बीपी कोइरालाले चियासँग बिस्कुट खान खोजेपछि ५ रुपैयाँ लगानीमा खुलेको उद्योग बन्यो धनकुटाको पहिचान

चिनी नपाउँदा बजारको माग धान्नै धौधौ


धनकुटा । पूर्णबहादुर श्रेष्ठले २०११ सालमा धनकुटामा हालको आर्मी क्याम्प भएको स्थानमा बजारकै पहिलो चिया र नास्ताको पसल खोले ।

उसबेला पूर्वाञ्चलको मुकाम धनकुटाको त्यही स्थानबाट सबै प्रशासनिक काम हुने गरेकाले त्यो ठाउँलाई त्यसबेला गौडा भनिन्थ्यो । अहिले त्यो स्थान देब्रेवासको सल्लेरी चोक र आर्मी क्याम्पले चिनिन्छ ।

प्रशासनिक कामका लागि त्यहाँ पुग्ने जो कोहीको भीड पूर्णबहादुरको पसलमा चिया पिउन मात्र नभएर चना र चिउरा नास्ता खान लाग्थ्यो ।

हरेक दिन चना र चिउरा नास्ता खाने गरेका ग्राहकले पसलमा नास्ताको विकल्प र नयाँ स्वाद खोज्न थाले। त्यसमध्येका एक थिए, नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला ।

राजनीतिक गतिविधि र पार्टीको सांगठनिक विस्तारका दौरान धनकुटा पुग्दा उनको पसलमा नियमित चिया पिउने र नास्ताका नाममा चना अनि चिउरा खाने गरेका मधेसवासी कोइरालाले वैकल्पिक नास्ताका रूपमा पसलमा बिस्कुट राख्न पूर्णबहादुरलाई सुझाए ।

त्यसबेला बिस्कुट सर्वत्र पाइँदैनथ्यो । त्यसबेला मुलुकका चल्तीका नेता कोइरालाको ढाडसपछि पूर्णबहादुरले तत्काल जुक्ति निकाले, गहुँको पिठोमा नरिवलको टुक्रा मिसाएर आगोमा पोल्ने अनि त्यसैलाई बिस्कुटका नाममा बिक्री गर्ने ।

त्यसपछि उनले चिया पसलसँगै आगोको सानो भट्टी खोले । अनि गहुँको पिठो भिजाएर रोटी बेलेझैँ बेले । त्यसमा नरिवलका टुक्रा पनि मिसाए । त्यो बेलिएको रोटीलाई गिलासले काटेर गोलाकार पिस बनाए । अनि त्यही गोलाकार पिसलाई आगोको भट्टीमा पोलेर नरिवल बिस्कुटको उत्पादन सुरु गरे ।

बिस्कुट उत्पादन सुरु गरेपछि पनि बीपी कोइराला उनको चिया पसल पुगे । चियासँग नरिवल बिस्कुट चोब्दै खाँदा कोइरालाले बिस्कुटको स्वादको तारिफ गरे । स्थानीय ईश्वर अकेलाले त्यसबेलाको क्षण स्मरण गर्दै भने, ‘बीपीले त्यतिबेला पूर्णबहादुरलाई बिस्कुट बनाउने कामलाई निरन्तरता दिन र अझै राम्रोसँग उद्योग सञ्चालन गर्न ढाडस दिनु भएको थियो । त्यसपछि पूर्णबहादुरले उद्योगलाई झन् व्यवस्थित रूपमा चलाउन थालेका थिए ।’

बुबा पूर्णबहादुरले थालेको कामलाई पछिल्लो समय छोरा मोहनले निरन्तरता दिँदा ‘मोहन बिस्कुट उद्योग’ अहिलेको अवस्थामा आइपुगेको अकेला बताउँछन् ।

