
काठमाडौं । नेपालमा करेन्ट ब्रान्डमा विभिन्न खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्दै यशोदा फुडस्ले एकै वर्ष साढे ७ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ६८ लाख रुपैयाँको व्यापार गरेको हो ।
यशोदा फुड्सले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा सन् २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको हो । गत आवमा चाउचाउ र स्न्याक्सको उच्च व्यापार हुँदा कारोबार रकम आकाशिएको छ ।
यशोदा फुड्सले गत आवमा ७.४३ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ११.४३ प्रतिशत नाफा कमाएको थियो ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले इन्स्ट्यान्ट नुडल्स र स्न्याक्स उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनी सन् २०२४ मा यशोदा नुडल्स एन्ड स्न्याक्स प्रालिसँग मर्ज भएको थियो । मर्जरसँगै कम्पनीको चाउचाउको सेग्मेन्टको उत्पादन क्षमता बढेको छ । कम्पनीले मर्जरभन्दा अगाडि वार्षिक ३० हजार मेट्रिक टन चाउचाउ उत्पादन गर्दै आएकोमा अहिले वार्षिक ४२ हजार मेट्रिक टन चाउचाउ उत्पादन गर्ने क्षमता राख्दछ ।
त्यसैगरी, कम्पनीले स्न्याक्स सेग्मेन्टको पनि क्षमता बढाएको जनाएको छ । कम्पनीले वार्षिक ९ सय मेट्रिक टन उत्पादन गर्दै आएकोमा अहिले ४५ सय मेट्रिक टन स्न्याक्स उत्पादन गरिरहेको छ । यशोदा फुड्सले करेन्ट ब्रान्डमा चाउचाउ, फ्राई स्न्याक्स र भुजियाबाट उच्च व्यापार गर्दै आएको छ ।
चुन्नाप्रसाद शर्मा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २० करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको नेतृत्व ४ दशकभन्दा बढी अनुभव भएका चुन्न प्रसाद शर्मा (अध्यक्ष) र एफएमसीजी क्षेत्रमा लामो अनुभव भएका जी.पी. शाहले गरिरहेका छन् । आर्थिक वर्ष २०२५ मा कम्पनीको चाउचाउ र स्न्याक्स दुवै सेग्मेन्टमा बिक्री बढेको छ ।
कम्पनीको करेन्ट ब्रान्ड नेपाली बजारमा, विशेषगरी युवाहरूमाझ निकै लोकप्रिय छ । देशभर ३०० भन्दा बढी आधिकारिक वितरकहरू मार्फत यसको बलियो उपस्थिति छ । यशोदा फुड्सले भारत र अन्य देशहरूमा पनि नियौत सुरु गरेको । पछिल्लो तथ्यांकअनुसार निर्यातको हिस्सा कुल व्यापारमा १२ प्रतिशत छ ।
कम्पनीको ऋण र पुँजीको अनुपात (गियरिङ रेसियो) सन्तोषजनक (०.४६ गुणा) छ । थप पुँजी लगानीले यसलाई सन्तुलनमा राख्न मद्दत गरेको छ । यसैगरी कम्पनीसँग दायित्व तिर्न पर्याप्त नगद प्रवाह (४४ करोड ३० लाख रुपैयाँ नगद संकलन) र पर्याप्त करेन्ट रेसियो (१.५६ गुणा) छ ।
कम्पनीले डिसेम्बर २०२५ मा नेपालको पहिलो ग्रीन नुडल्स उत्पादन सुविधा सुरु गरेको छ, जहाँ ८० प्रतिशत ऊर्जा आवश्यकता सौर्य ऊर्जाबाट पूर्ति गरिन्छ ।
तर, मर्जर पछिको प्रारम्भिक व्यवस्थापन खर्चका कारण कम्पनीको नाफाको मार्जिन आर्थिक वर्ष २०२४ को ११.४३ प्रतिशत बाट घटेर २०२५ मा ७.४३ प्रतिशत मा झरेको छ ।








प्रतिक्रिया