सिटी कारको उपस्थिति बाक्लिँदै, नयाँ ब्रान्डको आगमनले रोचक बन्दै प्रतिस्पर्धा

490
Shares

काठमाडौं । पछिल्लो केही वर्ष यता सिटी कारबीचको प्रतिस्पर्धा तीव्र मात्रामा बढेको छ । सस्तो मूल्य, सहज पार्किङ र सञ्चालन खर्च कम भएकाले यसतर्फ मानिसको आकर्षण बढ्दो छ । ट्राफिक चाप र इन्धन खपत लगायतलाई मध्येनजर गरेर पनि ह्याचब्याग/सिटी कारप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको देखिन्छ ।

अटोमोबाइल कम्पनीहरूले पनि ग्राहकको यहि आकर्षणलाई मध्येनजर गर्दै नयाँनयाँ ब्रान्ड र मोडल भित्र्याउनेक्रम बढाएका छन् । झन्, पछिल्लो एक/दुई वर्ष यता त नेपाली बजारमा यस्ता साना गाडीहरूको प्रतिस्पर्धा चर्किएर गएको छ । एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डिरेक्टर शम सापकोटा पछिल्लो केही वर्ष यता सिटी कारबीचको प्रतिस्पर्धा बढेर गएको बताउँछन् ।

‘सुरुसुरुमा नेपालमा साना ह्याचब्याग/सिटी कारलाई चासोका साथ हेरिँदैन थियो । तर, अहिले सिटी कारको प्रतिस्पर्धा पनि बढेर गएको छ,’ सापकोटा भन्टन्, ‘करिब एक वर्ष अगाडिदेखि नेपाली बजारमा सिटी गाडीहरु बढी मात्रामा ल्याउन र नयाँ ब्रान्ड भित्रिन सुरु गरेका हुन् ।’ उनले अहिले पनि नाडा र नाइमामा आधा दर्जन भन्दा बढी ब्रान्डले नयाँ सिटी कार लन्च गर्ने बताए ।

खासगरी, नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीको विस्तारसँगै सिटी कार र ह्याचब्याकतर्फको आकर्षण उल्लेख्यरूपमा बढेको छ । केही ब्रान्डले सिटी कार र ह्याचब्याक गाडी मात्रै बिक्री गरिरहेका छन् भने केही ब्रान्डले अन्य गाडीसँगै यस्ता गाडी पनि बिक्री गरिरहेका छन् । बजारमा नयाँ–नयाँ ब्रान्डका सिटी कार भित्रिनेक्रम पनि जारी छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले यहिसाउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । अर्कोतर्फ, नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)ले भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमै ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ जसमा पनि सिटी कारको उपस्थिति देख्न सकिन्छ ।

एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाही पछिल्लो वर्षहरुमा सिटी कारको उपस्थिति बाक्लिँदै गएको बताउँछन् । ‘केही समय अगाडि सिटी कारमा मानिसको आकर्षण थिएन भने बिक्रीकर्ता पनि सीमित थिए,’ शाही भन्छन्, ‘तर, हाल भने यी गाडीका प्रतिस्पर्धी पनि बजारमा पर्याप्त मात्रामा आइसकेका छन् ।’ उनले मूल्य र सहजताका हिसाबमा यस्ता गाडीतर्फ ग्राहकको आकर्षण बढ्दै जाँदा बिक्री गर्ने ब्रान्ड पनि बढेको बताए ।

यस वर्षको नाडा तथा नाइमा अटो शोमा बीवाईडीको सिगल, एसक्युब इन्टरप्राइजेजले भित्र्याएको हेनरी भोल्ट्स, जिङपेङको लिङबक्स, रेनोको रेनो क्वीड ईभी, कियाको साइरोक्स, डिपलको लुमिन लगायत ह्याचब्याक र सिटी कार लन्च हुने देखिन्छ । अहिले, केई, बिएडब्लु, सेरेस, रेनल्ट, जिङपेङ, हेनरी लगायतले सिटी कार बिक्रीमा बढी मात्रामा प्राथमिकता दिँदै आएका छन् ।

