भन्सार बढ्ने त्रासमा भित्र्याइए गाडी, स्टक रित्याउने दबाबले चलाइयो ‘भारी छुट अफर’

20.7k
Shares

काठमाडौं । साउन २१ गतेबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा अटो ब्रान्डहरुले गाडी खरिदमा भारी छुट दिइरहेका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भइरहेको अटो एक्स्पोमा एउटै गाडी खरिदमा २० लाखसम्मको छुट सुविधा दिइएको छ ।

अघिपछि गाडी खरिदमा जाँदा १० देखि १५ हजार रुपैयाँको डिस्काउन्ट दिन मुस्किल मान्ने ब्रान्डले हाल भने अर्को गाडी किन्न सकिने रकम बराबरको त छुट सुविधा नै दिएका छन् । विगतमा हुने गरेका अटो एक्स्पोलाई हेर्ने हो भने यस्ता प्रदर्शनी, चाडपर्व लगायतका अवसरमा केही हदसम्मको छुट सवारीसाधन बिक्रेताले दिएको देखिन्छ ।

तर, हाल भइरहेको नाइमा एक्स्पोमा भने ग्राहक नै आश्चर्यमा पर्ने किसिमको छुट सुविधा गाडी बिक्रेताले दिइरहेका छन् । ४ लाख, ५ लाख, ८ लाख, १० लाख हुँदै २० लाखसम्मको छुट दिने ब्रान्ड धेरै छन् । एक्स्पोमा सहभागी भएका सबैजसो वितरकले डेढदेखि २ लाखसम्मको छुट दिएकै छन् ।

गाडी वितरकले नगद छुटमात्रै दिएका छैनन्, उनीहरुले चार्जर, ५/६ वर्षसम्मको नि:शुल्क सर्भिसिङ, नि:शुल्क बिमा सुविधा लगायत अफर पनि दिइरहेका छन् ।

साउन २१ गतेबाट सुरु भएर साउन २६ मा सकिने नाइमा एक्स्पोमा यो किसिमको छुट छ भने आगामी भदौ ३ गतेबाट नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)को आयोजनामा हुने नाडा अटो शो–२०२५ मा पनि यो किसिमको छुट अफर आउने निश्चित् जस्तै छ ।

अटो शो विशेष सामग्रीहरूका लागि यहाँ क्लिक गर्नुहोस्

तर, केही दिन अगाडिसम्म १०/२० हजार छुट दिन कठिन मान्ने अटो ब्रान्ड एक्कासी अर्को गाडी आउने रकम बराबरको छुट दिने अवस्थामा कसरी पुगे ? भन्ने प्रश्न उठिरहेको छ । अधिकांश ब्रान्डले एकदमै धेरै रकम बराबरको छुट दिएका कारणले गर्दा पनि यो प्रश्न उठ्नु स्वभाविक नै हो । अटो ब्रान्डले नयाँ गाडीमा मात्रै नभएर यसअघि नै बिक्री वितरण गर्दै आएका गाडीको मूल्यमा समेत भारी छुट दिएका छन् ।

नाइमा एक्स्पोमा पुगेर अटो ब्रान्डले यति ठुलो छुट र अफर किन दिइरहेका छन् ? भन्ने प्रश्नमा एक अटो व्यवसायीले भने, ‘चालु आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय सवारीसाधनको कर बढ्ने आशंका सबै व्यवसायीले ठुलो मात्रामा गाडी आयात गरे । तर, कर नबढेपछि हाल स्टकमा रहेका गाडी बिक्री गर्नुपर्ने बाध्यता सिर्जना भयो र सबै ब्रान्ड अफरमा आक्रमक भएर लागे ।’

उनले लामो समय गाडी बिक्री नगरी स्टकमा राख्दा बिक्रेतामाथि आर्थिक भार थपिने भएकाले पनि व्यवसायीले भारीको छुटको बाटो रोजेको बताए । गाडी लामो समय बिक्री नहुँदा पार्किङ भाडा निरन्तर बुझाइरहनुपर्छ भने अर्कोतर्फ बैंकको ब्याज पनि तिरिरहनुपर्छ ।

पार्किङ शुल्क तथा बैंकको ब्याज लामो समय बुझाउनुभन्दा अहिले गाडी बिक्री गर्न सके बढी फाइदा हुने भएकाले व्यवसायीले गाडीमा भारी छुट दिएको उनको भनाइ छ । अझ, धेरै अटो ब्रान्डले एक्स्पो अवधिभरका लागि मात्रै नभएर यो छुट सुविधालाई दसैं तिहारसम्मै लम्ब्याउनेछन् । एक्स्पोदेखि दसैंसम्म मानिसले बढी गाडी खरिद गर्ने भएकाले यहि अवधिमा आफ्नो स्टकमा रहेका गाडी बढीभन्दा बढी बेच्ने योजना व्यवसायीको हो ।

