राजालाई जुत्ता उपहार दिने धनकुटा, सस्तो चिनियाँ मूल्यले निलेको हाते उद्योगको ‘विरासत’

समय, प्रविधि र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु मुख्य कारण


धनकुटा । कुनै समय धनकुटाको पहिचान र आत्मनिर्भरताको प्रतीक झैँ मानिएका छालाका हाते जुत्ता उद्योग यस बेला आधुनिकताको चाप र सस्तो विदेशी उत्पादनका कारण अस्तित्व जोगाउन संघर्षरत छन् ।

दुई दशक पहिलासम्म धनकुटामा हाते जुत्ता उद्योग पेसा मात्र नभएर पहिचान थियो । हातले बनाइने छालाका जुत्ता, चप्पल र स्यान्डल पूर्वी पहाडी भेगमा टिकाउ र भरपर्दो मानिन्थे ।

त्यति मात्र होइन, त्यस बेला राजा पूर्वाञ्चल भ्रमणमा आउँदा धनकुटा नै बास बस्थे । त्यस बेला यहाँका उद्यमीले राजालाई ढोग स्वरूप हातले बनाएका जुत्ता चढाएको पनि इतिहास छ । धनकुटा–७, टुँडिखेलसँग जोडिएको तत्कालीन ‘सार्की टोल’को पनि यस बेला नाम परिवर्तन भएर एलम्बर चोकमा परिणत भएको छ ।

दशक पहिलासम्म यहाँ दुई दर्जनभन्दा बढी हाते छाला जुत्ता तथा चप्पल उद्योग थिए । यस बेला ती तीनवटामा सीमित छन् ।

आधुनिकतासँगै खुला बजारमा उपलब्ध सस्तो मूल्यका चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका प्रायः सबै उद्योग बन्द भइसके । आफ्नो पुर्ख्यौली पेसा सम्हाल्दै आएका ४२ वर्षीय अजय बोगटी सस्तो चिनियाँ जुत्ताले हाते उद्योग समस्यामा परेको बताउँछन् । ‘आधुनिकता र सस्तो चिनियाँ सामानले यहाँका हाते जुत्ता उद्योगलाई विस्थापित नै गर्‍यो,’ उनले भने ।

प्रवीणता प्रमाणपत्र तहसम्म पढेका अजयले २० वर्षको उमेरमै बुबा जयकुमारको हातबाट जुत्ता बनाउने सीप सिके । त्यतिबेला धनकुटा बजार, हिले र आसपासका क्षेत्रमा दर्जनौँ हाते जुत्ता पसल थिए । दसैँ–तिहार आउनु अघिसम्म खाने र सुत्ने फुर्सद हुँदैनथ्यो । उनी सम्झन्छन, ‘छिमेकी जिल्ला भोजपुर, तेह्रथुम, संखुवासभाबाट पनि ग्राहक आउँथे, जुत्ता–चप्पल किन्थे अनि अरू अर्डर दिएर फर्कन्थे ।’

त्यो समयमा एक जोडी जुत्ता बेचेर राम्रो आम्दानी हुन्थ्यो । स्थानीय विद्यालयका विद्यार्थी, कर्मचारी, किसान सबैको पहिलो रोजाइ हाते जुत्तै हुन्थे । पसलमा काम गर्नेहरूमा कामप्रति गर्व थियो । ‘हामीले बनाएको जुत्ता वर्षौँ टिक्थ्यो, सबैको रोजाइमा पर्थ्यो,’अजय गर्वका साथ भन्छन् ।

झन्डै ८ दशक पहिला उनका हजुरबुबा शुक्रबहादुरले यो पेसाको सुरुवात गरेका थिए । शुक्रबहादुरले थालेको यो पेसालाई उनका छोरा जयकुमारले धाने । यस बेला उनका नाति अजयले धानिरहेका छन् । ‘हजुरबुबा शुक्रबहादुर र बुबा जयकुमारले राजाको सवारीमा आफूले हातले बनाएका जुत्ता ढोग चढाएका थिए,’उनले भने ।

तर समय फेरियो । बजारमा चीनबाट आयातित सस्ता, चम्किला र डिजाइनदार जुत्ताको बाढी नै चल्न थाल्यो । त्यो बाढीले यहाँका हाते जुत्ता उद्योग बगाएरै छाड्यो ।

मेसिनले बनेका ती जुत्ता सस्तो मूल्यमा उपलब्ध हुन थाले । उपभोक्ताको रोजाइ पनि बिस्तारै टिकाउभन्दा फेसनतर्फ मोडिन थाल्दा यहाँका हाते उद्योग संकटमा परेको अर्का उद्यमी सञ्जीव बोगटीको बुझाइ छ ।

‘दशक पहिलासम्म यहाँका हाते जुत्ता उद्योग र पसलमा दिनभर ग्राहकको भीड लाग्थ्यो, अहिले दिनभरमा एक–दुई जना पनि आउन मुस्किल हुन्छ । छालाको मूल्य बढेको छ । धागो र सुल सबै महँगो भयो,’ अजय भन्छन्, ‘चिनियाँ उत्पादनको दाँजोमा हामीले बनाएको जुत्ता महँगो भयो भनेर ग्राहक फर्किन्छन् ।’

