
विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्षलाई चुनौती दिन निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष आइतबार विराटनगरमा पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।
उनीहरूले संयुक्त आयोजनामा पार्टी एकताको नाममा कोशी प्रदेश स्तरीय भव्य भेला गरे । यसअघि कोइराला समूहले आयोजना गर्ने भेलामा तत्कालीन संस्थापन पक्ष देउवा समूह र देउवा समूहले आयोजना गरेको भेलामा कोइराला पक्षको उपस्थिति शून्य हुन्थ्यो ।
विशेष महाधिवेशन मार्फत देउवालाई सभापतिबाट पाखा लगाउँदै तत्कालीन महामन्त्री गगनकुमार थापा पार्टी सभापति भएपछि पार्टीको भूमिकाबाट खुम्चिएर भूमिकाविहीन बनेका दुवै समूहका नेताहरू थापाविरुद्ध कोशी प्रदेशमा पहिलो पटक एकै मञ्चमा देखिएर आफ्नो कुण्ठा पोखेका हुन् ।
‘जेनजी’ आन्दोलनअघि देउवा नेतृत्वको संस्थापन पक्षले विराटनगरमा प्रदेश स्तरीय भेला गर्दा कोइराला विराटनगर बाहिर पुगेका थिए । विगतमा यी दुई समूहबीच दूरी यतिसम्म थियो कि, तत्कालीन सभापति देउवा विराटनगरको प्रदेश भेलालाई सम्बोधन गर्न आउँदा शेखरको अनुपस्थितिमै कोइराला निवास पुगेर चिया पिएर फर्केका थिए ।
विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटाएर उनी निकट नेताहरूलाई जिम्मेवारीविहीन बनाउनु र कोइराला समूहलाई पनि कमजोर बनाउनु मात्र नभई, निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मानेपछि पार्टीभित्र समान हैसियत र भूमिका खोज्न बाध्य भएर विगतमा ‘पूर्व र पश्चिम’ फर्किएका देउवा र कोइराला समूह एकै मञ्चमा उभिन पुगेको कांग्रेसीहरूको बुझाइ छ ।
देउवाको हातबाट नेतृत्व फुत्किएपछि शक्ति र भूमिकाविहीन भएका देउवा र कोइराला समूहका नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहका झण्डै दुई दर्जन नेताले भेलामा वर्तमान नेतृत्व विरुद्ध आक्रोश पोखे ।
कसैले सभापति थापालाई ‘खलनायक’ भने । कसैले शेखरलाई पनि ‘इगो’ त्याग्न सुझाए । कसैले पुराना र त्यागी नेतालाई जबर्जस्ती गलहत्याएर पार्टी कब्जा गरेको भन्दै आक्रोश पोखे । केहीले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताउँदै कारबाही गरेर देखाउन गगनलाई चेतावनी दिए ।
केही शीर्ष नेताहरूले कांग्रेसमा निरंकुशता सुरु भएको दाबी गरे । केहीले अहिले कांग्रेस इतिहासकै कमजोर अवस्थामा रहेको प्रष्ट्याउँदै जुनसुकै हालतमा पनि पार्टी एक हुनुको विकल्प नभएको भन्दै कार्यकर्तालाई आश्वस्त पारे । कार्यक्रमका प्रमुख वक्ता नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरंकुशता सुरु भएको आरोप लगाए ।

‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि भएको हो । तर, अहिले देशैभरि वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भने, ‘कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’
कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरू सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए । ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र र देशको सार्वभौमिकता अनि अखण्डता कमजोर हुन्छ ।
बीपी पुत्र एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै आक्रोश, तिक्तता र कुण्ठा त्यागेर कांग्रेसलाई एकताबद्ध बनाउन सबै नेताहरूले पहल गर्नुपर्ने बताए । कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको जस्तो अवस्था देखिएको उल्लेख गर्दै उनले यो अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताए ।
उनले लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको कांग्रेस अहिले विभाजित अवस्थामा पुग्नु पीडादायी भएको भन्दै पार्टी आफैँ नटुक्रिएको, तर विभिन्न कारणले टुक्र्याइएको दाबी गरे । सर्वोच्च अदालत र निर्वाचन आयोगका केही निर्णयले पनि कांग्रेसलाई अहिलेको संकटमा पुऱ्याएको उनको दाबी थियो ।
