
काठमाडौं । काठमाडौंको भकृटिमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई लिएर व्यवसायीहरु उत्साहित देखिन्छन् । नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)बाट छुट्टिएपछि पहिलो पटक आयोजना भएको नाइमा एक्स्पो सफल र भव्य बनाउनुपर्ने दबाबमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) माथि छ ।
आफ्नो शोलाई भव्य देखाउनका लागि नाइमाले विभिन्न क्षेत्रका मानिसलाई समेत लगिरहेको छ । बुधबारबाट सुरु भएको एक्स्पो हालसम्म आईपुग्दा जुन किसिमले अवलोकनर्ताहरु पुगिरहेका छन् त्यसलाई देखेर नाइमातर्फका अटो व्यवसायी उत्साहित देखिन्छन् । अझ, शनिबार सार्वजनिक बिदा र आइतबार पनि सार्वजनिक बिदा परेका कारण लगातारको दुई दिनको विदाले एक्स्पोमा थप उत्साह थप्ने आँकलन व्यवसायीहरुले गरिरहेका छन् ।
नाइमा एक्स्पोमा पुगेर कुराकानी गर्दा अटो व्यवसायी आकाश गोल्छाले क्लिकमान्डुसँग भने, ‘यो एक्स्पो मैले या एउटा समूहले मात्रै चाहेर भएको होइन । यस्तो किसिमको अटो शो धेरैले वर्षौंदेखि चाहेको थियो भन्ने कुरा यहाँको उपस्थिति र रौनकताबाट देख्न सकिन्छ । अहिले जुन किसिमले मानिसहरु आएका छन् यसले हामीलाई थप उत्साहित बनाएको छ ।’

उनले अटो एक्स्पोको व्यवस्थापन, मानिसको उपस्थिति लगायत हरेक विषयमा अनुमान गरेभन्दा बढी सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । उनले वर्षौंदेखि यसअघिका एक्स्पोमा सहभागि नभएका व्यवसायी सहभागि बनेर खुशी व्यक्त गरिरहेको समेत सुनाए । हरेक दिन मानिस आउनेक्रम बढ्दै गएको भन्दै उनले यसले समग्र एक्स्पो आयोजकलाई खुसीयाली दिलाएको सुनाए ।
नाइमाले एक्स्पोको पाँच दिनमा करिब ८० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरेको थियो । तर, पहिलो दिन नै १५ हजारले अवलोकन गरेको जानकारी दिएको नाइमाले दोस्रो दिन झन् धेरै मानिसले अवलोकन गरेको बताएको छ । तेस्रो दिनपनि नाइमामा एक्स्पोमा अवलोकनकर्ताको भिड छ भने भृकुटीकण्डप बाहिर पनि सडकमा जाम हुने स्थिति सिर्जना भएको छ ।
अझ, शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सो दिन झन् बढी मानिस आउने र पहिला अनुमान गरेभन्दा निकै बढी मानिसले एक्स्पो अवलोकन गर्ने तर्क व्यवसायीले गरेका छन् । नाइमा एक्स्पोको प्रदर्शनी स्थलमा अपेक्षा गरेभन्दा बढी मानिस आइरहेको प्रतिक्रिया दिइरहेको नाइमाले आफ्नो प्यानल डिस्कसन कार्यक्रममा भने विद्यालयका विद्यार्थीहरुलाई उपस्थित गराउँदै चलाइरहेको छ ।
नाडाका पूर्व अध्यक्षसमेत रहेका ध्रुव थापाले पनि नाइमा अटो शोप्रति देखिएको मानिसको आकर्षण उत्साहपूर्ण भएको बताउँछन् । ‘मानिस उत्साहित भएर उद्घाटनको दिनमा नै धेरै आईपुगेका थिए । तर, त्यसबाट हरेक दिन मानिस आउनेक्रम थप बढेर गएको छ,’ थापाले भने, ‘दिनहुँ मानिस आउनेक्रम बढेर गएको छ । सार्वजनिक विदामा थप बढेर जान्छ ।’ थापाले नाइमा एक्स्पोमा मानिसको उपस्थिति निकै बाक्लिएर गएको र हालसम्म उत्साहपूर्ण रहेको बताए ।
टोयोटाको ब्रान्ड स्टार्टेजिस्ट प्रशान्त खत्री पनि नाइमा एक्स्पो अपेक्षा गरेभन्दा एकदमै धेरै राम्रो बताउँछन् । ‘नाइमाले यति छोटो समयमा यो लेबलको एक्स्पो गर्छ भनेर धेरैले सोचेका थिएनन् । सबैले अपेक्षा गरेभन्दा धेरै राम्रो भइरहेको प्रतिक्रिया दिइरहेका छन्,’ खत्रीले भने, ‘स्टलहरु खुला र व्यवस्थापन राम्रो भएका कारणले गर्दा पनि मानिसहरुलाई सहज भएको छ ।’ उनले नाइमा एक्स्पो निकै प्रशंसनीय र भव्य भइरहेको बताए ।

