
काठमाडौं । नाडा अटो शो र नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उत्साहपूर्ण गाडी बुकिङ गराउन सफल अटो व्यवसायी हाल निरासामा छन् । करिब एक महिना अगाडि मात्रै सम्पन्न दुई अटो प्रदर्शनीबाट बजारलाई चलयमान बनाउने भरपुर पर्यत्न गरी गाडी बुकिङ गराएका व्यवसायीले अहिलेसम्म पनि डेलिभरी दिन सकेका छैनन् । बरु, उल्टो धमाधम बुकिङ रद्द हुन थालेका छन् जुन, व्यवसायीका लागि टाउको दुःखाईको विषय बनेको छ ।
नेपालीहरुको मुख्य पर्वको रुपमा लिइने दशैं सुरु भइसकेको छ । तर, व्यवसायका हिसाबमा अटो व्यवसायीका लागि भने साउन/भदौ देखि नै दशैं सुरु हुने गर्दछ । चाडपर्व अगाडि सुरु हुने गाडी प्रदर्शनीलाई नै व्यवसायीले दशैंको रुपमा लिने गर्दछन् । अटो व्यवसायीले आफ्नो व्यापार बढाउनका लागि अटो शोदेखि दशैं तिहारसम्मकै लागि छुट तथा अफरहरु ल्याउने गर्दछन् ।
विगतका वर्ष जस्तै, यस वर्ष पनि अटो व्यवसायीको माहोल त्यसैगरी सुरु भएको थियो । साउन २१ देखि २६ गतेसम्म भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ देखि ८ गतेसम्म भएको नाडा अटो शोले व्यवसायीमा एक किसिमको उत्साह सिर्जना गरेको थियो । दुई प्रदर्शनीमै व्यवसायीले सकेसम्म बढीभन्दा बढी गाडी बुकिङ गराएर दशैंसम्म डेलिभरी गर्ने योजना बनाएका थिए ।
भारी छुट तथा अफर योजना ल्याएर गाडी बुकिङ गराउँदै सुरु भएको अटो व्यवसायीको दशैंको अन्त्य भने त्यति सुखद रहन सकेन । अर्थात्, भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको प्रभाव समग्र बजारमा पर्दा अटो शोमा बुकिङ भएका गाडी धमाधम रद्द भइरहेका छन् । दसैं बेलामा निकै चहलपहल हुने दुई पांग्रे तथा चार पांग्रे गाडीका शोरुमहरु सुनसान बनेका छन् भने बुकिङ रद्दले व्यवसायी मारमा परेको बताउँछन् ।
‘अटो शोमा गरिएको बुकिङमध्ये २५ देखि ३० प्रतिशतलाई मात्रै बिक्रीमा परिर्णत गराउन सकेमा पनि राम्रै हुन्छ भन्ने योजनामा हामी अगाडि बढेका थियौं । तर, अहिलेसम्म एउटा पनि गाडी डेलिभरी गर्न सकिएको छैन,’ एक व्यवसायीले क्लिकमान्डुसँग भने, ‘बरु, अहिले बुकिङ भएका गाडी समेत ठूलो मात्रामा रद्द भइरहेको छ ।’
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)को आयोजनामा भएको दुई अटो शोमा करिब आठ हजार गाडी बुकिङ भएको व्यवसायीले बताएका थिए । डेलिभरीका लागि गाडी भित्र्याउनेक्रम पनि बढ्दो मात्रामा थियो । यद्यपि, प्रदर्शनीका कारण ठूलो मात्रामा बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित बनेका छन् ।
