
आधुनिक युग विज्ञान र प्रविधिको युग हो । आजको २१औं शताब्दीमा हामीले बाँचिरहेको संसारलाई ‘डिजिटल संसार’ भन्न सकिन्छ । इन्टरनेट, कम्प्युटर र मोबाइल फोनको विकासले हाम्रो दैनिक जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । भौगोलिक दुरी अब कुनै बाधा बनेको छैन, संसारको जुनसुकै कुनामा रहेका मानिसहरूसँग पनि भिडियो कल वा सन्देशमार्फत कुराकानी गर्न सकिन्छ ।
डिजिटल संसारले शिक्षा र रोजगारको क्षेत्रमा ठुलो क्रान्ति ल्याएको छ । त्यसैगरी, नेपाल जस्तो विकासोन्मुख देशमा डिजिटल अर्थतन्त्र र ई–कमर्सको महत्व दिनानुदिन बढ्दै गएको छ । युवा पुस्ताले घरमै बसेर फ्रिलान्सिङ, डिजिटल मार्केटिङ र अनलाइन व्यवसाय गरेर स्वरोजगार बन्ने राम्रा अवसरहरू पाएका छन् ।
डिजिटल संसारका फाइदाहरू भए तापनि यसका केही गम्भीर चुनौतीहरू पनि छन् । साइबर अपराध, अनलाइन ठगी र गलत जानकारी (फेक न्युज) को फैलावट यसका प्रमुख नकारात्मक पक्षहरू हुन् ।
डिजिटल संसार आवश्यकता हो, यसले हामीलाई जोडेको छ र जीवनलाई सहज पनि बनाएको छ तर यसको प्रयोग गर्दा हामी सचेत र जिम्मेवार बन्नु उत्तिकै जरुरी छ । प्रविधिको उचित प्रयोग गरेर हामी आफ्नो व्यक्तिगत विकास र देशको आर्थिक–सामाजिक विकासमा ठुलो योगदान पुर्याउन सक्छौं ।
सञ्चार र दैनिक जीवनमा पनि आजको डिजिटल संसारले ठुलो फड्को मारेको छ । पहिला चिठीपत्र आदान–प्रदान गर्न हप्तौं कुर्नुपर्ने बाध्यता थियो भने आज इमेल र सामाजिक सञ्जालको माध्यमबाट एक सेकेन्डभन्दा कम समयमा सन्देश आदान–प्रदान गर्न सकिन्छ ।
डिजिटल भुक्तानी प्रणाली जस्तै: मोबाइल बैंकिङ, विभिन्न वालेट एपको प्रयोगले नगद पैसा बोकेर हिँड्ने झन्झट हटाइदिएको छ, जसले कारोबारलाई ज्वलन्त रूपमा छिटो र पारदर्शी समेत बनाइदिएको छ ।
साइकोग्राफिक प्रोफाइलिङलाई नेपाली भाषामा मनोवैज्ञानिक विश्लेषण भनिन्छ र यसले मानिसको मनोवैज्ञानिक रूपरेखा तयार गर्ने काम गर्छ । यो सामान्यतः मानिसको व्यक्तित्व, गुण, स्वभाव, विश्वास, मूल्य र मान्यता, जीवनशैली र रुचिको आधारमा मानवीय सोच एवम् अभिरुचि अध्ययन गरिने एक विशिष्ट प्रक्रिया हो ।
यसले मानिस को हुन् भन्दा पनि उनीहरूले किन यस्तो व्यवहार वा निर्णय लिन्छन् भन्ने कुरा बुझ्न यो पद्धति अपनाइन्छ । वस्तु तथा सेवाको विज्ञापन (मार्केटिङ) र अनुसन्धानमा यस्ता किसिमको विश्लेषणको प्रयोग धेरै हुन्छ ।