यदि, दसैं तिहारसम्म पनि गाडी बिक्री गर्न नसकेको खण्डमा झनै लामो समय गाडी स्टकमा राख्नुपर्ने बाध्यता आउँछ । अझ, भन्नुपर्दा अर्को वर्षसम्म सोही गाडी बिक्रीका लागि कुनुपर्ने स्थिति पनि बन्न सक्दछ । यसले व्यवसायीमाथिको आर्थिक भार थप बढ्दै जाने भएकाले पनि अहिले नै सकेसम्म छुट तथा अफर दिएर गाडी बिक्री गर्ने होडमा व्यवसायी लागि परेका हुन् ।

‘अहिले व्यवसायीमा नयाँ गाडी भन्दा पनि कर बढ्ने हल्लाले भित्र्याइएका गाडी बिक्री गर्नुपर्ने दबाब छ,’ अर्का अटो व्यवसायीले क्लिकमान्डुसँग भने, ‘मेरो पनि मुख्य योजना बजेट अगाडि भित्र्याइएका गाडी बिक्री गरेर सक्ने नै हो । यति गर्न सकेमा अरु धेरै अहिले चाहेको छैन ।’ उनले दसैंसम्मको आफ्नो योजना पनि स्टकमा रहेका गाडी बिक्री गर्नु नै रहेको बताए ।

पार्किङ शुल्क र ब्याज मात्रै नभएर लामो समय अव्यवस्थिति ठाउँमा गाडी राख्दा पछि पुरानो भाउमा बिक्री गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने स्थिति आउने सक्ने भएकाले पनि गाडी चाँडोभन्दा चाँडो बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा रहेको उनको भनाइ छ ।

एकातर्फ बजारमा चलिरहेको तीव्र प्रतिस्पर्धा र अर्कोतर्फ स्टकमा रहेका गाडी जतिसक्दो छिटो बेच्नुपर्ने दबाबले धेरै नगद छुटसहितको अफर चलेको उनले बताए । हुन, पनि अटो व्यवसायीले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् विद्युतीय सवारीसाधनमा लगाइएको कर बढ्ने भन्दै एकैपटक ठुलो मात्रामा गाडी भित्र्याएका थिए ।

भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने पनि बजेटमार्फत ईभीमाथि कर वृद्धि हुने चर्चा चलेपछि जेठ महिनामा मात्रै ३ हजार ६ सय ३३ ईभी नेपाल भित्रिएका थिए । गत जेठ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको साढे ३ हजार बढी ईभी नेपाल भित्रिएको थियो । सो समयमा चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएका गाडीको संख्याको तस्बिर भाइरल भएको थियो।

जेठमा ठुलो मात्रामा गाडी भित्रिएपछि गत वर्षको अन्तिम महिना अर्थात् असारमा भने ७७ युनिट मात्रै ईभी नेपाल भित्रिएका थिए । जेठमा नै गाडी आयातकर्ताले ठुलो मात्रामा गाडी भित्र्याएपछि असारमा सो संख्या निकै नगन्य मात्रामा झरेको थियो ।

गत आर्थिक वर्षको वैशाखमा १ हजार ८ सय ९२ युनिट, चैतमा ८ सय ७८ युनिट, फागुनमा ८ सय ३३ युनिट, माघमा ७ सय ७६ युनिट, पुसमा ७ सय ८३ युनिट, मंसिरमा २ सय १० युनिट, कात्तिकमा ९ सय ६९ युनिट, असोजमा ९ सय १६ युनिट, भदौमा २१ युनिट र साउनमा ३ सय ८१ युनिट ईभी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ ।

समग्रमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्ष (साउनदेखि असारसम्म)मा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५ सय ७८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको देखिन्छ । उक्त आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको ११ हजार ७ सय १ युनिट विद्युतीय गाडी आयात भएको थियो ।

यसरी, चालु आर्थिक वर्षको बजेट अघि ठुलो मात्रामा गाडी आयात भएकाले उक्त गाडी सकेसम्म छिटो बिक्री गर्ने सोचका साथ अफर तथा छुट योजनाले व्यापकता पाएको देखिन्छ । यद्यपि, हाल अटो व्यवसायीले गाडी खरिदमा दिएको छुट तथा अफरको कारण चाँडो गाडी बिक्री गर्नुपर्ने बाध्यताका साथै बजारमा देखिएको उच्च प्रतिस्पर्धा पनि हो ।