खासगरी, भदौमा हुने अटो शो देखि दशैं तिहारसम्मको चाडपर्वसम्मको अवधिलाई सवारीसाधन खरिदबिक्रीको मुख्य समय मानिन्छ । चाडपर्व बाहेक अन्य समयमा शोरुम भाडा र कर्मचारी धान्ने खर्च उठाउन धौधौ पर्ने अटो व्यवसायीले अधिकतम आम्दानी यहि मौसममा गर्दछन् । अहिले, व्यापार बढी हुने मुख्य समयमा नै भएका बुकिङसमेत अत्यासलाग्दो ढंगमा रद्द हुन थालेपछि दशैंसमेत खल्लो भएको गुनासो व्यवसायीहरु गर्छन् ।
‘एकातर्फ बाढी पहिरोका कारण ढुवानी खर्चसमेत महँगो भएको छ भने अर्कोतर्फ, जेनजी प्रदर्शनले बुकिङ फिर्ता गर्नेक्रमले व्यापकता पाएको छ,’ अर्का अटो व्यवसायीले गुनासो पोख्दै क्लिकमान्डुसँग भने, ‘दशैं सुरु भयो भन्छन् । तर, हाम्रो लागि यस वर्षको दशैं साच्चिकै दशैंजस्तो रहेन ।’ उनले, एकदमै न्यून गाडी डेलिभरी गर्न खोज्दासमेत नसक्ने अवस्था रहेको बताए ।

सरकारी कर्मचारीले गरेका सबैजसो गाडी बुकिङ रद्द
चाडपर्व भन्दा केही समय अगाडि भएका दुई अटो प्रदर्शनीले व्यवसायीमा नयाँ उत्साह र आत्मविश्वास थप्ने काम गरेको थियो । प्रदर्शनीले मोटरसाइकल, स्कुटर र चार पांग्रे बजारमा मानिसको राम्रो चासो रहेको पुष्टि गरेको थियो । दुबै प्रदर्शनीमा ब्रान्डहरूबीच नयाँ मोडेल सार्वजनिक गर्ने होड मात्र चलेनको थिएन, उपभोक्तालाई सहज कर्जादेखि अफर प्याकेजमार्फत तान्ने प्रयास पनि भरपुर भएको थियो ।
छोटो अन्तरालमै भएका यी दुई शोले अटो क्षेत्रमा लगानीको वातावरण सकारात्मक बनाएको र बजार स्थिरतर्फ उन्मुख हुने संकेत गरेको प्रतिक्रिया व्यवसायीले दिएका थिए । तर, यो सम्पूर्ण सकारात्मक वातावरण जेनजी प्रदर्शनले बिथोलेको छ । सरकारीदेखि निजी क्षेत्रसम्म जेनजी प्रदर्शनकारीको निसानामा पर्दा ग्राहकको गाडी खरिद गर्ने योजना तत्काललाई रोकिएको छ।
निजी क्षेत्रतर्फका व्यक्तिसँगै अधिकांश सरकारी कर्मचारीले बुकिङ फिर्ता लिइसकेको व्यवसायी बताउँछन् । ‘गाडी बुकिङ रद्द गर्नेक्रम सबै ब्रान्डमा ठूलो मात्रामा छ । अन्य, अटो ब्रान्डका साथीहरुले पनि गुनासो पोखिरहनु भएको छ,’ ती अटो व्यवसायीले भने, ‘सरकारी कर्मचारीले गरेका सबैजसो बुकिङ रद्द भइसकेका छन् भने अन्य व्यक्तिले गरेका बुकिङ पनि ठूलो मात्रामा छ ।’
जेनजी प्रदर्शनपछि सरकारले भौतिक संरचना पुननिर्माणमा ठूलो रकम खर्चिनुपर्ने बाध्यता सिर्जना भएको छ । यसले सरकारी कर्मचारीको सेवा सुविधा समयमा उपलब्ध हुने नहुने अन्यौल रहेको चर्चा पनि भइरहेका छन् । चाडपर्वमा पाउने बोनस तथा अतिरिक्त सुविधा प्राप्त गर्ने विषयसमेत अन्यौलमा हुँदा सबैजसो सरकारी कर्मचारीले गरेका गाडी बुकिङ रद्द गरिसकेका हुन् । ठूलो संख्यामा सरकारी तथा निजी सवारीसाधन तोडफोड र आगजनी भएका कारण त्यसको त्रासमा समेत नागरिक परेका छन्, जसका कारण पनि बुकिङ रद्द गर्नेक्रम बढेको हो ।
