
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपालबीचको साझेदारी ६० वर्ष पुगेको अवसरमा एडीबीका अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीमा सहयोग पुर्याउन ठुलो लगानीको प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं भ्रमणमा रहेका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै सन् २०२९ सम्ममा एडीबीको सहयोग २.४ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब नेपाली रुपैयाँ) पुग्ने बताएका छन्।
भेटका क्रममा अध्यक्ष कान्दाले भने, ‘नेपाल अहिले एक निर्णायक मोडमा छ र यहाँ गतिशील तथा उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर छ । नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारको रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गर्दै छ । हाम्रो मुख्य लक्ष्य भनेकै मानिसहरूका लागि परिणाममुखी काम गर्नु हो: थप रोजगारी, बलियो व्यवसाय र समुदायको उन्नत जीविकोपार्जन ।’
भ्रमणका क्रममा एडीबीले नेपालसँग कुल १६५ मिलियन डलरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस अन्तर्गत ८ लाख ५० हजारभन्दा बढी मानिसका लागि भरपर्दो र सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन खर्च गरिनेछ । यसैगरी सीमापार व्यापारलाई आधुनिक र डिजिटल बनाउन नीतिगत सुधारमा २. ५० मिलियन डलर खर्च गरिनेछ । यो लगानीले व्यवसायिक लागत घटाउन र नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत गर्नेछ ।
अध्यक्ष कान्दाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मजोससँगै काठमाडौंको विद्युत् आपूर्ति सुदृढ गर्न निर्माण गरिएका दुईवटा सबस्टेशनहरूको भर्चुअल उद्घाटन गरे ।
त्यसैगरी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै उनले २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको एक विद्यालयको भ्रमण गरे । उक्त विद्यालयमा आधुनिक विज्ञान र प्रविधि सुविधाहरू उपलब्ध छन् । एडीबीले विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्समार्फत सिकाउने पाइलट प्रोजेक्ट पनि सुरु गरेको छ, जसले शिक्षक र विद्यार्थीलाई बदलिँदो श्रम बजारका लागि दक्ष बनाउने लक्ष्य राखेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको व्यावसायिक वातावरणमा सुधार, लगानी परिचालन र सरकारको वृद्धि तथा उत्थानशीलताका प्राथमिकताहरूमा छलफल गरे । उनले निजी क्षेत्रका प्रमुख नेताहरूसँग पनि भेट गरी नेपालमा लगानीका अवसर र चुनौतीहरूबारे विमर्श गरे ।
एडीबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ अन्तर्गत नेपालमा वार्षिक ६६० मिलियन डलरसम्म ऋण उपलब्ध गराइने लक्ष्य छ । आगामी वर्षहरूमा एडीबीले रोजगारी सिर्जना र निजी क्षेत्रको विकास, दिगो पूर्वाधार र सार्वजनिक सेवा प्रवाह, महिला, पिछडिएका र जोखिममा रहेका समूहको सशक्तीकरण तथा डिजिटल रूपान्तरण र जलवायु अनुकूलनको क्षेत्रलाई प्राथमिकता दिने बताइएको छ ।
एडीबीले सह-वित्तीयकरण र नवीन वित्तीय उपकरणहरू जस्तै ‘ग्रीन बोण्ड’ र ‘स्थानीय मुद्रा बोण्ड’ मार्फत अतिरिक्त स्रोत जुटाउने पनि बताएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आधा घण्टा छलफल गरेका थिए । भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका थिए । उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याए । नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ ।
सन् १९६६ मा स्थापना भएको एडीबीमा हाल ६९ सदस्य राष्ट्रहरू छन्, जसमध्ये ५० वटा एसिया-प्रशान्त क्षेत्रका हुन् । नेपालको दिगो र समावेशी वृद्धिका लागि एडीबीले विगत ६ दशकदेखि रणनीतिक साझेदारी गर्दै आएको छ ।






प्रतिक्रिया