बजारमा अहिले एकै किसिमको रेन्ज, पावर र फिचर भएका गाडी धेरै ब्रान्डले बिक्री गरिरहेका छन् । विकल्प धेरै भएकाले ग्राहकले पनि समान किसिमको फिचर भएका गाडी सकेसम्म न्यून मूल्यमा खरिद गर्न खोज्छन् । यहि विषयलाई मध्येनजर गरेर अटो व्यवसायीले अर्को ब्रान्ड वा गाडीको तुलनामा कम मूल्य राखेर गाडी बढी बिक्री गर्न खोज्छन् । जसका कारण पनि एक्स्पोमा छुट तथा अन्य सुविधा दिने होडबाजी चलेको हो ।

एक्स्पोमार्फत् माहोल बनाउँदै चाडपर्वसम्म बिक्री गराउने लक्ष्य

सवारीसाधन बढी बिक्री हुने समयका रुपमा लिइने दसैं तिहार जस्ता चाडपर्व आउन अझै केही महिना बाँकी छ । हाल नाइमा एक्स्पो चलिरहेको छ भने अब केही दिनमा नाडा अटो शो पनि सुरु हुनेछ । व्यवसायीले हालको एक्स्पोमै गाडी बिक्री गर्ने भन्दा पनि चाडपर्वसम्म एक किसिमको माहोल सिर्जना गरेर लैजाने ढंगमा प्रदर्शनीलाई लिएका छन् ।

‘यो प्रदर्शनीमार्फत् हामीले चाडपर्वसम्मलाई नै एक किसिमको गाडी खरिदबिक्रीको माहोल सिर्जना गर्दै लैजाने ढंगमा काम गरिरहेका छौं,’ लक्ष्मी ग्रुपका जनरल म्यानेजर दिपक थपलियाले भने, ‘हालसम्म आईपुग्दा प्रदर्शनीका विषयमा राम्रो प्रतिक्रिया आइरहेको छ । मानिसको उपस्थिति ठुलो मात्रामा छ भने हाम्रै स्टलमा पनि धेरै मानिसको भिड देख्न सकिन्छ ।’

उनले ग्राहकले गाडीका फिचर, बिक्रीपछिको सेवा सबै बुझिरहेको आउने चाडपर्वसम्मका लागि यो एक्स्पोलाई माहोल सिर्जना गर्ने माध्यमको रुपमा हेरिएको बताए । यसले बजारलाई थप चलयमान बनाउन र गाडी खरिद गर्ने सोच बनाएकालाई अझ प्रोत्साहित गर्न मद्दत गर्ने बताए ।

यहि कारण कतिपय ब्रान्डले एक्स्पो केन्द्रीत मात्रै नभएर दसैंसम्मका लागि विभिन्न अफर तथा छुट योजना घोषणा गरेका छन् । लक्की विनरदेखि अन्य विभिन्न प्रकारका योजना पनि थुप्रै ब्रान्डले चलाइरहेका छन् । जसबाट पनि आगामी दुई तीन महिनालाई अटो व्यवसायीले गाडी खरिदबिक्रीको माहोल सिर्जना गर्ने पाटोमा लागि परेको देखिन्छ ।

नेपालका लागि बिवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले पनि एक्स्पोलाई गाडी खरिदबिक्रीको माहोल सिर्जनाको माध्यम मानिएको बताउँछिन् । लगातारको दुई एक्स्पोले दसैं तिहार जस्ता चाडपर्वसम्ममा नै बजारलाई चलयमान बनाउन मद्दत गर्ने श्रेष्ठको तर्क छ ।

‘विगतमा पनि धेरै अटो शो भए । तर, नाइमा अटो शोमा पहिलो दिन नै मानिसको उपस्थिति र बुकिङ संख्या धेरै राम्रो पाइयो,’ श्रेष्ठले भनिन्, ‘अब केही दिनमा नाडा अटो शो पनि हुँदैछ । त्यसपछि चाडपर्व पनि सुरु हुन्छ र बजार चलयमान हुन्छ ।’ उनले एक्स्पोमार्फत् गाडी खरिद गर्न चाहने मानिसमा एक किसिमको उत्साह पैदा गरेर जाने पाटोमा अटो व्यवसायी लागि परेको बताइन् ।