नाइमा एक्स्पो चलिरहँदा नाडा अध्यक्ष करण चौधरीलेसमेत प्रदर्शनीस्थलको अवलोकन गरिसकेका छन् । सार्वजनिक मञ्जहरुमा नाडा अटो शो हालसम्मकै उत्कृष्ट र राम्रो हुने दाबी गर्दै आएका चौधरी नाइमा एक्स्पोको पनि अवलोकन गर्न भृकुटीमण्डप पुगेका हुन् ।
कस्तो छ सवारीसाधन बुकिङ अवस्था?
नाइमा एक्स्पोको तेस्रो दिनसम्म आईपुग्दा सवारीसाधन बुकिङ पनि सन्तोषजनक नै रहेको प्रतिक्रिया व्यवसायीहरु दिन्छन् । करिब ६ वर्षपछि नाइमा एक्स्पोमार्फत् अटो प्रदर्शनीमा फर्किएको लिओन मोटर्स बुुकिङ स्थिति सकारात्मक रहको बताउँछ । नेपालका लागि जापनिज अटो मेकर मित्सुबिसीको आधिकारीक वितरक लिओन मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शैशप श्रेष्ठ गाडी बुकिङ पनि राम्रै मात्रामा भइरहेको बताउँछन् ।
‘हामीले यति नै बुकिङ हुनुपर्छ भनेर टार्गेट राखेका थिएनौं । धेरै बुकिङ गर्नुपर्ने दबाब पनि छैन,’ श्रेष्ठ भन्छन्, ‘तर, पनि बुकिङ अवस्था राम्रो छ ।’ कुराकानीका क्रममा सीईओ श्रेष्ठले फराकिलो र व्यवस्थित स्टल बुकिङ रहेको बताउँदै धेरै मानिसको उपस्थिति रहेको र अन्य ब्रान्डको बुकिङ पनि सकारात्मक रहेको जानकारी आइरहेको बताए ।
एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डिरेक्टर शम सापकोटा पनि बुकिङ सन्तोषजनक रहेको बताउँछन् । ‘हालसम्म आईपुग्दा गाडी बुकिङ ठिकै मात्रामा भइरहेको छ,’ सापकोटाले भने, ‘अझै केही दिन बाँकी रहेकाले त्यतिबेलासम्म थप बुकिङ भएर जाने अपेक्षा हाम्रो छ ।’ उनले आफ्नो सिटी कार भएकाले न्यून मूल्यका गाडी खोज्नेहरुले राम्रै आकर्षण देखाइरहेको बताए ।

टोयोटाको ब्रान्ड स्टार्टेजिस्ट प्रशान्त खत्री पनि दुई पांग्रे तथा चार पांग्रे दुबै सवारीसाधनमा बुकिङ स्थिति राम्रो रहेको जानकारी दिए । ‘मैले अन्य ब्रान्डका मानिसहरुसँग धेरै कुराकानी गर्न पाएको छैन । तर, हालसम्मको स्थिति हेर्दा मानिसको उपस्थितिसँगै बुकिङ पनि ठिकै भइरहेको छ,’ खत्रीले भने, ‘टोयोटाकै विषयमा पनि बुझ्न उत्सुक भएर धेरै मानिसहरु आइरहेका छन् ।’
नाडाको पत्रकार सम्मेलनले नाइमाको प्रमोसन, उड्ने गाडी खोज्दै पुग्छन् अवलोकनकर्ता
नाइमा एक्स्पो बुधबारबाट आयोजना हुँदै थियो । अर्कोतर्फ भदौ ३ गतेबाट अटो शो गर्न लागेको नाडाले भने मंगलबार पत्रकारसम्मेलन आयोजना गर्यो । नाडा अटो शोको विषयमा आयोजित पत्रकार सम्मेलनमा नाडाले उड्ने कारदेखि प्रविधिको नविन संयोजना शो देख्न पाइने बतायो । यो पटकको अटो शो हालसम्मकै उत्कृष्ट हुने दाबी नाडाले गरेको थियो ।
तर, नाइमा अटो शो सुरु हुनुभन्दा एक दिन अगाडि गरिएको नाडाले गरेको पत्रकार सम्मेलनले नाइमा एक्स्पोलाई थप प्रमोसन गरेको व्यवसायी बताउँछन् । ‘मानिसले नाइमा र नाडा बुझ्दैनन् । वर्षौंदेखि हुँदै आएको अटो शो मात्रै सम्झिन्छन्,’ एक व्यवसायीले भने, ‘अहिले उड्ने गाडी कहाँनेर छ? भनेर प्रश्न गर्दै मानिस आईपुगेका छन् ।’ उनले नाडा र नाइमा नछुट्याई अटो शो मात्रै बुझेकाले नाइमा एक्स्पोमा नै उड्ने गाडी खोजि गर्दै आउनेको संख्या पनि धेरै भएको बताए ।
यस्तै, नाइमा एक्स्पोको अघिल्लो दिन नाडाले गरेको पत्रकार सम्मेलनले मानिमा एक्स्पोको विषयमा थप प्रचारप्रसार भएको उनको भनाइ छ । जसले गर्दा पनि धेरै मानिस नाडातर्फको प्रमोसनका कारण पनि नाइमा एक्स्पोमा पुगेको छन् । नाडाले नियोजित रुपमा नाइमा एक्स्पोको अघिल्लो दिन पत्रकारसम्मेलन राखेको भएपनि त्यसले उल्टै नाइमालाई फाइदा पुराएको ती व्यवसायीको दाबी छ ।

नाडाले पत्रकार सम्मेलन गर्दै नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरू हुने र १ लाखभन्दा बढीले शोको अवलोकन गर्ने अनुमान रहेको जानकारी दिएको थियो । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने दाबी नाडाले गरेको छ ।
नाइमाले हालसम्म आईपुग्दा करिब एक लाख बढीले एक्स्पो अवलोकन गर्ने देखिएको बताएकाले नाडाले आफ्नो प्रदर्शनी थप भव्य बनाउन मिहिनेत गर्ने देखिन्छ । नाडा र नाइमा एक्स्पो कुन वृहद् र भव्य हुने भन्ने विषयमा एकअर्काबीच प्रतिस्पर्धा रहेकाले नाइमाले पनि आफ्नो एक्स्पो उत्कृष्ट बनाउन लागि पर्ने बताउँदै आएको छ ।







प्रतिक्रिया