नाइमा एक्स्पोमा इन्ट्री लेबलका कारः कुनै बाटोमा आउँदै, केहीमा ग्राहक झुम्मिँदै

735
Shares


काठमाडौं । सस्तो अर्थात् कम मूल्यमा उपलब्ध हुन थालेसँगै मध्यम आय भएका वर्गहरुले पनि आफ्नो कार चढ्ने सपना पुरा गर्न थालेका छन् । खासगरी, कम आय भएका मानिसले महँगो र मध्यम मूल्य भएका गाडी खरिद गर्न सक्दैनन् । यहि, विषयलाई मध्येनजर गर्दै विश्व अटो बजारमा न्यून मूल्यका इन्ट्री कार (सिटी कार) ल्याउने प्रतिस्पर्धा बढ्दो मात्रामा छ ।

नेपाल जस्तो न्यून आए भएको मुलुकका लागि इन्ट्री लेबलको कारतर्फको आकर्षण झन् बढी छ । पछिल्लो समय ३० लाख रुपैयाँसम्मका गाडीमा नेपालीहरुको राम्रो आकर्षण र चासो देखिँदै आएको छ । विभिन्न अटो शो र त्यहाँ पुग्ने अवलोकनकर्ताको रोजाई हेर्दा पनि इन्ट्री लेबल अर्थात् कम मूल्यका गाडीहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएको देखिन्छ ।

सस्तो मूल्य, सञ्चालनमा सजिलो, साँघुरो सडकमा चलाउन सहज हुने र पार्किङका लागि पनि ठुलो ठाउँ नचाहिने भएकाले यस्ता गाडीहरू मानिसको आकर्षणमा परेका हुन् । बुधबार (साउन २१ गते)बाट नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा पनि यस्ता गाडीमा मानिस बढी झुम्मिएको देख्न सकिन्छ ।

यद्यपि, तुलनात्मक रुपमा नाइमा अटो एक्स्पोमा इन्ट्री लेबलका गाडी धेरै मात्रामा देख्न पाइएको छ । लन्च हुने भनिएका केही ब्रान्डका इन्ट्री लेबलका गाडी पनि बाटोको समस्याका कारण हालसम्म आईपुग्न सकेका छैन । तर, एक्स्पोमा लन्च भएको कम मूल्यको यस्ता गाडीले नै बढी मात्रामा अवलोकनकर्ताको ध्यान तानिरहेको पाइन्छ ।

नेपाली बजारमा केही ब्रान्डले यस्तै कम मूल्यका सिटी कारहरु मात्रै बिक्री गर्दै आएका छन् भने केही महँगा गाडी बेच्ने ब्रान्डले पनि सस्तो मूल्यका कार बिक्री वितरण गरिरहेका छन् । यसबाट पनि नेपाली बजारमा इन्ट्री लेबलका गाडीतर्फको आकर्षण राम्रै रहेको अनुमान लगाउन सकिन्छ । अहिले, केई, बिएडब्लु, सेरेस, रेनल्ट, जिङपेङ, हेनरी लगायतले कम मुल्यका गाडीलाई प्राथमिकतामा राख्दै आएका छन् ।

बाढी कारण आईपुगेन हेनरी भोल्ट्सको ‘सी–प्रो’ मोडल

नेपालका लागि हेनरी भोल्ट्स इलेक्ट्रिक सीटी कारको आधिकारीक वितरक एसक्युब इन्टरप्राइजेजले नाइमा अटो एक्स्पोमा अपग्रेटेड भर्सनमा मोडल सी–प्रो सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, बाढीका कारण बाटोमा समस्या आउँदा बुधबार उक्त गाडी सार्वजनिक हुन सकेन । हालसम्म पनि उक्त गाडी बाटोमा आउँदै गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार गाडी आईपुगेमा यस शुक्रबारसम्ममा उक्त गाडी लन्च हुने तयारी छ । हेनरी भोल्ट्सले अहिले एक्स्पोमा २०० किलोमिटर रेन्ज दिने र फास्ट चार्जिङको फिचर नभएको गाडी प्रदर्शनीमा राखेको छ । नाइमा एक्स्पोमा भने कम्पनीले फास्ट चार्जिङ प्रणाली भएको र ३०० किलोमिटरसम्मको रेन्ज दिने मोडल सी–प्रो ल्याउने योजना बनाएको थियो जुन गाडी केही दिनमा उपलब्ध हुने जनाइएको छ ।

