
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक बेनिनको सरकारले आइतबार देशमा सैनिकहरूको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ताकब्जा गरेको घोषणा गरेपछि सशस्त्र बलहरूले कूको प्रयास विफल पारेको जनाएको छ ।
यो प्रयास पछिल्ला वर्षहरूमा बेनिनका छिमेकी देशहरू नाइजर, बुर्किना फासो, माली, गिनी र भर्खरै मात्रै गिनी–बिसाउमा भएका सैनिक सत्ताकब्जापछि क्षेत्रको लोकतान्त्रिक शासनप्रति देखापरेको नवीनतम चुनौती हो ।
हेल्मेट लगाएका कम्तीमा आठजना सैनिकले आइतबार बिहान सरकारी टेलिभिजनमा देखापरेर कर्नेल टिग्री पास्कलको नेतृत्वमा रहेको एक सैन्य समितिले सत्ता हातमा लिएको, राष्ट्रिय संस्थाहरू विघटन गरेको, संविधान निलम्बन गरेको र हवाई, स्थलगत तथा समुद्री सिमाना बन्द गरेको घोषणा गरेका थिए ।
‘सेनाले बेनिनका जनतालाई साँच्चिकै नयाँ युगको आशा दिने गम्भीर प्रतिबद्धता व्यक्त गर्छ जहाँ भ्रातृत्व, न्याय र श्रम प्रबल रहोस्,’ सैनिकहरूमध्ये एकले पढेको वक्तव्यमा भनिएको थियो ।
तर, त्यसको केही घण्टापछि गृहमन्त्री अलासन सेइदूले जारी गरेको वक्तव्यमा बेनिनका सशस्त्र बलहरूले कू प्रयास विफल पारेको बताए ।
‘त्यसैले सरकार जनतालाई आफ्ना दैनिक कामकाज पहिलेजस्तै गरी गर्न अनुरोध गर्दछ,’ उनले भने ।
विदेशमन्त्री ओलुसेगुन अडजादी बाकारीले सानो समूहमा रहेका सैनिकहरूले सरकार फाल्न प्रयास गरे पनि राष्ट्रपति प्याट्रिस ट्यालोनप्रति निष्ठावान सुरक्षाबलहरू स्थिति नियन्त्रणमा लिन काम गर्दै गरेको बताए । उनका अनुसार, कूको प्रयास गर्नेहरूले सरकारी टेलिभिजनमा मात्र कब्जा गर्न सफल भएका थिए ।
आइतबार बिहान देशको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्रमा चर्को गोलीबारी भएको थियो । धेरै बस्तीहरूमा आवाज सुनिएको थियो । त्यसबेला स्थानीयहरू चर्च जान निस्कँदै थिए ।
फ्रान्सेली दूतावासले फेसबुकमार्फत राष्ट्रपति ट्यालोनको कोटोनूस्थित निवास वरपर गोलीबारी भएको बताउँदै आफ्ना नागरिकहरूलाई घरमै बस्न आग्रह गरेको थियो ।
यो कू प्रयास बेनिनमा आगामी अप्रिलमा हुने निर्धारित राष्ट्रपतीय निर्वाचनको तयारी गरिरहेकै बेला भएको हो । सन् २०१६ देखि सत्तामा रहेका ट्यालोनको कार्यकालको अन्त्य त्यही बेला हुनेछ ।
सैनिकहरूले टीभी वक्तव्यमा देशको उत्तरी भागमा बिग्रिँदै गएको सुरक्षा अवस्थासँगै सहयोद्धाहरूको बेवास्ता र उपेक्षाका कारण आफूहरूले कू गरेको भनी उल्लेख गरेका थिए ।
ट्यालोनले आर्थिक वृद्धि पुनर्जीवित गरेको श्रेय पाएका छन् । तर, देशले माली र बुर्किना फासोमा विनाश मच्चाइरहेका जिहादी आतंककारीहरूको बढ्दो आक्रमण पनि झेलेको छ ।
अप्रिल महिनामा बेनिन सरकारले अलकायदासँग सम्बद्ध समूहद्वारा उत्तरमा गराइएको एक आक्रमणमा ५४ सैनिक मारिएको बताएको थियो ।
गत महिनामात्रै बेनिनले नयाँ संविधान अनुमोदन गरेको थियो । त्यसले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष बनाएको छ । त्यसलाई आलोचकहरूले सत्तारूढ गठबन्धनद्वारा गरिएको ‘सत्ताकब्जा’ भनेका छन् । सोही गठबन्धनले अर्थमन्त्री रोमुवाल्ड वादाग्नीलाई आफ्ना उम्मेदवारका रूपमा मनोनयन गरेको छ ।
पूर्व राष्ट्रपति थोमस बोनी यायीद्वारा स्थापित विपक्षी ‘डेमोक्रेट्स’ पार्टीले प्रस्ताव गरेको उम्मेदवारलाई सांसदबाट पर्याप्त समर्थन नपाएको भन्दै अदालतले अस्वीकार गरेको थियो ।







प्रतिक्रिया