
काठमाडौं । बुधबार (साउन २१ गते)बाट नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । यसअघिसम्म एउटै अटो शो हुने गरेकोमा नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)बाट छुट्टिएपछि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना भएको हो ।
पहिलो दिन अवलोकन गर्दा नाइमाले आफ्नो अटो एक्स्पोलाई व्यवस्थापकीय पाटोमा बढी नै काम गरेको देखिन्छ । प्रदर्शनका लागि राखिएका गाडीहरुका स्टलहरु निकै फराकिला र सहज किसिमको बनाउने प्रयत्न नाइमाले गरेको छ । खासगरी, साना तथा ह्याचब्याक (सिटी कार) प्रदर्शनीमा राखिएका स्टलहरु अझ बढी व्यवस्थित र सजावटले भरिएका छन् ।
अटो व्यवसायीहरु पनि गत वर्षकै लागतमा फराकिलो स्टल पाएको भन्दै खुसी व्यक्त गर्छन् । एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डिरेक्टर शम सापकोटा नाइमा अटो एक्स्पोको आन्तरिक व्यवस्थापन निकै राम्रो रहेको बताउँछन् ।
‘पहिलाको अटो शोमा पार्ट्स तथा अन्य लुब्रिकेन्टहरु एकै ठाउँमा राखिएको हुन्थ्यो । तर, यो पटक गाडी र मोटरसाइकल अलग ठाउँमा व्यवस्थित ढंगमा छन्,’ सापकोटा भन्छन्, ‘गत वर्षकै स्टल मूल्य बुझाउँदा यो पटक फराकिलो स्टल प्राप्त भएको छ ।’

खासगरी, यसपटक करिब एक साताको अन्तरालमा दुई अटो शो हुँदैछन् । दुई अटो शो चौधरी र गोल्छा व्यवसायीक घरानाको प्रतिष्ठासमेत जोडिएको विषय भएकाले व्यवस्थापनदेखि प्रदर्शनसम्ममा दुई अटो व्यवसायी संस्थाले बढी नै ध्यान दिएको देखिन्छ।
त्यसमा पनि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रशंशाले नाइमाका दंग परे । उद्घाटन कार्यक्रममा पौडेलले एक्स्पोको व्यवस्थापन र प्रदर्शनीको तारिफ गरे । ‘नाइमा पहिलोपटक आयोजना भएकाले यसमाथि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने चुनौति थियो थियो,’ पौडेलले भने, ‘तर, व्यवस्थापन र सहभागिता हेर्दा नाइमाले आफ्नो एक्स्पोको औचित्य पुष्टि गरेको छ ।’
उनले नाडा एक्स्पो हुँदै गरेकामा नाइमा एक्स्पो गर्नु कति उचित भन्ने प्रश्न उठिरहेको समयमा नाइमाले आफ्नो औचित्य पुष्टि गरिसकेको प्रतिक्रिया दिएका हुन् । एक्स्पो उद्घाटन कार्यक्रममै नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल मुलुकको महत्वपूर्ण क्षेत्र रहेकाले यसलाई प्रोत्साहन गर्नका लागि सकेसम्मको व्यवस्थित र आकर्षित अटो शो आयोजना भएको बताइन् ।
नाइमाले पाँचै दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल छलफल राखेको छ भने दुई पांग्रे र चार पांग्रे सवारीसाधनलाई अलगअलग छुट्याएर व्यवस्थित बनाउने प्रयत्न गरेको छ । नाइमामा कम्पोनेन्टरको सहभागिता नरहेकाले मोटरसाइकल र गाडीको मात्रै प्रदर्शनी देख्न सकिन्छ । समग्रमा विगतको अटो शोको तुलनामा व्यवस्थापनका हिसाबमा नाइमाले एक स्तरमा सुधार गरेको देखिन्छ ।

नाइमा एक्स्पो सुरु हुँदै गर्दा नाडा पनि आफ्नो अटो एक्स्पोको तयारीमा जुटिरहेको छ । नाइमा एक्स्पोको पूर्व सन्ध्यामा अर्थात् मंगलबार नाडाले पत्रकार सम्मेलन गरेको थियो । जसमा वास्ताविक अटो शो कस्तो हुन्छ? भन्ने विषय यसपटक देखाउने प्रतिक्रिया नाडा अध्यक्ष करण चौधरीले दिएका थिए । पछिल्लो केही समय यता नाडाले आफ्नो अटो शो हालसम्मकै उत्कृष्ट हुने धारणा राख्दै आएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नाडा अध्यक्ष चौधरीले भनेका थिए, ‘यस वर्षको नाडा अटो शो प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुनेछ । यसमा युनिट्री रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक), दीपल ईभीटिओएल यूएभी (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक) देख्न पाइनेछ ।’
उनले नाडा के हो र अटो शो कस्तो हुन्छ भन्ने कुरा यस वर्ष प्रमाणित गरेर देखाउन धारणा व्यक्त गरेका थिए । यस, हिसाबमा नाडा अटो एक्स्पो पनि भव्य बनाउने प्रयत्नमा व्यवसायी लागिरहेको देखिन्छ । नाइमाले जस्तै नाडाले पनि हरेक दिन विभिन्न अन्तरक्रिया तथा प्यानल डिस्कसनका कार्यक्रम राख्ने घोषणा गर्दै आएको छ ।