हाल बिक्री भइरहेका गाडीको मूल्य १९ लाख ९५ हजार रुपैयाँ छ भने लन्च गर्न लागेको गाडीको मूल्य २२ लाख ९५ हजार रुपैयाँ हुने बताइएको छ । मोडल सी–प्रोमा मोटर पावर ३४ किलोवाटबाट बढाएर ३५ किलोवाट पु¥याइएको भने टर्क १०२ एनएमबाट ११० एनएममा वृद्धि गरिएको छ ।

मोडेल एचमा केवल ३.३ किलोवाटको एसी चार्जिङ रहेकोमा मोडेल सी प्रो मा भने ३० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने फिचर छ । यसले ४० मिनेट भन्दा कममा ८० प्रतिशत चार्ज गर्नसक्छ ।

अवलोकनर्ताको आकर्षण बनेको बीवाईडी एट्टो–१

बुधबारबाट सुरु भएको नाइमा अटो एक्स्पोमा चिनियाँ विद्युतीय ब्रान्ड ह्याचब्याक बीवाईडी एट्टो–१ मा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखियो । २९ लाख रुपैयाँ भन्दा कम मूल्यमा नै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो–१ आधिकारिक रुपमा एक्स्पोमा सार्वजनिक गरेको थियो ।

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो–१ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीले दाबी गरेको छ । यो गाडीले वल्र्ड कार अवाड्र्समा वल्र्ड अर्वन कार अफ दि इयर २०२५ को उपाधि समेत प्राप्त गरिसकेको छ । नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने बताइएको छ ।

डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । एक्स्पो भरीका लागि नाइमाले नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध गराएको छ ।

यसअघि नै उपलब्ध लिपमोटर टि–३

नाइमा एक्स्पोमा यस अघिदेखि नै नेपालमा उपलब्ध लिपमोटर टि–३ पनि राखिएको छ । ३४ लाखमा रुपैयाँमा बिक्री हुँदै आएको यस लिपमोटर टि–३ लाई नाइमा एक्स्पोमा २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने अफर दिइएको छ । सांग्रिला मोटर्सले भित्र्याएको यस गाडीमा ३३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ ।

७० किलोवाट क्षमताको मोटर जडान गरिएको यो गाडीले फुल चार्ज भएपछि ३९५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । सुरक्षाका दृष्टिकोणले टी–०३ मा लक्जरी श्रेणीका सवारीसाधनमा पाइने ८ वटा एयरब्याग उपलब्ध छन् । नाइमा एक्स्पोमा इन्ट्री लेबलका गाडी काम रहेकाले पनि यस गाडीतर्फ केही मानिस आकर्षित भएको देखिन्छ ।

केई ई–क्युट–०२

नेपाली बजारमा यसअघि देखि नै बिक्रीमा रहेको केई ई–क्युट–०२ पनि नाइमा अटो एक्स्पोमा प्रदर्शनीमा राखिएको छ । वास्तविक मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको यस गाडीलाई २० लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले छुट योजनासहित यो गाडी राखेका हुन् ।

४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्रीयुक्त सो ईभीले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम लगायतका सेफ्टी फस्र्ट फिचर रहेको केई ई–क्युट ०२ मा ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटम लगायतका विभिन्न फिचर रहेका छन् ।

केई ई–क्युट–०२ मा १०.२५ इन्चको टचस्क्रिन, चार वटा ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, १५ इन्चको टायर, अटो विन्डो क्लोजिङ, रिमोट विन्डो कन्ट्रोल, कोलम ड्राइभ सिफ्टर, सेन्सर लकिङ र अनलकिङ, ड्राइभर आर्मरेष्ट लगायतका फिचर समेत रहेका छन् । सानो र कम मूल्यको भएकाले यो स्टलमा पनि अवलोकनकर्ता पुगिरहेका छन् ।