झनै थपियो व्यवसायीमाथिको आर्थिक भार
अटो व्यवसायीले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् विद्युतीय सवारीसाधनमा लगाइएको कर बढ्ने भन्दै एकैपटक ठुलो मात्रामा गाडी भित्र्याएका थिए । विद्युतीय सवारीसाधनको कर वृद्धि हुने चर्चा चलेपछि जेठ महिनामा मात्रै ३ हजार ६ सय बढी ईभी भित्र्याएका व्यवसायीले आर्थिक भार थपिने भन्दै अटो प्रदर्शनीमा गाडी खरिद गर्नेलाई भारी छुट अफर दिएका थिए ।
लामो समय गाडी बिक्री नगरी स्टकमा राख्दा व्यवसायीमाथि आर्थिक भार थपिन्छ । गाडी लामो समय बिक्री नहुँदा पार्किङ भाडा निरन्तर बुझाइरहनुपर्छ भने अर्कोतर्फ बैंकको ब्याज पनि तिरिरहनुपर्छ । पार्किङ शुल्क तथा बैंकको ब्याज लामो समय बुझाउनुभन्दा दशैं अगाडि नै सकेसम्म बढी भन्दा बढी गाडी बिक्री गर्ने योजनामा व्यवसायी लागि परेका थिए ।
सोहीअनुरुप, अटो प्रदर्शनीमा २० लाखसम्मको छुट व्यवसायीले दिएका थिए । ४ लाखदेखि ८/१० लाखसम्मको छुट दिने पनि एकदमै धेरै थिए । गाडी वितरकले नगद छुटको साथमा चार्जर, ५/६ वर्षसम्मको निःशुल्क सर्भिसिङ, निःशुल्क बिमा सुविधा लगायत अफर पनि दिएका थिए । यस्ता छुट तथा अफर ल्याएर दशैं अगाडि नै स्टकमा रहेका गाडी बिक्री गरी आर्थिक भार कम गर्ने व्यवसायीको पर्यत्न असफल भएको छ ।
दशैं अगाडिको गाडी खरिदबिक्री ठप्प स्थितिमा पुग्दा व्यवसायीले झनै लामो समय गाडी स्टकमा राख्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसले व्यवसायीमाथिको आर्थिक भार थप बढ्दै जाने भएको छ । जेनजी प्रदर्शनीबाट भौतिक संरचनामासमेत क्षति भोगेका व्यवसायीका लागि यस वर्ष थप कठिन बनेको छ ।
उत्साहित हुँदै ल्याएका थिए चाडपर्व लक्षित अफर
आफूतर्फ ग्राहक आकर्षित गर्नका लागि अटो व्यवसायीहरुले चाडपर्व लक्षित अफर तथा छुट योजना समेत घोषणा गरिसकेका थिए । अटो प्रदर्शनीमा सहभागि भएर अफर दिएका कतिपय ब्रान्डले त्यसैलाई निरन्तरता दिएका थिए भने सहभागि नभएका तथा अन्यले पनि सवारीसाधन खरिदमा दशैं तिहार लक्षित अफर योजना सार्वजनिक गरिसकेका थिए ।
एलएस अटो कम्पनीले एलइभी ०१ ईभी गाडीको खरिदमा १ लाखसम्मको नगद छुट दिइरहेको छ । कम्पनीले एक लाख एक्सचेन्ज बोनस, गाडी खरिदमा २० प्रतिशत डाउन पेमेन्ट, निशुल्क बिमा, १० केजीको वासिङ मेशिन र जोडीका लागि ६ दिन सिंगापुर अथाव मलेसिया भ्रमण गर्न सक्ने गरी आफ्नो अफर सार्वजनिक गरेको छ ।
