नेपालमा फैलँदै विदेशी चेन, ११ वटा अन्तर्राष्ट्रिय ब्राण्डले चलाउँछन् ३७ होटल

विदेशी होटलको व्यवस्थापन गर्दै नेपाली होटल सोल्टी


काठमाडौं । नेपालको आतिथ्यता उद्योगमा अन्तर्राष्ट्रिय चेन होटलबीचमै प्रतिस्पर्धा छ । लामो समयदेखि नेपालमा चेन होटल भित्रने र बाहिरिने क्रम चलिरहेको भए पनि पछिल्लो समय भने एकपछि अर्को होटल भित्रने प्रवृत्ति बढेको छ । यसले आतिथ्यता उद्योगमा स्थायित्व बढिरहेको र पर्यटकको आगमनसँगै लगानीकर्ताको समेत विश्वास बढाएको देखाउँछ ।

नेपालको पर्यटनमा देखिएको सम्भावना र लगानीको प्रतिफल पाइने अपेक्षाका साथ विदेशी चेन होटलले विश्वास गर्न थालेका हुन्। सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य अगाडि सारेको थियो । सोही लक्ष्यका कारण पर्यटन पूर्वाधारमा आक्रामक लगानी हुँदै थियो ।

सरकारले पर्यटन प्रवर्द्धनलाई महत्त्व दिने र पर्यटक आगमन बढाउनुलाई प्राथमिकता दिने भएपछि उत्साहित भएका व्यवसायीको योजनामा कोभिड-१९ ले ठूलो धक्का दियो । जसका कारण ५ वर्ष अगाडि नै पूरा भएर सञ्चालनमा आइसक्ने पूर्वाधारसमेत भर्खर-भर्खर सञ्चालनमा आउँदै छन् ।

कतिपय व्यवसायीले कोभिडका कारण स्थगित गरेको योजनालाई ढिलो गरी सुरु गरेका छन् । उनीहरू उपयुक्त वातावरणको पर्खाइमा बसेका कारण पनि ५/७ वर्ष अगाडिदेखि योजना बनाएका र निर्माण चरणमा लागेका पूर्वाधार अझै आइसकेका छैनन्। केही पूर्वाधार भने अझै निर्माणकै चरणमा छन् ।

नेपालमा लगानीको वातावरण सकारात्मक देखेकै कारण म्यारियोटको व्यवस्थापनमा ८ वटा होटल सञ्चालन हुँदै छन् भने एउटासँग सहकार्य मात्रै छ । ५ वटा होटल सञ्चालनमा आइसकेका छन् । तीनवटा (वैशाली, शेराटन र जेडब्लु भक्तपुर) म्यारियोटकै व्यवस्थापनमा सञ्चालन हुने सहमतिपछि निर्माणाधीन छन् ।

म्यारियोटकै लक्जरी होटल ‘बोनभोय’ सँग ‘अटोग्राफ कलेक्सन’ मा सहकार्य गरेको सोल्टी होटलले भने लोयल्टी टाइअप मात्रै गरेको बताएको छ ।

काठमाडौंको सोल्टी होटलले आफ्नै व्यवस्थापनमा होटल सञ्चालन गर्ने भए पनि विदेशी पर्यटक आउँदा म्यारियोटको पोइन्ट पाउने र होटलको प्रवर्द्धनमा थप सहज हुने भएकोले टाइअप गरिएको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

उनका अनुसार म्यारियोटसँग जोडिएको भए पनि उसको व्यवस्थापन वा नाम भने केही देखिँदैन । सोल्टीले आफ्नै ब्रान्डमा होटल निर्माण र व्यवस्थापनको जिम्मेवारी सम्हाल्न थालिसकेको र संख्या १० वटाभन्दा बढी भइसकेकोले अब विदेशी चेनको व्यवस्थापन सोल्टीलाई आवश्यक नपर्ने पनि चापागाईंले बताए ।