यस बेला यहाँ उत्पादन हुने जुत्ता–चप्पलका मुख्य ग्राहक क्याम्पस र स्कुले बालबालिका अनि सरकारी कर्मचारी हुन् । स्कुल–कलेजका विद्यार्थीले टिकाउ भएकै कारण पोसाकमा स्थानीय उत्पादन प्रयोग गर्ने गरेकाले नै अहिले सञ्चालनमा रहेका तीनवटा उद्योग टिकेका छन् । ‘सरकारी कर्मचारीले पनि बलियो र टिकाउ भएकै कारण स्थानीय उत्पादन प्रयोग गर्दा सामान्य राहत भएको छ,’ बोगटीले भने ।

यसअघि आफ्नो उद्योगबाट मात्र मासिक एक लाख रुपैयाँभन्दा बढी मूल्यका जुत्ता–चप्पल बिक्री हुने गरेको अजय सम्झन्छन् । अहिले त्यति मूल्यको कारोबार गर्न विद्यालय र कलेज भर्नाको समय पर्खनुपर्ने उनी बताउँछन् । अजयले भने, ‘हातले तयार गरेका जुत्ता–चप्पल बिक्री हुन छाडेपछि युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक उड्न थाले । केही समयपछि हाल सञ्चालनमा रहेका उद्योगलाई पनि निरन्तरता दिने जनशक्तिको अभाव हुने निश्चित छ ।’

उनीहरू विराटनगर र भारतबाट आवश्यक कच्चा पदार्थ ल्याएर हातले जुत्ता–चप्पल बनाउँदै आएका छन् । उनीहरूले हातले तयार गरेका जुत्ताको मूल्य कम्तीमा ८ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै, चप्पल कम्तीमा ६ सयदेखि १२ सयसम्म पर्छ ।

धनकुटा जिल्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका हाते जुत्ता उद्योग कुनै समय स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार थिए । छालाबाट हातैले बनाइने जुत्ता, चप्पल र स्यान्डलले धनकुटाको पहिचान मात्र बोकेको थिएन, स्थानीय शम्भु प्रधानका अनुसार यी उद्योगले सयौँ परिवारलाई रोजगारी पनि दिएका थिए । तर यस बेला समय, प्रविधि र बजारको तीव्र परिवर्तनसँगै यी उद्योगहरू संकटमा पर्दै जाँदा योसँग जोडिएका अधिकांश युवा विदेश पलायन भएको प्रधानको प्रतिक्रिया छ ।

दुई दशकअघि धनकुटाका विभिन्न गाउँ तथा बजार क्षेत्रमा हाते जुत्ता उद्योग निकै फस्टाएका थिए । स्थानीय कालिगडहरूले घरेलु सानो कार्यशालामा छाला प्रशोधनदेखि जुत्ता सिलाइँसम्मको काम गर्थे । धनकुटा बजार, हिले, राजारानी आसपासका क्षेत्रमा यस्ता उद्योगको बाक्लो उपस्थिति थियो । अहिले पनि जिल्लामा १४ वटा उद्योग दर्ता देखिन्छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अधिकृत अर्जुन कार्कीले भने, ‘मुस्किलले तीनवटा उद्योग मात्र सञ्चालनमा रहेको पाइएको छ ।’

यहाँ तयार हुने जुत्ता मजबुत, टिकाउ र पहाडी भेगका लागि उपयुक्त मानिन्थे । स्थानीय बासिन्दा मात्र नभएर छिमेकी पहाडी जिल्लाहरूबाट समेत ग्राहक धनकुटा आउँथे । विद्यालयका जुत्ता, सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता तथा सर्वसाधारणका लागि बलिया चप्पल हाते उद्योगकै उत्पादन हुन्थे । ‘अहिले यहाँका उत्पादनलाई विदेशी उत्पादनले विस्थापित गरेको अवस्था छ,’ कार्कीले भने ।

यहाँका उद्योगमा पुस्तौँदेखि सीप हस्तान्तरण हुँदै आएको थियो । बुबाबाट छोरामा, गुरुबाट चेलामा सीप सर्ने परम्परा थियो । कच्चा पदार्थका लागि भारत तथा स्थानीय र तराईका बजारमा निर्भर भए पनि उत्पादन लागत कम हुँदा प्रतिस्पर्धा गर्न सहज थियो । ‘अहिले अब त्यो अवस्था छैन,’ कार्की भन्छन् ।

अहिले धनकुटाका हाते जुत्ता उद्योगको अवस्था कमजोर बनेको छ । एक समय दर्जनौँको संख्यामा रहेका उद्योग अहिले गन्तीका मात्र बाँकी छन् । धेरै उद्यमीले पेसा परिवर्तन गरिसकेका छन् भने केही रोजगारीको खोजीमा विदेश पलायन भएका छन् ।

सबैभन्दा ठूलो चुनौती बजारमा सस्तो र आकर्षक देखिने रेडिमेड जुत्ताको बाढी हो । भारत तथा चीनबाट आयात हुने मेसिनले बनेका जुत्ता सस्तो मूल्यमा उपलब्ध हुँदा हाते जुत्ताले प्रतिस्पर्धा गर्न सकेका छैनन् । उपभोक्ताको रोजाइ पनि टिकाउभन्दा डिजाइन र ब्रान्डतर्फ मोडिँदा यहाँका परम्परागत उद्योग संकटमा परेको स्थानीयको बुझाइ छ ।

पर्यटनसँग जोडेर हाते जुत्ताको ब्रान्डिङ, अनलाइन बिक्री प्रणाली, स्थानीय सरकारको सक्रिय सहयोग र युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम आवश्यक देखिन्छ । सीपलाई आधुनिक प्रविधिसँग जोड्न सके धनकुटाका हाते जुत्ता उद्योग पुनर्जीवित हुन सक्छन् ।