पाँचतारे होटल टाइगर प्यालेसको व्यवस्थापन सोल्टीले सम्हाल्यो, एक वर्षभित्र थप ५ वटा तारे होटल थप्ने



काठमाडौं । सोल्टी होटलले भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन सम्हालेको छ । होटल क्षेत्रमा आक्रामक सेवा विस्तार र चेन बनाइरहेको सोल्टी होटलले अब भैरहवामा पाँचतारे होटल चलाउने भएको छ ।

शुक्रबार सोल्टी होटल र टाइगर प्यालेसबीच भएको सहमतिसँगै अब ‘टाइगर प्यालेस बाई सोल्टी’को ब्राण्डमा उक्त होटल सञ्चालन हुन थालेको होटल सोल्टीको उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

भैरहवाको लुम्बिनीमा रहेको यो होटल एक सय कोठाको छ । लक्जरियस रुमसहितको पर्यटकीय सेवामा समर्मित यो होटलको सोल्टीले व्यवस्थापन थालेसँगै रिब्राण्डिङ हुने भएको छ ।

सोल्टीले आगामी एक वर्षभित्रै थप ५ वटा होटलको व्यवस्थापन सम्हाल्ने गरी रणनीति बनाएर काम गरिरहेको पनि चापागाईंले क्लिकमान्डुलाई बताए ।

हालसम्म सोल्टीको व्यवस्थापनमा ८ वटा होटल सञ्चालनमा आइसकेको छ भने धनगढी, विरगञ्ज, पोखरा, गोरखासहितको क्षेत्रमा होटल सञ्चालनको तयारी भइहेको सोल्टीले जानकारी दिएको छ । सोल्टीले व्यवस्थापन गरेका तथा सञ्चालनसहितका होटलको संख्या भने एक दर्जन पुगिसकेको छ ।

सोल्टीले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै होटलको व्यवस्थापन सम्हाल्ने गरी तयारी गरिरहेको छ । आगामी १५ दिनमै यसले व्यवस्थापन सम्हाल्ने विदेशी होटल तय हुने चापागाईंले जानकारी दिए । उनका अनुसार सोल्टीले नेपालमा मात्रे नभएर अन्तर्राष्ट्रिय स्तरमै छवि बनाउने गरी होटल व्यवस्थापन सम्हाल्ने काम गर्दै आएको छ ।

सोल्टीले एक महिना अगाडि मात्रै अन्तर्राष्ट्रिय होटल व्यवस्थापनको स्वीकृति पाइसकेको छ । सो अनुमतिपछि यसले विदेशी होटलको व्यवस्थापन सम्झौता गर्ने गरी अन्तिम तयारी गरिहेको पनि चापागाईंले जानकारी दिए ।

नेपालमा लामो समयसम्म विदेशी व्यवस्थापनमा चलेको सोल्टी आफैं होटल चेन बनाएर जान थालेपछि यसले विदेशीमा समेत सेवा विस्तार गर्ने भएको हो । सोल्टीले भारतसहित युरोपेली देशहरुसम्म नै होटल तयार पार्दै । तय भएको होटलको नाम र व्यवस्थापनको जानकारी अवको दुई सातामा आउने पनि उनको भनाइ छ ।


क्लिकमान्डु