उत्साहजनक उपस्थिति
अटो व्यवसायी दुई भागमा विभाजन भएर एक साताकै अन्तरालमा दुई अटो शो हुँदा उपस्थिति र माहोल पहिलाको जस्तो कायम नहुने हो कि भन्ने विषय उठ्दै आएको थियो । यद्यपि, पहिलो दिनको उपस्थिति हेर्दा नाइमा एक्स्पोमा खासगरी पछिल्लो युवा पुस्ताले बढी मात्रामा भ्रमणमा गएको देखिन्छ । एक्स्पोमा लन्च भएका नयाँ कार र बाइक तथा स्कुटरमा मानिस बढी झुम्मिएका छन् ।
दर्शकको उत्साहजनक उपस्थितिलाई साथ दिन अटो व्यवसायीले पनि सोही किसिमको अफर तथा छुट सुविधा प्रदान गरिरहेको देखिन्छ । नाइमा अटो एक्स्पोमा प्रोटोन इमास–७ गाडीले ३ लाखसम्मको छुट घोषणा गरेको छ । कम्पनीले नाइमा एक्स्पोमा गाडी बुकिङ गर्नेहरुका लागि ३ लखसम्मको छुट तथा निशुल्क अटो प्लस बिमाको सेवा दिएको छ ।
नाइमा एक्स्पोभरी मिफा सेभेन बुक गर्ने ग्राहकलाई १० लाख रुपैयाँ र इटेरोन नाइन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँसम्मको नगद छुट दिने घोषणा गरिएको छ । नेपालका लागि ओमोडा–जेकोको आधिकारीक वितरक एपीजी अटोमोबाइलले एक्स्पोमा जइको जेफाइभ खरिद गर्नेलाई ४ लाख रुपैयाँसम्मको छुट दिएको छ । ६० लाख ९९ हजार रुपैयाँ मूल्य रहेका जेइको जेफाइभ गाडी एक्स्पो अवधिभर ५६ लाख ९९ हजारमा उपलब्ध हुनेछ ।
अर्कोतर्फ, चिनियाँ ईभी डोङफेङको फोरथिङ खरिदमा पनि २ लाख रुपैयाँसम्मको छुट सुविधा प्रदान गरिएको छ । नेपालका लागि फोरथिङको आधिकारीक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा एक्स्पोका लागि उक्त छुट सुविधा प्रदान गरेको हो । ५० लाख ९६ हजार रुपैयाँ तोकिएको यस गाडी एक्स्पो अवधिभर ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

एक्स्पोमा निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले २० लाख रुपैयाँ छुट दिएको छ । ६४ लाख ९९ हजार रुपैयाँ मूल्यको लिफ गाडीलाई ४४ लाख ९९ हजार रुपैयाँमै दिइरहेको छ । नेपालमा केई गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले ४८ लाख ९६ हजार मूल्यको एक्सथ्री प्रोलाई इभीको ३९ लाख ९६ हजारमा दिइरहेको छ ।
कम्पनीले अफरअन्तर्गत केई एक्सथ्री प्रो इभी फ्ल्यागसिप टप भेरियन्टलाई यसको सुरुआती मूल्य ४८.९६ लाख रुपैयाँबाट घटाएर ३९.९६ लाख रुपैयाँमा उपलब्ध गराएको छ । साथै, ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ र स्पेयर पार्टसका साथै टायर पनि पाउने छन्।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल पनि अफर योजना सुरु गरेरै छुट दिएको छ । जसमा कम्पनीले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुट दिएको छ ।
जिकरको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले एक्स्पो अवधिका लागि १५ लाख रुपैयाँ छुट दिएको छ । ८४ लाख ९९ हजार मूल्य रहेको जिकर एक्सको प्रदर्शनी अवधिभरका लागि ६९ लाख ९९ हजारमा बुकिङ गर्न सकिन्छ ।
एक्स्पोमा म्याक्ससको मिफा–७, आमेडा जइको फाइभ, फोथ्रिङ फ्राइडे, महिन्द्राको बीई–६ र एक्सईभी–९ई, बीवाईडीको सिगल, लगायत नयाँ चार प्रांग्रे गाडी लन्च गरिएको छ । अटो व्यवसायीले यसअघि नै उपस्थिति गाडीमा पनि विभिन्न छुट तथा अफर दिएर गाडी बिक्रीमा राखेका छन् । नाइमा एक्स्पो बुधबारदेखि साउन २५ गतेसम्म चल्नेछ भने भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना हुनेछ ।
अटो शो सम्बन्धी विशेष सामग्रीहरु पढ्न यहाँ क्लिक गर्नुहोस्







प्रतिक्रिया