थापाथली सुकुम्बासी बस्तीमा सीसीटीभी जडान, आन्दोलन गर्नेमाथि निगरानी गर्न खोजिएको आरोप

343
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने सरकारको तयारीसँगै सो क्षेत्रमा सुरक्षा सतर्कता र विरोध प्रदर्शन तीव्र बनेको छ ।

शुक्रबार बिहानैदेखि थापाथली क्षेत्रमा सीसीटीभी क्यामरा जडान सुरु गरेको छ भने युवाहरूको समूहले सरकारको कदमको विरोधमा प्रदर्शन गरेका छन् ।

सुरक्षाका लागि ३६० डिग्री सीसीटीभी

काठमाडौं उपत्यका प्रहरी कार्यालयको सीसीटीभी युनिटले थापाथली क्षेत्रका सडक किनारमा रहेका पोलहरूमा शक्तिशाली क्यामराहरू जडान गरेको छ । प्रहरीले ३६० डिग्रीमा घुम्ने क्यामराहरू जडान गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले यसलाई ‘नियमित कार्यक्रम’ को रूपमा ब्याख्या गरे पनि स्थानीय र आन्दोलनकारीले भने सम्भावित मुठभेडको भिडियो रेकर्ड राख्न र अनुसन्धानमा प्रयोग गर्न क्यामरा राखिएको आशंका गरेका छन् । प्रहरीले यसलाई सुरक्षित सहर बनाउने अभियानको पालो मात्र भएको दाबी गरेको छ।

यसैबीच, सरकारले डोजर चलाउन लागेको भन्दै युवाहरूको समूह ‘जेन-जी मुभमेन्ट अलायन्स’ ले सुकुमवासी बस्तीमै पुगेर प्रदर्शन गरेको छ । प्रदर्शनकारी युवाहरूले ‘डोजर आतंक बन्द गर’, ‘उठीबास स्वीकार्दैनौं’ र ‘अदालतको आदेश पालना गर’ जस्ता नारा लगाएका छन्।

अलायन्सले बलपूर्वक हटाउनु न्यायसंगत नभएको भन्दै वास्तविक भूमिहीन पहिचान गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेको छ। उनीहरूले बालेन शाह नेतृत्वको सरकार निरंकुश बन्दै गएको आरोप समेत लगाएका छन् ।

विकल्पमा नागार्जुनको अपार्टमेन्ट र ‘होल्डिङ सेन्टर’

नदी किनारबाट विस्थापित गरिने नागरिकहरूलाई तत्कालका लागि ‘होल्डिङ सेन्टर’ मा राखिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

वास्तविक सुकुमवासी ठहरिएकाहरूलाई नागार्जुन नगरपालिका (साविक इचंगुनारायण) मा रहेको सरकारी भवन (अपार्टमेन्ट) मा सारिनेछ ।

उक्त भवन बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ सालमा १२ करोडको लागतमा सुकुमवासीका लागि नै बनाइएको थियो, जहाँ २२४ वटा फ्ल्याटहरू रहेका छन् ।

स्थानीयको अवरोधका कारण हालसम्म प्रयोग हुन नसकेको सो भवनमा यसपटक सुकुमवासी व्यवस्थापन गर्ने महानगरको तयारी छ । हाल होल्डिङ सेन्टरको स्थान तय गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।