उपभोक्ताको मनोभाव बुझेर उनीहरूलाई उपयुक्त हुने उत्पादन तथा सन्देशहरू प्रदान गर्न उत्पादक कम्पनीहरूले यस प्रविधि तथा उपकरणको प्रयोग गर्ने गर्छन् जसलाई वस्तु तथा सेवाको उत्पादन तथा वितरण लागत प्रभावकारी बनाउने एक औजारको रूपमा पनि लिन सकिन्छ ।
आजको युग डिजिटल युगसँगै व्यावसायिक युग पनि हो, नयाँ पुस्तामा स्वरोजगार बन्न स्टार्टअप सुरुवात गर्ने र रोजगारी सिर्जना गर्ने हुटहुटी पनि ज्यादै छ । यसरी युवा पुस्ताले व्यापार व्यवसायलाई मुख्य पेसाको रूपमा अङ्गीकार गर्ने र व्यवसायलाई मुख्य पेसागत रूपमा विस्तार एवम् प्रवर्द्धन गर्दै गएमा यस्तो विश्लेषणको दायरा फराकिलो हुँदै जाने सम्भावना पनि देखिन्छ ।
यस विश्लेषणमा मुख्य मानकको रूपमा मानिसको व्यक्तित्व, जीवनशैली, मूल्य, मान्यता र रुचिका आधारमा सम्भाव्य उपभोक्ताको स्वभाव कस्तो प्रकृतिको छ भनेर विश्लेषण गर्ने गरिन्छ । जसमा जीवनशैली अन्तर्गत उनीहरू आफ्नो दैनिक जीवन कसरी बिताउँछन् र के–के कुरामा खर्च गर्ने अभिरुचि व्यक्त गर्छन् भनी विश्लेषण गरिन्छ भने अर्को शीर्षक मूल्य, मान्यता र विश्वास अन्तर्गत उनीहरूको जीवनप्रतिको दृष्टिकोण, धर्म, नैतिकता, रीतिरिवाज, स्थानीय चलन, परिवेश समावेश हुन्छ। यसैगरी मानवीय रुचि अन्तर्गत उनीहरूलाई खाली समयमा के गर्न मनपर्छ जस्तै: खेलकुद, सङ्गीत, मनोरञ्जन, भ्रमण आदिलाई आधार मानेर मानिसको मनोवैज्ञानिक विश्लेषण गरिन्छ ।
यसैगरी, दृष्टिकोणमा विभिन्न विषय, ब्रान्ड वा उत्पादनप्रति उनीहरूको विचार कस्तो छ भन्ने तवरबाट उपभोक्ताको मनोभावना बुझेर भित्री सोच र मानसिकताको गहन अध्ययन गर्ने गरिन्छ र सो पश्चात् प्राप्त अन्तिम सूचकाङ्कका आधारमा निश्चित प्रकृतिका वस्तु तथा सेवा निश्चित परिमाणमा उत्पादन गरी सूचनाले निर्देश गरे बमोजिम लक्षित समूहमा कारोबार वा वितरणका लागि पठाइन्छ, जसले ग्राहकसँग उत्पादक वा सेवा प्रदायकले बलियो भावनात्मक सम्बन्ध बनाउन सक्छ भने ग्राहकको वास्तविक क्षमता र आवश्यकता अनुसार वस्तु तथा सेवाको परिमाण उत्पादन गर्दा व्यवसायलाई लागत प्रभावकारी समेत हुन जाने देखिन्छ।
साइकोग्राफिक प्रोफाइलिङ आधुनिक डिजिटल युगको एक शक्तिशाली औजार हो र यसले मानव व्यवहार र बजारको सम्बन्धलाई सटिक ढङ्गले व्याख्या गर्छ
