफा तथा हकप्रद सेयर निष्कासनका कारण सूचकहरूमा सुधार आएको हो । कम्पनीले नगद लाभांश वितरण पनि गरेको थियो । त्यस्तै, कम्पनीको ऋण सेवा कभरेज अनुपात ७.६ गुणा रहेको छ । गत आवमा ५.१ गुणा थियो ।

सन् १९९४ मा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले इन्टेरियर, मेटल एन्ड वुड र वाटरप्रुफ पेन्ट्स उत्पादन गर्दै आएको छ । कम्पनीले १८ हजार ३ सय ४१ मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीसँग हाल ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्ने योजना बनाएको छ । अर्याल परिवारद्वारा सञ्चालित कम्पनीमा मधुसुधन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगात अर्यालको १३ प्रतिशत र संगिता अर्यालको ९ प्रतिशत स्वामित्व छ ।