होन्डाले चाडबाडका लागि दशैंमा होन्डा छानौं ‘चंगा उड्छ फरर’ योजना ल्याएको छ । कम्पनीले भदौ ७ गतेदेखि कात्तिक १४ गतेसम्म यो योजना लागु गर्दै होन्डा सिटी, सिटी इभी, इलेभेट, अमाजे, पाँचौ जेनेरेसन सिटीजस्ता गाडीहरुमा विभिन्न अफरहरु ल्याएको छ । यसमा कम्पनीले ४ लाखसम्मको नगद छुट, ५ वर्ष निःशुल्क सर्भिस, १ वर्ष निशुल्क बीमा, १ वर्ष रोड ट्याक्स निशुल्क, २५ हजारको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, २ वर्ष इन्जिन वारेन्टी र एकपटक रोडसाइड सहायता दिनेगरी आफ्ना अफरहरु सार्वजनिक गरेको छ ।
हुन्डाइ नेपालले पनि चाडपर्व लक्षित दशैं तिहार फेस्टिभल अफर योजनाअन्तरगत विभिन्न आकर्षक सुविधा तथा छुटको व्यवस्था गरेको छ । कम्पनीले आर्कषक नगद छुट, स्क्रयाच कार्डमार्फत थप १ लाख क्यासब्याक, दुइ लक्की बिजेताले हुन्डाइ औरा वा ग्रान्ड आइ १० एनआइओएस जित्ने मौका आम ग्राहकले पाउनेछन् । कम्पनीले १ वर्ष निःशुल्क कम्प्रिहेन्सिभ बीमाको समेत सुविधा दिएको छ ।
एमजीले पाथ्स अफ स्माइल फेस्टिभल स्किम योजनाअन्तरगत विभिन्न अफरहरु सार्वजनिक गरेको छ । एमजी४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी र एमजी आइएम६ इभी गाडीहरुको खरिदमा थ्प्रै आकर्षक सुविधाहरु ल्याएको छ । जसमा कम्पनीले ग्राहकका लागि ४ लाखसम्म नगद छुट, निशुल्क कम्प्रेन्सिभ अटो पल्स बीमा, निःशुल्क ३ किलोवाट इभी होम चार्जर पाउन सकिनेलगायतका सुविधाहरु दिएको छ ।
बिवाइडीका इलेक्ट्रिक कारहरुको खरिदमा ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ र १० वर्षका लागि ब्याट्री र मोटरमा विस्तारीत वारेन्टीको सुविधा दिएको छ । त्यस्तै टाटा र टोयटा मोडेलका गाडीहरुको खरिदमा पनि ग्राहकले विशेष अफर पाउन सक्नेछन् । सुजुकीले पनि यसपालीको चाडबाडलाई लक्षित गरेर दुई पाङ्ग्रे सवारीमा ‘दशैं आयो, क्यास पायो’ योजना सार्वजनिक गरेको छ ।
जसमा ७ हजार देखि ५ लाखसम्मको नगद छुट, एक्सचेन्ज तथा फाइनान्स सुविधा, ५ वर्षको वारेन्टी र निःशुल्क सर्भिसिङ, १ वर्षको रोड ट्याक्स निशुल्क र ‘सियोर सट’ योजनामा १० हजार रुपैयाँसम्मको छुट सुविधा समेत पाइने कम्पनीले जनाएको छ । यस्तै, अन्य ब्रान्डहरुले पनि यस्ता किसिमका विभिन्न योजना तथा अफर सार्वजनिक गरेका थिए । यद्यपि, यी सबै अफर तथा छुट योजनाले समेत गाडी बिक्री हुन नसक्ने स्थिति जेनजी प्रदर्शनले सिर्जना गरेको छ ।







प्रतिक्रिया