कोइरालाले लोकतान्त्रिक मूल्य–मान्यता, परिवर्तनको एजेन्डा र पार्टीको संस्थागत विरासत जोगाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताए । वर्तमान नेतृत्वलाई संकेत गर्दै उनले कांग्रेसमा धेरै अनुभवी र पुराना नेताहरू बाहिर रहँदा सीमित समूहका भरमा पार्टी सञ्चालन गर्न कठिन हुने बताए ।
‘सबै पक्षलाई समेटेर अघि बढ्न सके मात्रै पार्टीलाई थप मजबुत बनाउन सकिन्छ । कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता अहिले एकता नै हो,’ कोइरालाले भने, ‘विगतका तिक्तता बिर्सेर सबै नेता–कार्यकर्ता एकजुट हुन जरुरी छ ।’
पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आक्रोश पोखे । गगन थापा विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भए पनि अहंकार नराख्न र अग्रजहरूबाट सिक्न उनले आग्रह गरे
‘गगन थापाजी, तपाईं विशेष अधिवेशनबाट कांग्रेसको सभापति भइसक्नुभयो । सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् ! कृष्ण सिटौला गुरुहरूबाट सिक्नुस्, मिनेन्द्र रिजालबाट सिक्नुस्,’ गच्छदारले भने ।
पार्टीभित्र पुराना र स्थापित नेताहरूलाई किनारा लगाउन खोजिएको भन्दै गच्छदारले आक्रोश व्यक्त गरे । ‘सिध्याइदिने रे ! विजय गच्छदार, कृष्ण सिटौला, शेखर कोइरालाहरूलाई सिध्याइदिने रे… शशांक कोइरालालाई सिध्याइदिने रे… अनि कोइरालाहरू कहिलेकाहीँ भड्किनुहुन्छ । त्यसैले सुन्नुस् साथीहरू, तपाईंहरूले नै गगन थापालाई महामन्त्री बनाइदिनुभएको होइन ? कसले बनाइदियो ?,” डा. शेखरलाई इंगित गर्दै उनले भने, ‘गगन थापाजी, तपाईं यसैगरी सभापति चलाएर नेपाली कांग्रेसलाई ठीक ठाउँमा पुऱ्याउन सक्नुहुन्छ ? नेतृत्व दिन सक्नुहुन्छ ? सक्नुहुन्न ।’
गच्छदारले नेता शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् (इगो) त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिए । ‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दा मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु— तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठूलो छाती लिएर जानुस्, ठूलो छाती नलिई हुँदैन,’ गच्छदारले भने ।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको आन्तरिक विवाद, महाधिवेशनको अन्योल र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । विवाद समाधान गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने भन्दै अनावश्यक ढिलासुस्ती र ‘नाटक’ अन्त्य गर्न आग्रह गरे ।
‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ । यो साहस हृदयबाट आउनुपर्छ,’ उनले नेतृत्वलाई लक्षित गर्दै भने, ‘लेख्ने र मेटाउने शक्ति तपाईँहरूसँगै छ, अब एकमुष्ट निर्णय गरेर अघि बढ्नुस् ।” उनले विगतका महाधिवेशनका अभ्यासलाई आधार बनाएर आगामी महाधिवेशन समयमै सम्पन्न गर्न आग्रह पनि गरे । पार्टीभित्र आफ्नै साथीहरूमाथि गरिएको व्यवहार लोकतान्त्रिक मूल्यविपरीत रहेको उनको भनाइ थियो ।’
‘हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ । शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको व्यवहार निन्दनीय छ,’ सिटौलाले भने, ‘कांग्रेसले आन्तरिक विवाद छिट्टै समाधान गरी बलियो र एकताबद्ध बन्नुपर्छ । संस्थापन पक्ष जिम्मेवार भएर अघि बढे मात्रै पार्टीको संकट समाधान सम्भव हुन्छ ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाए । उनले पार्टीभित्रको क्रियाशील सदस्यता विवाद र आन्तरिक असन्तुष्टिप्रति तीव्र असन्तोष व्यक्त गरे ।
बस्नेतले नेतृत्वले योजनाबद्ध रूपमा पुराना, स्थापित तथा योगदान गरेका नेताहरूलाई पाखा लगाउने प्रयास गरिरहेको दाबी गरे । बीपी पुत्र शशांक कोइराला, वरिष्ठ नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा समेत अवरोध सिर्जना गरिएको उनको आरोप थियो ।
‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक अहिलेका सभापति गगन थापाजी हुन्, उहाँबाट पार्टी मिल्छ भनेर आशा गर्ने ठाउँ छैन,’ उनको ठोकुवा थियो ।
सो कार्यक्रममा मिनेन्द्र रिजाल र रामहरि खतिवडले पानि पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको बताए ।









प्रतिक्रिया