मनोवैज्ञानिक विश्लेषणको प्रक्रिया अन्तर्गत अर्को विषय हो सम्भावित उपभोक्ताको पहिचान गर्न सूचना संकलन गर्नु, जसमा आधुनिक डिजिटल युगमा अनुसन्धानकर्ताले सामान्यतया आँकडा संकलन गर्न विभिन्न माध्यम प्रयोग गर्न सक्छन् जस्तै : १. अनलाइन सर्वेक्षण, २. सामाजिक सञ्जालमार्फत विश्लेषण, ३. वेबसाइट वा एप आदि । अनलाइन सर्वेक्षणमार्फत प्रक्रिया गर्दा ग्राहकलाई उनीहरूको रुचि र प्राथमिकता सोधेर फाराम भर्न लगाइन्छ ।
सामाजिक सञ्जालमार्फत अध्ययन गर्दा मानिसहरूले सामाजिक सञ्जालमार्फत कस्तो–कस्तो विषयहरूमा आफ्ना अभिरुचि व्यक्त गरी पोस्ट र लाइक गर्छन् वा कस्ता समूहमा आबद्धता जनाउँछन् भनी हेरिन्छ भने वेबसाइट र एपको सहायताबाट विश्लेषण अनुसन्धान गर्दा उपभोक्ताले अनलाइनमा कुन ब्रान्ड वा सामग्री बढी समयसम्म हेरिरहेका छन् भनी ट्रयाक गर्ने गरिन्छ र सोही अनुसार सम्भावित परिणाम पहिचान गरिन्छ ।
साइकोग्राफिक प्रोफाइलिङ आधुनिक डिजिटल युगको एक शक्तिशाली औजार हो र यसले मानव व्यवहार र बजारको सम्बन्धलाई सटिक ढङ्गले व्याख्या गर्छ, केवल बाहिरी तथ्याङ्कमा मात्र सीमित नरहेर मानवीय भावना र विचारलाई कदर गर्दै व्यवसाय वा अनुसन्धान अघि बढाउँदा यसले गुणात्मक सफलता दिलाउन सक्ने सम्भावना देखिन्छ जसमा डाटा सुरक्षा र तोकिएका कानुनी एवम् नैतिक मापदण्डलाई ध्यानमा राखेर यसको सही सदुपयोग गर्नु नै आजको आवश्यकता हो ।
यसैगरी वस्तु तथा सेवा आपूर्तिकर्ता एवम् उद्योग व्यवसायलाई साइकोग्राफिक प्रोफाइलिङको आवश्यकता किन पर्छ भन्ने विषय उठ्न सक्छ जसमा व्यवसाय तथा उत्पादनकर्तालाई ग्राहकको पहिचान, उचित एवम् पर्याप्त उत्पादन परिमाण, लागत प्रभाव, बजारको आकार, बजार गन्तव्य, ग्राहकको क्रय–क्षमता, ग्राहकको संख्या लगायतका विषयमा प्राय: करिब आवश्यक निर्णय लिन सहज बनाउँछ ।
सैद्धान्तिक रूपमा साइकोग्राफिक प्रोफाइलिङको आवश्यकता किन पर्छ भन्ने विषयमा बुँदागत रूपमा निम्नानुसार संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ ।
१. वास्तविक मनसाय तथा चाहना बुझ्न:
मानिसहरूले कुनै वस्तु तथा सेवा खरिद गर्दा त्यसको पछाडि उनीहरूको मनोविज्ञान लुकेको हुन्छ । कुनै व्यक्तिले निश्चित किसिमको वस्तु तथा सेवा सो को प्रयोगको अलावा सामाजिक प्रतिष्ठाको लागि पनि खरिद गर्ने मनसाय राख्न सक्छ । यसबाट उनीहरूको भित्री उत्प्रेरणा बुझ्न मद्दत पुग्छ ।
२. प्रभावकारी र लक्षित सञ्चार :
