
एजेन्सी । चीनका लडाकु विमानहरूले जापानी सैन्य विमानतर्फ फायर–कन्ट्रोल रेडार तेर्स्याएको दुईवटा खतरनाक घटनाहरूका बारेमा जापानले आरोप लगाएको छ ।
यी घटनाहरू ओकिनावा नजिक भएको बताइएको छ । यसलाई बेइजिङले अस्वीकार गरेको छ ।
‘यी रेडार प्रक्षेपणहरू विमानको सुरक्षित उडानका लागि आवश्यक दायराभन्दा धेरै बाहिर थिए,’ जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सामाजिक सञ्जाल एक्समा लेखे । र शनिबार भएको यो दुःखद घटनाबारे जापानले चीनसँग विरोध जनाएको पनि उनले बताए ।
टोकियोमा अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेससँगको भेटमा कोइजुमीले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनको व्यवहारलाई जापानले दृढ र शान्त रूपमा सामना गर्ने बताए ।
चिनियाँ जलसेनाका प्रवक्ता कर्नेल वाङ शुएमङले भने चीनले पहिले नै घोषणा गरेको विमानवाहक–आधारित अभ्यासका क्रममा मियाको जलसंयोजकको पूर्वतिर गरिरहेको अभ्यासमा जापानी विमानहरू बारम्बार नजिकिएर बाधा पुर्याएको आरोप लगाए ।
जापान र चीन दुवैले दाबी गर्ने यी टापुहरू नजिकका भेटघाट पछिल्ला वर्षहरूका सबैभन्दा गम्भीर सैन्य भिडन्तहरूमध्ये मानिन्छन् र यसले तनाव अझै बढाउने सम्भावना छ ।
गएको महिनादेखि जापान र चीनको सम्बन्ध झनै बिग्रिएको छ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानविरुद्ध चीनले सैन्य कदम चाल्दा जापानको सुरक्षालाई पनि खतरा भएमा जापानले प्रतिक्रिया दिन सक्ने चेतावनी दिएकी छन् ।
अर्को विमानतर्फ फायर–कन्ट्रोल रेडार लक्ष्तित गर्नु भनेको सम्भावित आक्रमणको संकेत मानिन्छ र यस्तो अवस्थामा लक्षित विमानले बच्ने कदम चाल्नुपर्ने हुन्छ । चीनले आफ्ना विमानलाई रेडारले लक गरेको थियो कि थिएन भन्ने जापानले खुलाएन ।
वाङले आधिकारिक सामाजिक सञ्जालमा भने जापानको भनाइ गलत भएको र उसको कार्यले उडान सुरक्षालाई गम्भीर रूपमा जोखिममा पारेको दाबी गरे ।
‘हामी जापानलाई चीनको बदनाम गर्ने काम तुरुन्त रोक्न र उत्तेजक गतिविधिमा कडाइ गर्न माग गर्छौं,’ उनले भने, ‘चिनियाँ जलसेनाले आफ्नै सुरक्षा र अधिकार जोगाउन आवश्यक कदम चाल्नेछ ।’
ताइवानबारे चीन र जापानबीच तनाव बढ्दै गएपछि बेइजिङले आफ्ना नागरिकलाई जापान यात्रा नगर्न सुझाव दिएको छ ।
फुकुशिमा प्लान्टको प्रशोधित पानी समुद्रमा छोडिएपछि रोकिएको समुद्री खाद्य आयात पुनः सुरु गर्ने योजना पनि स्थगित गरेको छ ।
जापानका अनुसार, शनिबारको घटनामा संलग्न चिनियाँ जे–१५ लडाकु विमानहरू चीनको ल्योनिङ विमानवाहकबाट उडान गरेका थिए । उक्त विमानवाहक युद्धपोत तीनवटा मिसाइल डिस्ट्रोयरसहित ओकिनावा दक्षिणतिर चलिरहेको थियो ।
जापानले चिनियाँ क्यारियरबाट भइरहेको उडान गतिविधिको प्रतिक्रिया स्वरूप आफ्ना एफ–१५ विमानहरू उडाउनुपरेको बताएको छ ।







प्रतिक्रिया