नेपालीले व्यवस्थापन सम्हालेपछि आक्रामक बन्यो सोल्टी होटल, यसरी फैलाउँदैछ साम्राज्य

दर्जन होटलको व्यवस्थापन सम्हाल्दै अन्तर्राष्ट्रियस्तरमा जाने




काठमाडौं । नेपालको पाँचतारे होटलमा ५० वर्षको लिगेसी बनाइसकेको सोल्टी होटल नेपालीको व्यवस्थापनमा चलेपछि आक्रामक सेवा विस्तारमा लागेको छ । होटल सञ्चालन तथा व्यवस्थापनमा साम्राज्य नै स्थापित गर्नेगरी सोल्टी होटल अगाडि बढेको छ ।

सोल्टीले नेपालमै एक दर्जनको व्यवस्थापन सम्हाल्दै छ । नेपालमा मध्यम तथा उच्च वर्गका ग्राहकलाई सेवा दिने गरी स्थापित यो होटलले अहिले एक दर्जन होटलको व्यवस्थापन गर्ने भइसकेको छ ।

सोल्टीमोड-ताहाचलमा रहेको पाँचतारे होटल सोल्टी होटल अहिले नेपाली व्यवस्थापनमै चलेको छ । यसले काठमाडौंबाहिर नेपालगञ्जमा पाँचतारे होटल सोल्टी सिब्क्रिम चलाइरहेको छ ।

पोखरामा पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरिरहेको छ । यो होटल समूहकै इटहरीमा पाँचतारे होटल छ । सोल्टीको चितवनमा पनि सोल्टी वेस्टर्न होटल सञ्चालन गर्दै छ । यसले नगरकोटको तायो इको रिसोर्टको व्यवस्थापन सम्हालिइरहेको छ ।

सञ्चालनमा आएका, निर्माणाधीन र निर्माणको तयारीमा रहेकोसमेत गरी सोल्टी होटलसँग अहिले नै एक दर्जन वटा होटल जाेडिएका छन् । होटल नेपाली व्यवस्थापनमा आएपछि लगानी विस्तार र बजारीकरणलाई थप आक्रामक बनाउन थालेको हो ।

लामो समय विदेशी व्यवस्थापनमा चलेको यो होटलबाट ३ वर्ष अगाडि मात्रै विदेशी व्यवस्थापन समूह बाहिरिएको हो । साढे २ दशकभन्दा लामो समयदेखि सोल्टी होटलको व्यवस्थापन सम्हालेको वेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिए पछि नेपाली व्यवस्थापनले नै होटल सम्हाल्न थालेको हाे ।

यो होटलले यसअघि बनाइरहेको र सम्हाल्न थालेको सबै होटल अब ‘दि सोल्टी काठमाडौं’को ब्राण्डमा चलाइरहेको छ । सोल्टीको व्यवस्थापनमा चलेको सबै होटलको गुणस्तर, सेवा र सुविधा सोल्टी होटलमै भएकै अनुसार हुने छ । यसको सेवा र सुविधा सबै क्षेत्रमा समान हुने पनि उल्लेख छ ।

सोल्टी होटलसँग अहिले सञ्चालनमा आएमा, सञ्चालन सम्झौता भइसकेको र तयारीका होटल गरेर एक दर्जन पुगेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

‘विदेशी व्यवस्थापन नहुँदा नेपालबाट बाहिरिने रकमसमेत रोकिन्छ भने नेपालभित्रै नेपाली हस्पिटालीटीलाई पनि प्रवद्र्धन गर्न सकिन्छ,’ चापागाईंले क्लिकमान्डुसँग भने ।

