
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा चार्जशीट (मुद्दा) दायर गरेको छ ।
आइतबार अपराह्न अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।
मानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
‘राष्ट्रसेवक तथा गैरराष्ट्रसेवक र निर्माण व्यवसायी चाइना सीएएमसी इन्जिनिरयरिङ कम्पनी लिमिटेड तथा उक्त कम्पनीका पदाधिकारीहरुलाई गैरकानुनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था /नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गैरकानुनी हानी पुर्याउने बद्नियतले स्वीकृत लागत अनुमान संशोधन गरी गराई अस्वाभाविक लागत अनुमान बढाई सोही बमोजिम अस्वाभाविक रुपमा बढी मुल्य तिरी निर्माण खरिद गरी भुक्तानी भएको जम्मा बिगो ७,४३,४३,४५०.०० अमेरिकी डलर (अक्षरेपि सात करोड त्रिचालिस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) लाई शुरु भुक्तानी मिति २०७५/०४/२५ (१० अगष्ट २०१८) मा नेपाल राष्ट्र बैंकले तोकेको बिक्री विनिमय दर प्रति अमेरिकी डलर रु. ११२ । ५५ का दरले हुन आउने जम्मा बिगो रु. ८.३६,७३,५५,२९७ । ५० (अक्षरेपि आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रुपैयाँ पचास पैसा) भ्रष्टाचार गरे गराएको विवेचित आधार प्रमाणहरुबाट तथ्य स्थापित भयो,’ अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ।
अख्तियारले पोष्ट बहादुर बोगटी, भीम प्रसाद आचार्य, राम कुमार श्रेष्ठ, डा.रामशरण महत, दिपकचन्द्र अमात्य, लोक बहादुर खत्री, मनरुप शाही, ज्योती अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ्ग शेर्पा, त्रिरत्न मानन्धर, रञ्जनकृष्ण अर्याल, सूर्य प्रसाद आचार्य, सुरेशमान श्रेष्ठ, सुरेश आचार्य, मुक्तिनारायण पौडेल, मदन खरेल, हरि बहादुर खड्का, सुशिल घिमिरे, रतिश चन्द्रलाल सुमन, डा.रामकृष्ण तिमिल्सिना, डा. पुरुषोत्तम डंगोल, विनोदानन्द चौधरी, सुमन कुमार श्रेष्ठ, रोशन चित्रकार, ऋषिकेश शर्मा, नारायण गिरी, महेश कुमार बस्नेत, बाबुराम पौडेल, अशोक कुमार सुवेदी, मुरारी भण्डारी, सुवर्णराज उपाध्याय, कुल प्रसाद सिंखडा, हंसराज पाण्डेय, प्रदीप अधिकारी, प्रतापबाबु तिवारी, पुण्यराज शाक्य, रुद्र प्रसाद फुयाल, रामचन्द्र सुवेदी, मुकुन्द प्रसाद भण्डारी, ध्रुबदास भोछिभोया, गंगा सागर मान श्रेष्ठ, द्वारिका प्रसाद भट्टराई, प्रा. डा. रबिन्द्रनाथ श्रेष्ठ, उप- प्राध्यापक सन्तोष कुमार श्रेष्ठ, उप-प्राध्यापक सूर्य ज्ञवाली, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, मोहनकृष्ण सापकोटा, मधुकुमार मरासिनी, लाल बहादुर खत्री, प्रेम उपाध्याय, कमल कुमार भट्टराई र चायना सीएएमसी इन्जिनियरिङ र सोका मुख्य भई काम गर्ने व्यक्ति चियरम्यान वाङ बो र रिजनल जेनरल म्यानेजर लि सेङचेङ विरुद्ध मुद्दा दायर गरेको हो ।
आरोपीहरुको आपसी मिलेमतो, योजना र संलग्नतामा प्राविधिक मूल्याङ्कनमा असफल र आर्थिक मूल्याङ्कनमा स्वीकृत लागत अनुमान भन्दा धेरै नै बढी भई सारभूत रुपमा प्रभावग्राही नरहेको चाइना सीएएमसीको बोलपत्र उपर कानुन विपरीत वार्ता गरी सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ मा व्यवस्था नै नभएको परामर्श टोली गठन गरी २ पटक गरी गराई उक्त टोलीले दिएको परामर्श / सिफारिशको बहानामा मूल्याङ्कन समितिले सारभूत रुपमा प्रभावग्राही नभएको भनी प्रतिवेदन दिएकै बोलपत्रदाता चाइना सीएएमसीसँग पूर्व स्वीकृत लागत अनुमान १६९.६९७ मिलियन अमेरिकी डलर (३% कन्टिजेन्सी र १३% भ्याट समेत) भन्दा अस्वभाविक रुपमा बढाई संशोधन गरी गराई २४४,०४०,४५००० अमेरिकी डलर ( ३% कन्टिजेन्सी र १३% भ्याट समेत ) मा सम्झौता गरेको र अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गरे गराएकोमा सोही बमोजिम भुक्तानी भएको पुष्टि भएको देखिएको अख्तियारको दाबी छ ।







प्रतिक्रिया