
काठमाडौं । तीनवटा भ्रष्टाचार मुद्दामा हिरासतमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीमाथी थप ५ वटा मुद्दा लागेको छ । भक्तपुरमा होलिपोर्ट, पोखरामा विमानस्थल निर्माण र चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै अधिकारी हाल पूर्पक्षका लागि कारागारमा छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ को मंसिर १७ मा अधिकारीसहित ७ जनाविरुद् भक्तपुरमा हेलिप्याड बनाउँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गर्दै दायर भएको यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार २१ मंसिरमा विशेष अदालतमा दायर गरेको मुद्दामा अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले सबै प्रतिवादीबाट बढाइएको लागत अनुमान बराबरकै ८ अर्ब ३६ करोड रुपैयाँ विगो माग गरेको छ । यो मुद्दा पनि विशेषमै विचाराधीन छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अधिकारी सहितलाई तेस्रो भ्रष्टाचार मुद्दा गत वैशाख २४ मा अख्तियारले दायर गर्यो । यो विमानस्थल निर्माण गर्दा निर्माण कम्पनी चाइना सीएएमसीलाई सम्झौता विपरीत कर छुट दिएको भन्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनालाई साढे ३ अर्ब ६५ करोड रुपैयाँको विगो दाबी माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ भने यसको पनि छिनोफानो हुनै बाँकी छ ।
उनै अधिकारीले आफैंले गरेको भ्रष्टाचारजन्य कार्यबाट बञ्च संगठित अपराधसहितको गतिविधि गरेको भन्दै मंगलबार जिल्ला अदालत काठमाडौंमा चौथोपटक थप ५ वटा मुद्दामा सजायको माग गर्दै सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गरेको छ । अधिकारीविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठीत अपराधको कसुरमा मुद्दा दायर भएको हो ।
अधिकारीले आफूमाथि चलिरहेको पोखरा विमानस्थलसहितको भ्रष्टाचारको अनुसन्धान रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको हत्या योजना बनाएको प्रहरीको अध्ययनमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको ५ वट मुद्दासहित उनलाई जन्मकैदकोसमेत माग गरिएको छ ।
अधिकारीको निर्देशनमा धम्की दिने र भिडियो बनाउने मुख्य पात्रको भूमिका उनका सहयोगीको काम प्रकाश पाठकले गरेका छन् । फिलिपिन्समा रहेका उनै पाठक र हुन्डीमार्फत रकम व्यवस्थापन गर्ने सहयोगी झापाका तारा प्रसाद खरेलमार्फत संगठित संजाल निर्माण गरी ज्यान मार्ने धम्की, आपराधिक लाभ (एक्सटर्सन), हुन्डी कारोबार र विद्युतीय अपराध गरेको अभियोग पत्रमा उल्लेख छ ।
अभियोग पत्रका अनुसार अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल निर्माणमा भएको अर्बौंको भ्रष्टाचार लुकाउन र अख्तियारको अनुसन्धानलाई प्रभावित पार्न यस्तो षड्यन्त्र रचेको उल्लेख छ ।
उनले प्रकाश पाठकलाई ईजीएन नामक नक्कली भूमिगत संगठन खडा गर्न लगाएर अख्तियार प्रमुख आयुक्त राईलाई राजीनामा दिन दबाब दिएका थिए । १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्कीपूर्ण ईमेल र भिडियो अधिकारीकै संग्लग्नतामा पठाउन लगाएको पनि अभियोजन पत्रमा उल्लेख छ ।