विदेशी व्यवस्थापन हुँदा सोल्टीबाट मात्रै बार्षिक १० देखि १२ करोड रुपैयाँ बाहिरिने गरेको थियो भने त्यो पैसा अब बचत हुने र यही लगानी गर्न सकिने बुझाइ सोल्टीको छ । होटल क्षेत्रको नेपाली जनशक्ति संसारभर अब्बल मानिएका छन् । नेपालबाट विदेशी ब्राण्ड बाहिरिएपछि सोल्टीले आफ्नै व्यवस्थापनलाई प्रवद्र्धन गर्न लागिएको चापागाईंले बताए । उनका अनुसार नेपाली होटलको व्यवस्थापन सम्हाल्दै अब सोल्टी होटल छिमेकी मुलुक भारतदेखि युरोपका विभिन्न सहरसम्मका होटलको व्यवस्थापन सम्हाल्ने तयारी छ ।

सोल्टीले भारतमा होटल खोजिरहेको छ भने अनुलकुल होटल पाएसँगै हाम्रो व्यवस्थापन हुन्छ । उनका अनुसार यूरोपेली देशमा पनि सोल्टीले होटल खोजिरहेको छ । उपयुक्त होटल भेटिएको अवस्थामा नेपालबाट अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्ने पहिलो व्यवस्थापनका रुपमा सोल्टीलाई चिनाउने प्रयासमेत भइरहेको छ ।

होटलले तालिम, प्रविधि, जनशक्तिसहितमा गरेको भएको लगानीका कारण पछिल्लो समय अब्बल जनशक्ति तयार हुँदै गएको बताएको छ । सोल्टी होटल नेपालभित्र मात्रै नभएर बाहिरसमेत जान सक्ने गरी अब्बल हुनुको कारण पनि यसले जनशक्ति, ब्राण्ड, प्रविधिसहितमा गरेको लगानी नै भएको पनि होटल सोल्टीका उपाध्यक्ष चापागाईंको बुझाइ छ ।

चापागाईंका अनुसार हाम्रो सोल्टीले व्यवस्थापन सम्हालेको तर सञ्चालनमा नआएका होटलमा मनकामना सोल्टी वेस्टन रिसोर्ट निर्माणाधीन छ भने ठमेलको सूर्य हेरिटेज सञ्चालनको तयारीमा छ ।

सोल्टीले जनकपुर मिथिला यात्री, नगरकोटको ताओ इको रिसोर्टको व्यवस्थापन सम्हालिरहेको छ । यसले लुम्बिनी र पोखरामा पनि होटल सञ्चालन गर्दै छ । वीरगन्ज, पाेखरा र धनगढीमा पनि होटलको व्यवस्थापन सम्हाले गरी आवश्यक छलफल भइरहेकाे र त्यसका लागि तयारी हुँदै गरेको पनि होटल सोल्टीले जानकारी दिएको छ ।

नेपालमा होटल क्षेत्रमा भएको लगानी, सरकारी प्रवद्र्धन र पर्यटकीय गतिविधिमा भएको सकारात्मक बृद्धिले होटल क्षेत्रलाई उत्साहित गराइरहेको छ । सोल्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा खाना खुवाउने साेल्टी गेट गरमेटसमेत सञ्चालन गर्दै आएको छ ।

यी हुन् सोल्टीको व्यवस्थापन रहेका तथा व्यवस्थापनकाे तयारीका होटलहरु

१. सोल्टी होटल, ताहाचल
२. सोल्टी सिब्क्रिम, नेपालगन्ज
३. सोल्टी वेस्टर्न, इटहरी
४. सोल्टी वेस्टर्न, चितवन
५. सोल्टी वेस्टर्न, धनगढी
६. सोल्टी वेस्टर्न, लुम्बिनी
७. सोल्टी वेस्टर्न, वीरगन्ज
८. सोल्टी वेस्टर्न, पोखरा
९. मिथिला यात्री, जनकपुर
१०. मनकामना सोल्टी वेस्टर्न, गोरखा
११. तायो इको रिसोर्ट, नगरकोट
१२. ठमेल हेरिटेज, काठमाडौं


राजु बास्कोटा