जब व्यवसायीहरूले आफ्ना ग्राहकहरूको भावना, विश्वास र विचारहरू बुझ्छन् तब उनीहरूले सोही अनुसारको भावनात्मक विज्ञापन र सन्देशहरू तयार पार्न सक्छन्, यसले ग्राहकलाई वस्तुको ब्रान्ड नजिकैको स्नेही मित्र जस्तो लाग्न सक्छ र विज्ञापन एवम् प्रवर्द्धनले यसमा राम्रो प्रभाव पार्न सक्छ ।
३. उत्पादन विकास र नवप्रवर्तन :
उपभोक्ताको रुचि र जीवनशैलीको अध्ययन गरेर कम्पनीहरूले उनीहरूको दैनिक जीवनमा सहजता ल्याउने उत्पादन बनाउन र कारोबार गर्न सक्छन् ।
४. ब्रान्डप्रति झुकाव :
जुन ब्रान्डले ग्राहकको मूल्य मान्यता र सोचलाई सम्मान गर्छ त्यहाँ ग्राहकको वफादारी अवश्य नै बढ्न सक्छ, यसरी ग्राहकहरू ब्रान्डसँग लामो समयसम्म जोडिन र रुचाउन सक्छन् ।
५. बजारमा विशिष्ट स्थान :
बजारमा आफ्नो ब्रान्डलाई अरूभन्दा फरक देखाउन र सही ढङ्गले स्थापित गराउन पनि यो विधि नभई नहुने एक विशिष्ट औजार हो ।
नयाँ स्टार्टअपमा साइकोग्राफिक प्रोफाइलिङ
नयाँ स्टार्टअपहरूले नवप्रवर्तन र लक्षित बजार पहिचानको लागि साइकोग्राफिक प्रोफाइलिङको प्रयोग गर्न सक्छन् र यो वर्तमान डिजिटल युगमा अत्यन्तै प्रभावकारी उपकरण मानिन्छ । वर्तमान समयमा व्यापारिक प्रतिस्पर्धा अत्यन्तै तीव्र छ यस्तो अवस्थामा नयाँ स्टार्टअप स्थापना हुनु र बजारमा टिकिरहनु आफैँमा ठुलो चुनौती हो ।
परम्परागत रूपमा बजारको वर्गीकरण गर्दा उपभोक्ताको उमेर, लिङ्ग, ठेगाना वा आम्दानी जस्ता जनसाङ्ख्यिकीय तथ्याङ्कलाई मात्र आधार मानिन्थ्यो तर आधुनिक युगमा यति मात्र पर्याप्त हुँदैन, उपभोक्ताको भित्री चाहना, मानसिकता र व्यवहार बुझ्न साइकोग्राफिक प्रोफाइलिङ एक शक्तिशाली माध्यमको रूपमा उदय भएको छ । नयाँ स्टार्टअपहरूले यस प्रविधि एवम् उपकरणको प्रयोग गरेर आफ्नो व्यवसायलाई सफल बनाउन सक्छन् ।
चुनौती र नैतिक पक्ष
साइकोग्राफिक प्रोफाइलिङका धेरै फाइदाहरू भए तापनि नयाँ स्टार्टअपहरूले यसको प्रयोग गर्दा केही सावधानीहरू अपनाउनुपर्छ । डाटा संकलन गर्दा ग्राहकको गोपनीयताको पूर्ण सम्मान गरिनुपर्छ । उपभोक्ताको अनुमतिबिना वा गलत तरिकाले उनीहरूको व्यक्तिगत मानसिक प्रवृत्ति प्रयोग गर्दा कानुनी झमेला आइलाग्न सक्छ । साथै, सुरुवाती चरणमा यस्तो मनोवैज्ञानिक तथ्याङ्क संकलन गर्नु महँगो र जटिल पनि हुन सक्छ ।