यसका लागि अधिकारीले पाठकलाई २ करोड रुपैयाँ हुन्डीमार्फत पठाएको र काम सफल भएमा १० करोड रुपैयाँसम्म दिने आश्वासन दिएका थिए । अधिकारीले पठाएको रकमबाट पाठकले भने फिलिपिन्समा अपार्टमेन्ट किनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अधिकारीले आफूमाथिको भ्रष्टाचार मुद्दा रोक्न राजनीतिक लबिङ गर्नेदेखि आपराधिक संगठन खडा गरेर धम्काउनेदेखि भारतीय तान्त्रिकसमेत प्रयोग गरेको छानबिनमा खुलेको छ । अधिकारीले आफ्ना विरोधीलाई सकाउने मात्रै नभएर प्राधिकरणकै ६ जना उपमनिर्देशकरुलाईसमेत क्षति गराउन भारतीय तान्त्रिक प्रयोग गरेका छन् ।
उनले यस्तो आपराधिक षड्यन्त्रमा भारतीय तान्त्रिक जय जगदम्बे गुरु भनिने सरया किन्नरेरालाई प्रयोग गरेको पाइएको छ । ती तान्त्रिकलाई अधिकारीले अख्तियारका प्रमुख आयुक्त राईसहितका २ आयुक्तहरूलाई कमजोर बनाउन र आफ्नै कार्यालयका तत्कालीन पाँचै जना उपमहानिर्देशकलाईसमेत क्षति गराउन तान्त्रिकको सहयोग लिएको देखिन्छ ।
उनले ह्वाट्सएप संवादहरूमा फोटो पठाएरै (चाम्टा) शब्द प्रयोग गरेका छन् । तान्त्रिक विधिमार्फत कसैलाई हानि नोक्सानी पुऱ्याउने वा मन्त्र जपेर शक्तिहीन बनाउने उनले उक्त शब्द प्रयोग गरेको पनि देखिएको छ ।
अधिकारीसहित मुख्य फिलिपिन्सबाट सेटिङ मिलाउँछु भनेर पैसा लिने पाठक र अर्का सहयोगी झापाका ताराप्रसाद खरेल विरुद्धसमेत मुद्दा दायर भएको छ ।
अधिकारीमाथि पाँच कसुरमा हुने सजाय
अधिकारीसहितका उनीहरुलाई ज्यान मार्ने आपराधिक षड्यन्त्रमा मुलुकी अपराध संहिता २०७४ को दफा १७७ सँग सम्बन्धित दफा ३३ को उपदफा (१), (२) र (३) बमोजिम अधिकारीलाई सजाय माग गरिएको छ । उनलाई ज्यान मार्ने नियतले षड्यन्त्र गरेको प्रमाणित भएमा उनलाई जन्मकैदसम्मको सजाय हुन सक्छ ।
संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ६ को कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय माग गरिएको छ । संगठित अपराधको हकमा मूल अपराधमा हुने सजायमा ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । अधिकारीले योजनाकारको भूमिका निर्वाह गरेकोले उनलाई कडा सजायको मागदाबी छ ।
अधिकारीलाई राजनीतिक लाभको कसुरमा मुलुकी अपराध संहिताको दफा २५३ बमोजिम डर त्रास देखाई आपराधिक लाभ लिन खोजेकोमा दफा २५३ (३) (क) अनुसार ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।
उनलाइ हुन्डी कारोबार गरेकोमा समेत सजाँय गर्न माग गरिएको छ । उनलाई हुन्डीमार्फत रकम ओसारपसार गरेको कसुरमा मुलुकी अपराध संहिताको दफा १२५ (क) बमोजिम बिगो जफत गरी कैद र जरिवानाको माग गरिएको छ ।
उनलाई विद्युतीय कारोबार ऐनको कसुरसा पनि सजाय माग भएको छ । सामाजिक सञ्जाल र ईमेलमार्फत धम्की फैलाएकोमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्ष कैद र जरिवानाको माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरणमा पनि उनलाई सजाय माग भएको छ । अधिकारीलाई भ्रष्टाचार गरी आर्जन गरेको रकम आपराधिक कार्यमा प्रयोग गरेको देखिएकाले उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान र कारबाहीको माग गरिएको छ ।





प्रतिक्रिया