उनका अनुसार होटलमा बढेको लगानीसँगै बनिसकेका अरू होटल राम्रोसँग चलाउन त्यसमा विदेशी चेन भित्र्याउनु सकारात्मक पक्ष हो । सोल्टीले भने आफैँ विदेशी होटलको समेत व्यवस्थापन सम्हाल्दै छ ।

म्यारियोटको व्यवस्थापनमा हाल म्यारियोट काठमाडौं, फेयरफिल्ड, अलफ्ट, मोक्सी र म्यारियोट रिसोर्ट एन्ड स्पा लुम्बिनी (लुम्बिनी प्यालेस) सञ्चालनमा छन् । अब म्यारियोटकै जेडब्लु सञ्चालनको तयारी सुरु भइसकेको छ । तीनतारे होटलबाट स्तरोन्नति गरेर ठमेलको वैशाली होटलले पनि म्यारियोटकै व्यवस्थापनमा ५ तारेको तयारी थालिसकेको छ ।

म्यारियोटकै व्यवस्थापनमा भक्तपुरको ठिमीमा एमएस ग्रुपले २०० कोठा क्षमताको पाँचतारे लक्जरी होटल जेडब्लु म्यारियोट बनाउन थालेको छ । यो होटलको डिजाइन फेजको काम सुरु भएकोले भौतिक पूर्वाधार निर्माण गरेर सञ्चालनमा ल्याउन कम्तिमा चार वर्ष लाग्ने जानकारी यसको निर्माण कम्पनी एमएस ग्रुपले दिएको छ ।

नेपालमा तीन वटा म्यारियोट होटल भित्र्याएका शशिकान्त अग्रवालको यो चौथो होटल हो । उनको होटल एक वर्षभित्रै सञ्चालनमा आउने भएको छ ।

नेपालमा लगानीको वातावरण बनेको भन्दा पनि ब्रान्डप्रतिको विश्वास बढेको चारवटा म्यारियोट होटल भित्र्याएका एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘होटलहरूमा वार्षिक ५० प्रतिशतभन्दा बढी अकुपेन्सी छैन । त्यसमा पनि ब्रान्ड हुँदा कम्तिमा ३० प्रतिशत उसैले धानिदिएको हुन्छ । ब्रान्डप्रति पर्यटकको रुचि बढेको र अन्तर्राष्ट्रिय स्तरमा एउटै सेवा सुविधा र गुणस्तर हुने भएकोले पनि ब्रान्डप्रति विश्वास बढेको हो,’ अग्रवालले क्लिकमान्डुसँग भने, ‘संसारका सबैजसो पर्यटकीय गन्तव्यमा विदेशी चेनका होटल नै हुने गर्छन्, जसले पर्यटकलाई टाढैबाट आकर्षित गरिरहेको हुन्छ ।’

ब्रान्डेड होटल सहरको पहिचान भएकाले यसलाई विकासको सूचक पनि मान्न सकिने उनी बताउँछन् । उनले विदेशी चेन होटल कुनै पनि सरहको पर्यटकीय सौन्दर्यतासमेत भएको बताए ।

अन्तर्राष्ट्रिय चेन होटलले ब्रान्डको भन्दा पनि डेस्टिनेसनको मार्केटिङ गरिरहेको हुन्छ । नेपालमा पनि म्यारियोटले गर्ने मार्केटिङले अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिइरहने अग्रवाल बताउँछन् । ब्रान्ड हुँदा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नुपर्ने भएकोले लागत बढी लाग्ने हुन्छ भने त्यसले अकुपेन्सी बढाउन पनि सहयोग पुगिरहेको अग्रवाल बताउँछन् ।

चेन होटल पछिल्लो समय सहरमा मात्रै केन्द्रित छन् । नन-चेनको तुलनामा खर्च बढी हुने र गुणस्तर पनि त्यही अनुसार बनाउनुपर्ने भएकोले सबै पर्यटकीय गन्तव्यमा पुग्न सरकारले सहजीकरण गर्नुपर्ने होटल व्यवसायी बताउँछन् ।

नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा ब्रान्डेड होटल पुग्न सकिरहेका छैनन् । पछिल्लो समय विस्तारै ब्रान्डेड होटल बढ्दै गएका छन् । यसका लागि पर्यटक आगमन बढ्नुपर्ने र राष्ट्रिय ध्वजावाहकदेखि विमानस्थलको संरचनासम्मले पर्यटक आकर्षित गर्न सक्नुपर्ने होटल व्यवसायीहरूले बताएका छन् ।

नेपालमा होटलको व्यवस्थापनमा लुभ्र होटल ग्रुपसमेत आक्रामक देखिन्छ । यो ग्रुप अन्तर्गतका अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिप, गोल्डेन टुलिप र सरोवर नेपालमा भित्रिएका छन् । यसले हालसम्म ५ वटाको व्यवस्थापन सम्हालिसकेको छ । यसमध्ये रोयल टुलिप ब्रान्डका तीन वटा पाँचतारे होटलले सञ्चालन सुरु गरिसकेका छन् ।

यसले रोयल टुलिप काठमाडौं, रोयल टुलिप सौराहा र रोयल टुलिप बूढानीलकण्ठको सुरुवात गरिसकेको छ । काठमाडौं बाहेक यसका अन्य दुई होटल पाँचतारे लक्जरी रिसोर्ट हुन् । यही होटल समूहको ‘होटल सरोवर पोर्टिको’ वीरगन्जमा सञ्चालनमा आइसकेको छ ।

रोयल टुलिप बूढानीलकण्ठको सञ्चालन सुरुवात गर्दै गरेका क्लासिक भ्यू रिसोर्टका अध्यक्ष मुकुन्द कुँवरले लगानी गरिसकेपछि त्यसबाट राम्रो प्रतिफलको अपेक्षा गर्दै विदेशी चेन भित्र्याइएको बताए । ठूलो लगानी गर्दा सहजै सञ्चालन हुने र गन्तव्य प्रवर्द्धनको अपेक्षा हुने कुँवरको भनाइ छ ।

अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न चेनसँग नै जोड्न फ्रेन्चाइजले काम गर्ने गरेको पनि उनको बुझाइ छ । रोयल टुलिप बूढानीलकण्ठ जनवरी २०२५ को अन्त्यबाट सञ्चालनमा आउँदै छ ।

नेपालमा हायात चेनले समेत ५ वटा होटलको व्यवस्थापन जिम्मा लिइसकेको छ । तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) बाट भित्रिएको हायातको व्यवस्थापनमा हाल शिन्तामणि मुस्ताङ पनि सञ्चालनमा छ । यसले नेपालको लक्जरी रिसोर्टका रूपमा मुस्ताङमा सेवा दिइरहेको छ ।

हायातको व्यवस्थापनमा काठमाडौंमा हायात सेन्ट्रिक, बुटवलमा हायात प्लेस र पोखरामा द प्याभिलियन हिमालयज भिल्ला सञ्चालनमा छन् ।

भारतीय चेन होटलले नेपालमा राम्रो ब्रान्ड र गन्तव्य बनाएका छन् । हाल नेपालमा तीन वटा चेनमार्फत ११ वटा होटल भारतीय ब्रान्डका रूपमा प्रवेश गरेका छन् ।

भारतीय होटल समूह होलिडे इन होटल एन्ड रिसोर्ट (आइएचजी) ले नेपालमा ६ वटाको व्यवस्थापन सम्हाल्दै छ । यसमध्ये साङ्ग्रिला ग्रुप नेपालका तीन वटा होटल निर्माणाधीन छन् । यसका तीनवटै होटल सन् २०२६ भित्रै सञ्चालनमा आउने तयारीमा छन् ।