अन्तः नयाँ स्टार्टअपहरूले साइकोग्राफिक प्रोफाइलिङको प्रयोग गर्न मात्र सक्ने होइन बरु आजको डेटा सञ्चालित बजारमा यो एक आवश्यकता बनिसकेको छ । सही नियत, नैतिक सीमा र प्रविधिको उचित मिश्रण गरेर साइकोग्राफिक प्रोफाइलिङ अपनाएमा स्टार्टअपहरूले कम लागतमा बढी र दिगो सफलता हासिल गर्न सक्ने देखिन्छ । ग्राहकको मस्तिष्क मात्र होइन उनीहरूको मन तथा भावना बुझ्न सक्ने व्यवसाय नै भविष्यको सफल व्यवसाय बन्न सक्छ ।
स्टार्टअपमा साइकोग्राफिक प्रोफाइलिङको औचित्य :
आधुनिक बजारशास्त्र र रणनीतिक व्यवस्थापनमा उपभोक्ता व्यवहारको विश्लेषण एक केन्द्रीय स्तम्भ हो । परम्परागत रूपमा बजारलाई वर्गीकरण गर्न जनसाङ्ख्यिकीय र भौगोलिक चरहरूलाई प्राथमिक आधार मानिन्थ्यो तर वर्तमान डिजिटल अर्थतन्त्र र तीव्र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा यी सतही तथ्याङ्कहरू मात्र उपभोक्ताको क्रय निर्णय बुझ्न पर्याप्त देखिँदैनन् ।
यसै सन्दर्भमा, साइकोग्राफिक प्रोफाइलिङ एउटा परिष्कृत र तार्किक पद्धतिको रूपमा स्थापित भएको छ । नयाँ उद्यम वा स्टार्टअपहरू जोसँग साधन र स्रोत सीमित हुन्छन् उनीहरूको लागि बजार प्रवेश गर्न र दिगोपन हासिल गर्न यो प्रविधि एक रणनीतिक हतियार बन्न सक्छ ।
यसैगरी जनसाङ्ख्यिकीय तथ्यांकले मानिस को हो भन्ने कुरा बताउँछ भने मनोवैज्ञानिक तथ्यांकले मानिसले कुनै वस्तु तथा सेवा किन खरिद गर्छ भन्ने कुराको जवाफ दिन्छ, यसरी आधुनिक व्यावसायिक सफलताको लागि बजारको मनोवैज्ञानिक विभाजन अनिवार्य छ र यसले नवप्रवर्तित स्टार्टअप व्यवसायलाई आफ्नो स्रोत र साधनहरूको सही सदुपयोग गर्दै उपभोक्ताको हृदय जित्न सक्षम र सफल बनाउन सक्छ ।
स्टार्टअपमा साइकोग्राफिक प्रोफाइलिङको रणनीतिक प्रयोग
नयाँ स्टार्टअपहरू स्थापित रैथाने कम्पनीहरूसँग सोझै मूल्य वा पहुँच लगायतमा प्रतिस्पर्धा गर्न सक्दैनन् र साइकोग्राफिक प्रोफाइलिङले स्टार्टअपहरूलाई बजारभित्रको एउटा विशिष्ट मनोवैज्ञानिक समूह पहिचान गर्न सघाउँछ, जसले गर्दा नवप्रवर्तितलाई बजार प्रवेश एवम् बजारमा स्थापित हुने राम्रो अवसर हुन सक्छ ।
प्राज्ञिक र व्यावहारिक दुवै दृष्टिकोणबाट विश्लेषण गर्दा, नयाँ स्टार्टअपहरूका लागि साइकोग्राफिक प्रोफाइलिङको प्रयोग आधुनिक बजारमा स्थापित हुने एक अपरिहार्य रणनीतिक औजारको रूपमा लिन सकिन्छ । यसले व्यवसायलाई केवल उपभोक्ताको भौतिक उपस्थिति मात्र होइन, उनीहरूको मानसिक र व्यावहारिक प्रवृत्तिको गहिरो ज्ञान प्रदान गर्दछ