यी हुन् यसअघि नै उपलब्ध र दुई अटो शोमा लन्च हुने सिटी कार
हेनरी भोल्ट्स
नेपालका लागि हेनरी भोल्ट्स इलेक्ट्रिक सीटी कारको आधिकारीक वितरक एसक्युब इन्टरप्राइजेजले अपग्रेटेड भर्नसनमा मोडल सी–प्रो सार्वजनिक गर्दैछ । कम्पनीले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा मोडल सी–प्रो लन्च गर्नेछ ।

कम्पनीले हालसम्म २०० किलोमिटर रेन्ज दिने र फास्ट चार्जिङको फिचर नभएको गाडी बिक्री गर्दै आएको थियो । तर, अटो शोमा फास्ट चार्जिङ प्रणाली र ३०० किलोमिटरसम्मको रेन्ज दिने लन्च हुने छ । हाल बिक्री भइरहेका गाडीको मूल्य १९ लाख ९५ हजार रुपैयाँ छ भने अब आउनेको मूल्य २२ लाख ९५ हजार रुपैयाँ हुनेछ ।

मोडल सी–प्रो मोटर पावर ३४ किलोवाटबाट बढाएर ३५ किलोवाट पु¥याइएको भने टर्क १०२ एनएमबाट ११० एनएममा वृद्धि गरिएको उनले जानकारी दिए । सापकोटाका अनुसार मोडेल एचमा केवल ३.३ किलोवाटको एसी चार्जिङ मात्र उपलब्ध थियो । तर, मोडेल सी प्रो मा ३० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ४० मिनेट भन्दा कममा ८० प्रतिशत चार्ज गर्नसक्छ ।

बीवाईडी सिगल
चिनियाँ विद्युतीय ब्रान्ड बीवाईडीको सिगल नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुँदै छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सिगल सार्वजनिक गर्न लागेको हो । यो गाडी ३०.०८ किलोवाट र ३८.८८ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध भने डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडित छ ।

सिगलको इन्टेरियरमा ५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.१ इन्चको रोटेवल इन्फोटेन्टमेन्ट सिस्टम, ओटीए अपडेट, चार स्पीकर, भ्वाइस इन्ट्रिगेसन, किलेस इन्ट्री जस्ता फिचर छन् । यो गाडी बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित छ । यो गाडी ३० देखि ३५ लाखबीचको मूल्यमा सार्वजनिक हुनेछ ।

टियागो ईभी
नाडा अटो शो २०२३ मा टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार टियागो ईभी नेपाली बजारमा सार्वजनिक भएको थियो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय ह्याचब्याक कार टियागो ईभी सार्वजनिक गरेको थियो जुन भारतीय बजारमा २०२२ को सेप्टेम्बरमा लन्च गरिएको थियो । सिप्रदीले टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ । त्यस्तै टियागो ईभी हाइइन्डको मूल्य भने २७ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ । सिप्रदीले १९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभी ल्याएको थियो । १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दिन्छ । ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ ।

१० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ । १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ । ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ । सार्वजनिक हुँदा यस गाडीतर्फ धेरैको आकर्षण बढेको थियो ।

सेरेस मिनी ईभी
सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले नाडा अटो शो–२०२३ मा सेरेस मिनी ईभी सार्वजनिक गरेको थियो । नाडा अटो शो–२०२३ मा सार्वजनिक गरिएको यो गाडी धेरैले रुचाइएको गाडी मध्येमा परेको थियो । कम्पनीले यसको सर्ट रेन्ज भेरिएन्टमा १३ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ भने यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सार्वजनिक गर्द यो गाडी तीन भेरिएन्टमा उपलब्ध गराइएको थियो जसमा सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो । १६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