होटल इन्डिगो पोखरा, इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक र इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन सञ्चालनको तयारी भइरहेको साङ्ग्रिलाका कार्यकारी निर्देशक प्रवीण पाण्डेले क्लिकमाण्डूलाई बताए । साङ्ग्रिलाका निर्माणाधीन होटलमध्ये पोखराको १०० कोठा क्षमताको हुने छ भने बेगनास ताल र चितवनको ४०/४० कोठाको सञ्चालनमा आउने र पछि विस्तार भएर ८० कोठा पुग्नेछन् ।

आइएचजीकै व्यवस्थापनमा होलिडे इन रिसोर्ट बूढानीलकण्ठ, होलिडे इन धनगढी र होलिडे इन एक्सप्रेस हाल सञ्चालनमा छन् । यो बाहेक ताजका भिभान्ता काठमाडौं, भिभान्ता चितवन र मेघौली सराई सञ्चालनमा छन् । यी तीनवटै होटल चौधरी ग्रुपले सञ्चालन गर्छ ।

नेपालमा भारतीय ब्रान्ड रोयल अर्किडको पनि रिगेन्टा प्लेस सब्रिना र रिगेन्टा रिसोर्ट एन्ड स्पा (रिभरसाइड चितवन) सञ्चालनमा छन् । नेपालमा अमेरिकी चेन होटल ‘रमाडा विन्धम’ का तीन वटा होटल छन् । रमाडाको व्यवस्थापनमा इटहरी र धुम्बाराहीको अकामामा ५ तारे होटल छन् भने ठमेलमा प्लाजा होटल्स एन्ड सुइट्स छ ।

नेपालमा दुसित होटल एन्ड रिसोर्टको व्यवस्थापनमा काठमाडौंमा पाँचतारे होटल ‘दुसित प्रिन्सेस’ र धुलिखेलमा ‘हिमालयन रिसोर्ट’ छ । नेपालमा र्‍याडिसन, एक्कोरको मर्क्योर र लेमन ट्री होटल पाँचतारे स्तरमा सञ्चालनमा छन् ।

होटल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा पर्दै गएको र नेपालप्रति पर्यटकले देखाएको विश्वास नै विदेशी चेन हो । उनका अनुसार विदेशी चेनमा बस्ने पर्यटकले आफू जाने गन्तव्यमा सोही होटल खोजेर हिँडेका हुन्छन् । नेपालमा पनि पर्यटककै रुचि अनुसार धेरै वटा विदेशी व्यवस्थापनका होटल आएको र यसलाई नेपालको होटल क्षेत्रको सकारात्मक पाटो मान्नुपर्ने श्रेष्ठको बुझाइ छ ।

अन्तर्राष्ट्रिय होटलको व्यवस्थापनमा सोल्टी

नेपालमा ६ दशकभन्दा लामो समयदेखि सेवा दिइरहेको सोल्टी होटलले अन्तर्राष्ट्रिय होटलको व्यवस्थापन सम्हालिरहेको छ । सोल्टीले सन् २०२५ को जनवरीदेखि नै जर्मनीका दुईवटा होटलको व्यवस्थापन सम्हालिरहेको छ । सन् २०२४ (२०८१) मा नेपाली होटल व्यवस्थापन समूह ‘सोल्टी होटल काठमाडौं’ ले अन्तर्राष्ट्रिय होटल व्यवस्थापनको स्वीकृति पाएको थियो ।

जर्मनीको ‘ट्रिप इन होटल’ समूहका दुईवटा होटलको व्यवस्थापन सोल्टीले सम्हाल्दै आएको छ । सोल्टी होटल फ्र्याङ्कफर्ट मेस्से र सोल्टी वेस्टेन्ड फ्र्याङ्कफर्टको व्यवस्थापन नेपाली होटल सोल्टीले गरिरहेको छ ।

