
काठमाडौं । गत वर्ष बजेट अघि चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएका गाडीको संख्याको तस्बिर भाइरल भएको थियो । खासगरी, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट विद्युतीय सवारीसाधनमा उल्लेख्य कर बढ्ने हल्लापछि व्यवसायीले ठूलो मात्रामा गाडी भित्र्याएका थिए ।
तर, तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाडीको कर यथावत् राखे । गत वर्ष बजेट आउँदा मात्रै नभएर यसअघिका अघिल्ला वर्षहरुमा पनि व्यवसायीले बजेट घोषणा अघि ठूलो मात्रामा गाडी ल्याउने गर्दथे जुन स्थिति यस वर्ष भने फेरिएको छ । अर्थात्, यस वर्ष करका दर हेरफेर नहुने अनुमानका साथ व्यवसायीले पहिला जस्तो ठूलो मात्रामा गाडी भित्र्याउने काम बन्द गरेका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले विद्युतीय गाडीको आयात घटेको देखाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म कुल ८ हजार ६०५ विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म भने ९ हजार ८४८ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
सरकारले चालु आर्थिक वर्षमा विद्युतीय गाडीको भन्सार बढाउने चर्चा चलेसँगै व्यवसायिले गत वर्षको वैशाख र जेठमा बजेटअघि ठुलो परिमाणमा विद्युतीय गाडी भित्र्याएका थिए ।
जसले गर्दा साउन र भदौमा भएको दुईवटा अटो शो र दशैं तिहारका पनि विद्युतीय गाडीको आयात अपेक्षित रुपमा बढेको थिएन । तर, यस वर्ष भने करका दर हेरफेर नहुने अनुमानले व्यवसायीले ठूलो मात्रामा गाडी भित्र्याउने काम बन्द गरेका हुन् ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । यस बजेटमा भने करका दर हेरफेर नहुने अनुमानले व्यवसायीले गाडी भित्र्याउने होडबाजी बन्द गरेका हुन् ।
समग्रमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्ष (साउनदेखि असारसम्म)मा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५ सय ७८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका थिए । उक्त आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको ११ हजार ७ सय १ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने पनि बजेटमार्फत ईभीमाथि कर वृद्धि हुने चर्चा चलेपछि गत वर्षको जेठ महिनामा मात्रै ३ हजार ६ सय ३३ ईभी नेपाल भित्रिएका थिए ।
गत जेठ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको साढे ३ हजार बढी ईभी नेपाल भित्रिएको थियो ।
जेठमा ठुलो मात्रामा गाडी भित्रिएपछि गत वर्षको अन्तिम महिना अर्थात् असारमा भने ७७ युनिट मात्रै ईभी नेपाल भित्रिएका थिए । जेठमा नै गाडी आयातकर्ताले ठुलो मात्रामा गाडी भित्र्याएपछि असारमा सो संख्या निकै नगन्य मात्रामा झरेको थियो ।
गत आर्थिक वर्षको वैशाखमा १ हजार ८ सय ९२ युनिट, चैतमा ८ सय ७८ युनिट, फागुनमा ८ सय ३३ युनिट, माघमा ७ सय ७६ युनिट, पुसमा ७ सय ८३ युनिट, मंसिरमा २ सय १० युनिट, कात्तिकमा ९ सय ६९ युनिट, असोजमा ९ सय १६ युनिट, भदौमा २१ युनिट र साउनमा ३ सय ८१ युनिट ईभी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको वैशाखमा २२८९ प्यासेन्जर इभी आयात गरिएकामा यसपालि वैशाखमा त्यो संख्या १७०० मा खुम्चिएको छ ।
गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म १२ हजार ७८२ वटा चार पाङ्ग्रे इभी आयात भएकामा यो आवको सोही अवधिमा २५ अर्ब २७ करोड रुपैयाँ बराबरका १० हजार ८५ युनिट चार पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन भित्र्याइएको छ ।
चालु आवको १० महिनामा इन्धन चार पाङ्ग्रे सवारीसाधन १५ अर्ब ९१ करोड रुपैयाँ बराबर ११ हजार २१ युनिट आयात गरिएको छ । गत आवको सोही अवधिमा ८ हजार युनिट मात्रै आयात गरिएको थियो ।
गत वर्ष १० महिनामा १९ अर्ब ४२ करोड रुपैयाँ बराबर १ लाख ५९ हजार युनिट दुई पाङ्ग्रे इन्धन सवारीसाधन आयात भएकामा यो वर्ष भने सोही अवधिमा २७ अर्ब ३५ करोड रुपैयाँ बराबरका २ लाख ८ हजार ९२६ युनिट भित्रिएको छ ।
चालु आर्थिक वर्ष कुन क्षमताका कति विद्युतीय गाडी आयात भए?
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी ५१ देखि १०० किलोवाट क्षमताको आयात भएको छ । उक्त क्षमताको कुल १३ अर्ब २ करोड ५८ लाख ५७ हजार रुपैयाँ बराबरको ५०२५ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट ८ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
गत आर्थिक वर्षको वैशाखसम्म १३ अर्ब ८७ करोड १४ लाख ३ हजार रुपैयाँ बराबरको ५ हजार ५३४ युनिट विद्युतीय गाडी आयात हुँदा ८ अर्ब ८० करोड ३१ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यस्तै ५० किलोवाट क्षमताभन्दा कमका ५ अर्ब १४ लाख ७ हजार रुपैयाँ बराबरको २ हजार ८४८ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट २ अर्ब १५ करोड ९५ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म ५० किलोवाट भन्दा कम क्षमताका ५ अर्ब ९८ करोड ३ लाख २६ हजार रुपैयाँ बराबरको ३ हजार ३६९ युनिट विद्युतीय गाडी आयात भएका थिए । जसबाट २ अर्ब ८५ करोड ६५ लाख २३ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
१०१ किलोवाटदेखि २०० किलोवाट क्षमताको २ अर्ब २३ करोड ५५ लाख ६७ हजार रुपैयाँ बराबरको ७२३ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट १ अर्ब ८९ करोड ८८ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताको ३ अर्ब १० करोड ५३ लाख ३९ हजार रुपैयाँ बराबरको ९२७ युनिट विद्युतीय गाडी आयात भएको थियो । जसबाट २ अर्ब ६४ करोड १ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
२०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताको ६ करोड १७ लाख ६२ हजार रुपैयाँ बराबरको ९ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट ८ करोड ५३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताको १३ करोड ३९ लाख ३१ हजार रुपैयाँ बराबरको १८ युनिट विद्युतीय गाडी आयात भएको थियो । जसबाट २० करोड ९३ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसबाहेक अनएसेम्बल ५० किलोवाट क्षमताका २ विद्यतीय गाडी आयात भएको छ । २३ लाख ९७ हजार रुपैयाँको उक्त गाडी आयातबाट ७ लाख ६९ हजार राजस्व संकलन भएको छ ।





प्रतिक्रिया