सिद्धार्थ पेलेट फिडको व्यापार १७%ले घट्यो, कति गर्‍यो कारोबार ?

56
Shares

काठमाडौं । सिद्धार्थ पेलेट फिडको व्यापार १७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ३ अर्ब २० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ६५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबारसँगै गत आवमा नाफा मार्जिन पनि घटेको छ । सन् २०२४ मा ५.८२ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको कम्पनीले गत आवमा ३.८० प्रतिशत गरेको छ । कम्पनीको खुद नाफा पनि घटेको छ ।

सन् २०२४ मा ३.५२ प्रतिशत खुद नाफा गरेको कम्पनीले गत आवमा १.२१ प्रतिशत मात्रै नाफा गरेको छ । कम्पनीको कुल नगद सञ्चय ५ करोड १० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा १३ करोड रुपैयाँ थियो ।

कम्पनीको गत आवसम्ममा पुँजी संरचना सहज अवस्थामा देखिएको छ । कम्पनीको समग्र गियरिङ अनुपात ०.६७ गुणा रहेको छ । सन् २०२४ मा ०.६६ गुणा थियो ।

कम्पनीको ब्याज कभरेज अनुपात ३.०१ गुणा रहेको छ । सन् २०२४ मा ५.६२ गुणा थियो । त्यस्तै, कम्पनीको कुल ऋण/कुल नगद सञ्चिती अनुपात बढेर ८.३७ गुणा पुगेको छ । सन् २०२४ मा ३.०९ गुणा थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले मकवानपुरमा रहेको उद्योगबाट ब्रोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले प्रि स्टार्टटर, ब्रोइलर र्स्टाटर, ब्रोइलर ग्रोअर र लेयर्स दाना उत्पादन गर्दै आएको छ । कम्पनीले गत आवमा कारोबार गरेकोमध्ये ९३ प्रतिशत हिस्सा ब्रोइलरको दानाबाट भएको उल्लेख छ ।

कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, सिंगापुर, अमेरिका र चीनबाट आयात गर्दै आएको छ । नारायणहरी खत्री अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।