नेपालमै पनि सोल्टीले काठमाडौं, पोखरा, नगरकोट, इटहरी, जनकपुर, चितवन, भैरहवा र नेपालगन्जमा स्तरीय लक्जरी होटल चलाइरहेको छ । यसका आफ्नै र व्यवस्थापन लिएकासहितका होटल १५ वटा पुर्‍याउने घोषणा सोल्टीले गरिसकेको छ । सोही घोषणा अनुसार हाल सोल्टीले १० वटा होटल पुर्‍याइसकेको छ । यसका विदेशमा २ वटा र नेपालमा ८ वटा होटल सञ्चालन सुरु भइसकेका छन् ।

विदेशमा दुईवटासहित हाल सञ्चालनमा रहेका सोल्टी होटल ताहाचल, सोल्टी सिब्री नेपालगन्ज, सोल्टी वेस्टर्न इटहरी, सोल्टी वेस्टर्न चितवन, टाइगर प्यालेस भैरहवा र सोल्टी वेस्टेन्ड नगरकोट सञ्चालनमा छन् ।

सोल्टीका अरू तयारी भइरहेका र सञ्चालन हुँदै गरेका होटलमा सोल्टी वेस्टर्न धनगढी, सोल्टी वेस्टर्न लुम्बिनी, सोल्टी वेस्टर्न पोखरा, मिथिला यात्री जनकपुर, मनकामना सोल्टी वेस्टर्न गोरखा र ठमेल हेरिटेज काठमाडौं रहेका छन् ।

नेपालमा असफल भएको ओयो होटल

नेपालमा भित्रिएको भारतीय ब्रान्ड ‘ओयो’ भने असफल भएको छ । नेपालमा कोरोनापछि यस ब्रान्डको नकारात्मक सन्देश प्रवाह भएपछि यो नेपालबाट करिब विस्थापित भइसकेको छ । केही सीमित होटलमा ओयोको नाम जोडिएको भए पनि त्यसको औचित्य भने सकिएको छ ।

नेपालमा पहिलोपटक ओयोलाई प्रिन्स प्लाजाका अध्यक्ष युवराज श्रेष्ठले ९ वर्षअघि भित्र्याएका थिए । नेपालमा ४ सयभन्दा बढी होटलमा भित्रिएको ओयो अहिले सीमित होटलमा मात्रै रहेको देखिएको छ ।

नेपालमा पर्यटक स्तरदेखि तारे होटलसम्म ओयो ब्रान्ड भित्रिएको भए पनि यसका होटलमा अवैधानिक गतिविधि हुन थालेको भन्दै नकारात्मक सन्देश प्रवाह भयो । जसका कारण नेपालमा ओयो ब्रान्ड असफल भएर प्रायः सबैबाट फिर्ता भइसकेको छ ।

तीन वर्षभित्र बनाउने भनिएको होटल शेराटन १२ वर्षसम्म पनि तयारीमै

तीन वर्षभित्रै सञ्चालन गर्ने महत्त्वाकांक्षा राखेर निर्माण सुरु भएको काठमाडौं शेराटन १२ वर्षसम्म पनि तयारीमै रहेको छ । एमआईटी होल्डिङले बनाइरहेको कान्तिपथस्थित केशरमहलको पाँचतारे होटल शेराटन लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

बिल्डिङको बाहिरी संरचना देखिएको भए पनि यो होटल अझै निर्माणाधीन नै छ । यो होटल सन् २०१४ को अक्टोबर १२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । २२२ कोठाको यो होटल म्यारियोटकै शेराटन ब्रान्डमा सञ्चालन हुने घोषणा गरेरै निर्माण थालिएको थियो ।

गैरआवासीय नेपाली शेष घले र उनकी श्रीमती जमुना घलेको कम्पनी एमआईटी होल्डिङले नेपालमा पहिलो पाँचतारे होटल बनाइरहेको भए पनि सञ्चालनमा ल्याउन भने अझै सकेको छैन । अन्तर्राष्ट्रिय चेन होटल बनाइरहेका एमआईटी होल्डिङमा आबद्ध सुरेश चित्रकारका अनुसार शेराटनले सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याइसकेको छ । अबको ६ महिनामा यो होटल सञ्चालनमा आउने दाबी उनको छ ।