एमजीको कोमेट ईभी
एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट माटर्सले गत २०८० भदौमा कोमेट ईभी नेपालमा सार्वजनिक गरेको थियो । कम्पनीेले कोमेट इभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर उक्त गाडी सार्वजनिक गरेको थियो । दुई भेरियन्टमा सार्वजनिक भएको कोमेट ईभीको टप भेरियन्टको मूल्य भने २० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरिएको थियो । यस गाडीको दुवै भेरियन्टमा कोमेटमा ३१.२६ किलोवाट आवरको मोटर प्रयोग गरिएको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ । यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ । एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन् । सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन् ।

वुलिङ मिनी ईभी
नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्सले २०७९ मा वुलिङ मिनी ईभी सार्वजनिक गरेको थियो । कम्पनीले नेपाली बजारमा २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा उक्त गाडी सार्वजनिक गरेको थियो । अहिले भने यो गाडी २० लाख ९९ हजारमा बिक्री हुँदै आएको छ ।

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध गराइएको हो । यसमा उपलब्ध गराइएको व्याट्रीलाई ४ घण्टमा फुल चार्ज गर्न सकिन्छ भने उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि दिएको छ ।

बिएडब्लु ब्रम्बी
नेपाली बजारमा बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन ब्रम्बी ह्याचव्याक पनि उपलब्ध छ । एलआरआर ग्रुपले नेपाल भित्र्याएको यस गाडीको मूल्य २१ लाख ९० हजार मूल्य निर्धारण गरेर सार्वजनिक गरिएको थियो । चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने बताइएको छ ।

बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ । यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।

केई क्युट–०२
नेपाली बजारमा केई ब्रान्डको क्युट ०२ गाडी गत वर्षको नाडा अटो शो मार्फत नेपालमा प्रवेश गरेको मिनी कार हो । केई ब्रान्डको क्युट ०२ नेपालमा लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटिले ल्याएको गाडी हो जुन दुई भेरियन्टमा सार्वजनिक गरिएको थियो । १९ लाख ९६ हजार र २२ लाख ९६ हजार मूल्य निर्धारण गरेर सार्वजनिक गरिएको यस गाडीमा १७.६९ किलोवाट आवर र २८ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ ।

यसमा ४० किलोवाट आवरको मोटर जडान गरिएको छ । केई क्युट ०२ ले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिन्छ भने यसको ग्राउन्ड क्लियरेन्स १६५ छ । यस गाडीको लम्बारई ३३४५ एमएम, चौडाइ १६८५ एमएम, उचाइ १६०५ एमएम छ । गाडीको इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट लगायत फिचर छन् ।

नामी ईभी
गत वर्षको नाडा अटो शोमा डोङफेङ मोटर्सद्वारा उत्पादीत नामी सार्वजनिक भएको थियो । अटो शोमा ई–१ बाहेक दुई भेरिएन्ट सार्वजनिक भएको थियो । अटो शोका बेला नामीले मोडेल ई–१ ई–२ र ई–३ नेपाल ल्याएको थियो भने ई– १ ल्याउनेक्रमै थियो । ई–१ र ई–२ मा ब्याट्री अप्सन ३१.४ किलोवाट छ भने ई–३ मा ४२.३ किलोवाट आवरको ब्याट्री अप्सन छ । नामी ई–१ को २९ लाख ९९ हजार, ई–२ को ३१ लाख ९९ हजार र ई–३ को ३४ लाख ९९ हजार मूल्य तोकेर सार्वजनिक गरिएको थियो ।

यस गाडीमा ७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्सको साथमा लिथियम आइरन फस्फेट ब्याट्री प्याकसँग पिक पावर ७० किलोवाटको इलेक्ट्रिक मोटर छ । ई–१ र ई–२ मोडेल ३ सय ३० किलोमिटर र ई–३ मोडेलको नामीले ४ सय ३० किलोमिटरसम्म रेन्ज दिन्छ । डिसी फास्ट चार्जर प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो गाडीको अगाडि दुइटा मात्रै एयरब्याग छ । नामीको गाडीमा १७ इन्चको ह्विल, फ्लस ह्यान्डल बार, फ्रेमलेस डोर, डुअल टोन बडी कलर भएको यो नामीमा लक्जरी क्याबिन समेत छ ।