यसैगरी उपभोक्ताको जीवनशैली र विचारधारा बुझेपछि स्टार्टअपहरूले आफ्नो वस्तु वा सेवाको मूल्य प्रस्तावलाई सोही अनुसार ढाल्न सक्छन्, यसले उत्पादन बजारमा आउनुअगावै वस्तु बजार अनुरूप उचित हुने सम्भावना उच्च रहन्छ, जुन व्यापारिक दृष्टिकोणले हेर्दा बजार अनुकूलको निर्णय देखिन्छ र यसमा नवप्रवर्तितलाई बजारले प्रवर्द्धन र समर्थन गर्न सहयोग पुग्ने देखिन्छ।
प्राज्ञिक अनुसन्धानहरूले उपभोक्ताहरू तार्किकभन्दा बढी भावनात्मक रूपमा प्रेरित भएर निर्णय लिन्छन् भनी देखाउँछ, जब कुनै स्टार्टअपको सन्देश ग्राहकको व्यक्तिगत मूल्य, मान्यता र आदर्शसँग मेल खान्छ भने तब ब्रान्ड र उपभोक्ताबीच बलियो भावनात्मक सम्बन्ध निर्माण हुन्छ जसले दीर्घकालीन ग्राहक वफादारिता सुनिश्चित गर्दछ र स्टार्टअपको उत्पादकत्व बढाउन टेवा पुग्न सक्छ ।
यसैगरी साइकोग्राफिक आँकडा प्रयोग गरी डिजिटल माध्यमहरू जस्तै: सामाजिक सञ्जाल र एआई सञ्चालित विज्ञापन लगायत मार्फत अत्यन्तै सान्दर्भिक ग्राहकवर्गलाई मात्र लक्षित गरी वस्तु तथा सेवाको कारोबार गर्न सकिन्छ । यसले नयाँ व्यवसायको सीमित विज्ञापन लागतमा अधिकतम प्रतिफल प्राप्त गर्न सक्ने सुनिश्चितता देखिन्छ ।
प्राज्ञिक र व्यावहारिक दुवै दृष्टिकोणबाट विश्लेषण गर्दा, नयाँ स्टार्टअपहरूका लागि साइकोग्राफिक प्रोफाइलिङको प्रयोग आधुनिक बजारमा स्थापित हुने एक अपरिहार्य रणनीतिक औजारको रूपमा लिन सकिन्छ । यसले व्यवसायलाई केवल उपभोक्ताको भौतिक उपस्थिति मात्र होइन, उनीहरूको मानसिक र व्यावहारिक प्रवृत्तिको गहिरो ज्ञान प्रदान गर्दछ । यद्यपि, यसको सफलता स्टार्टअपले डाटा संकलनमा अपनाउने नैतिक सीमाभित्र रहेर गरिएको साइकोग्राफिक प्रोफाइलिङले स्टार्टअपहरूलाई अनिश्चित बजारमा मार्गनिर्देशन गर्ने एउटा भरपर्दो कम्पासको रूपमा कार्य गर्दछ ।
नेपालमा परम्परागत रूपमा उपभोक्ताको इच्छा, चाहना, माग आदिको अध्ययन विश्लेषण नगरी आम रूपमा एकै किसिमको विज्ञापन गर्ने चलन थियो तर आजकाल एकै उमेर समूहका उपभोक्ताका रुचिहरूमा समता नहुन सक्छ, साइकोग्राफिक प्रोफाइलिङले यी दुवैलाई फरक–फरक तरिकाले लक्षित गर्न मद्दत गर्छ । साथै यसले आधुनिक व्यापार र सञ्चारलाई मानिसको भावना र मनोविज्ञानसँग जोड्ने काम गर्छ र नेपालमा स्टार्टअप र कर्पोरेट क्षेत्रले डिजिटल बजारमा सफलता पाउनका लागि पनि डेमोग्राफिक्सका साथसाथै यो विधिलाई आत्मसात् गर्न थालेका छन् ।
(लेखमा प्रस्तुत बैंकर आत्रेयाका निजी विचार हुन् ।)









प्रतिक्रिया