३० दिनभित्र सार्वजनिक यातायातमा सीसीटीभी र राइड सेयरिङमा अलार्म बटन, निःशुल्क ‘ब्लु बस’

357
Shares

काठमाडौं । सरकारले ३० दिनभित्र सार्वजनिक यातायात र राइड सेयरिङ सेवामा सुरक्षा उपाय कडाइका साथ लागू गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ९७ नम्बर बुँदामा सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा ड्यासक्याम अनिवार्य रूपमा जडान गर्ने उल्लेख गरिएको छ । यसको उद्देश्य सार्वजनिक यातायातमा हुने विशेषगरी लैंगिक हिंसा न्यूनीकरण गर्नु हो ।

यस्तै, राइड सेयरिङ एपहरूमा एसओएस (खतरा संकेत) बटन अनिवार्य गरिने भएको छ । उक्त बटनमार्फत आकस्मिक अवस्थामा यात्रुले पठाएको सूचना सीधै प्रहरीसम्म पुग्ने व्यवस्था ३० दिनभित्र कार्यान्वयन गर्ने सरकारको योजना छ ।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने पनि कार्यसूचीमा समावेश गरिएको छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ।