करेन्ट चाउचाउले बढायो खुर्सानीको माग, लाखौं क्विन्टल खुर्सानीका लागि सामूहिक खेती गर्दै किसान



काठमाडौं । मुलुकमा उद्योग सञ्चालन हुने हो भने त्यसले अन्य धेरै उत्पादन वृद्धि गर्छ । यसका पछिल्लो राम्रो उदाहरण बनेको करेन्ट चाउचाउ ।

बुटबलमा रहेको यशोदा फुड्सले उत्पादन गरेको पिरो चाउचाउ हो करेन्ट । यस प्रयोग हुने पिरो मसलाका लागि मासिक सयौं क्विन्टल खुर्सानी आवश्यक पर्छ ।

करेन्ट चाउचाउले आफूलाई चाहिने खुर्सानी स्वदेशी उत्पादनमात्र प्रयोग गरिरहेको छ । उनीहरुले गाउँगाउँमा पुगेर स्थानीय बजारको खुर्सानी खरिद गरिरहेका छन् ।

यसैकारण लुम्बिनी प्रदेश र अन्य जिल्लामा खुर्सानी खेती गर्न किसानको आकर्षण बढेको छ । यशोदा फुड्सका निर्देशक नरिश्वर पौडेलले विभिन्न जिल्लामा खुर्सानी खेती बिस्तार भइरहेका बताए ।

हामीले करेन्टका लागि स्थानीय बजारको खुर्सानी प्रयोग गर्न थालेपछि किसान यसको खेती गर्न थालेका छन्,’ पौडलेले भने, ‘कतिपय जिल्लामा सामूहिकरुपमा खुर्सानी खेती भइरहेको छ ।’

पाल्पा, अर्घाखाँची, गुल्मीका विभिन्न ठाउँमा करेन्ट चाउचाउका लागि भनेर खुर्सानी खेती भइरहेको उनले बताए ।

पाल्पा मदनपोखरामा सहकारीमार्फत् ६/७ वटा कृषक समूहले ठूलो क्षेत्रफलमा करेन्ट चाउचाउका लागि भनेर खुर्सानी खेती गरिरहेका छन् ।

अर्घाखाँची, गुल्मीमा पनि यस्तै समूहले खुर्सानी खेती गरिरहेका छन् । कतिपय ठाउँमा लगानी नभएका तर खुर्सानी खेती गर्न चाहने किसानलाई उनीहरुले लगानीसमेत गरिदिएको बताए । उनीहरुलाई चाहिने आवश्यक बिउबिजन पनि उपलब्ध गराइरहेका छन् ।

‘जति खुर्सानी उत्पादन भए पनि हामीले जिम्मा लिन्छौं भनेका छौं,’ पौडेलले भने, ‘खाली जग्गामा खर्सानी खेती गर्न पाउँदा किसान खुसी छन् ।’
करेन्ट चाउचाउमा उनीहरुले पूर्वका अकबरेदेखि मुलुकका विभिन्न ठाउँमा उत्पादन भएको खुर्सानी प्रयोग गरिरहेका छन् । ताप्लेजुङ, इलाम, पाँचथर, फिदिम, आठराई, बिर्तामोड, धनकुटा, हिलेलगायका क्षेत्रमा उत्पादन भएको खुर्सानी संकलन गरेर खरिद गर्छन् ।

बच्चादेखि पाका उमेरका व्यक्तिले उपभोग गर्ने चाउचाउमा प्रयोग हुने खुर्सानी स्वस्थ र गुणस्तरीय हुनुपर्छ भनेर स्थानीय उत्पादनमात्र प्रयोग गरिरहेको उनले बताए ।

‘खुर्सानी निकै पिरो भए पनि स्वास्थ्यलाई असर गर्दैन,’ उनले दाबी गरे, ‘यो खाँदा मात्रा पिरो स्वाद हो । अकबरे खुर्सानीमा धेरै तत्वहरु हुने र त्यसले स्वास्थलाई राम्रो हुने उनको तर्क छ ।

यशोदा फुड्सले डेढ वर्षअघि उत्पादन शुरु गरेको करेन्ट चाउचाउले अहिले बजारमा राम्रो माग छ । हट एण्ड स्पाइसी (पिरो) सेग्मेन्टमा भए पनि करेन्ट चाउचाउले समग्र चाउचाउ बजारलाई प्रभाव पारिरहेको छ ।

बजारमा करेन्ट चाउचाउको उच्च माग रहेको पौडलेले बताए ।

पौडलेकाअनुसार हाल महिनामा ३ लाख कार्टुन चाउचाउ उत्पादन गरिरहेको छ । एक कार्टुनमा २० वटा प्याकेट हुन्छन् । त्यसलाई हिसाब गर्ने हो भने महिनामा ६० लाख करेन्ट चाउचाउ उत्पादन भइरहेको छ ।

करेन्ट ‘टु एक्सएक्स’ र ‘करेन्ट हट एण्ड स्पासी’ दुई सेग्मेन्टमा उत्पादन भइरहेको छ ।

नेपालमा मात्र होइन करेन्ट चाउचाउको बजार विदेशमा समेत फैलिएको छ । अहिलेसम्म यसले विश्वका ८ देशमा यो चाउचाउ निर्यात गरिरहेको छ । भारतको आसाम, ग्वाटी, सिलगुडीमा राम्रो निर्यात भइरहेको छ । त्यहाँ माग धेरै छ ।

त्यस्तै, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, नेदरल्याण्ड, भुटान र मलेसियामा निर्यात भइरहेको पौडेलले बताए ।

‘नेपाली चाउचाउ विदेशमा बेच्न पाउँदा खुसी पनि लाग्दोरहेछ,’ उनी भन्छन् । छोटो समयमा यति धेरै लोकप्रिय हुनुमा नयाँ स्वाद र गुणस्तरीय उत्पादन भएको ठान्छन पौडेल ।


सन्तोष न्यौपाने