७१ वर्ष पहिला पाँच रुपैयाँ लगानीमा धनकुटाकै पहिलो उद्योगका रूपमा स्थापना भएको मोहन बिस्कुट उद्योग अहिले धनकुटाकै पहिचान बनेको छ भन्दा फरक पर्दैन ।

स्थापनाकालमा यो उद्योगको नाम नै थिएन । २०३० सालमा मात्र उद्योगको नाम दर्ता गरेर सञ्चालन भइरहेको मोहन श्रेष्ठ बताउँछन् ।

‘२०३० सालमा तत्कालीन जिल्ला पञ्चायतमा मोहन बिस्कुट उद्योगका नाममा दर्ता गरेर सञ्चालन हुँदै आएको छ,’ उनले भने, ‘यसबेला उद्योगको लगत घरेलु तथा साना उद्योगमा सरेको छ ।’

चिया पसलमा नरिवल बिस्कुट उत्पादन सुरु गरेसँगै बुबा पूर्णबहादुरको नाम पनि परिवर्तन भएर विश्वेश्वर भएको मोहन सुनाउँछन् ।

‘बीपी कोइरालाले पसलमा चिया खान आउँदा नास्ताका रूपमा बिस्कुट राख्न सुझाव दिएपछि बुबाले आगोमा पोलेर नरिवल बिस्कुट बनाउन थाल्नु भएको रहेछ । यसको श्रेय विश्वेश्वरप्रसादलाई गयो,’ मोहनले भने, ‘बुबाको कद र बोली पनि विश्वेश्वरकै जस्तो थियो । चिया पसलमा नरिवल बिस्कुट पोल्न सुरु गरेसँगै सबैले बुबालाई पनि विश्वेश्वर नै भन्न थाले ।’

धनकुटामा बुबालाई पूर्णबहादुर भनेर कसैले पनि नचिन्ने उनी बताउँछन् । ‘बुबालाई पनि विश्वेश्वर र उद्योगलाई पनि विश्वेश्वरकै भनेर चिन्छन्,’ मोहनले भने ।

देब्रेवासको सल्लेरी चोकमा आर्मी क्याम्प राख्न त्यहाँको जमिन अधिग्रहण गरेपछि यो बिस्कुट उद्योग अहिले धनकुटा ४ देब्रेवासकै घले टोलमा सरेको छ ।

सुरुमा गहुँको पिठोमा नरिवलको टुक्रा मिसाएर एउटा मात्र ब्रान्डबाट उत्पादन सुरु गरेको यो उद्योगले यसबेला विभिन्न १४ ब्रान्डमा बिस्कुटका परिकार उत्पादन गर्दै आएको छ ।

यहाँको मोहन बिस्कुट यसबेला धनकुटाकै चिनारी बनेको छ । धनकुटाबाट बाहिर जाने र बाहिरका मानिस धनकुटा आएर घर फर्कँदा यो बिस्कुट कोसेलीका रूपमा नबोक्ने कोही हुँदैनन् । स्थानीय शम्भु प्रधानले क्लिकमान्डुसँग भने, ‘मोहन बिस्कुट यसबेला पाहुनाका लागि कोसेली र धनकुटाको चिनारी नै बनेको छ भन्दा फरक पर्दैन ।’

५ रुपैयाँको पुँजी २० लाख पुग्यो

सात दशक पहिला पाँच रुपैयाँ लागत र एक कामदारका भरमा सुरु भएको यो उद्योगमा यसबेला १८ जनाले रोजगारी पाएका छन् । यसको सञ्चालन पुँजी पनि यसबेला २० लाख पुगेको छ । उद्योगले वार्षिक सरदर पौने दुई करोडको बिस्कुट उत्पादन र बिक्री गर्दै आएको सञ्चालक मोहनले बताए ।

उद्योगले माग अनुसारको उत्पादन बजारमा पुर्‍याउनै नसकेको उनी बताउँछन् ।

उद्योगले नरिवल बिस्कुटबाट उत्पादन सुरु गरेर यसबेला खास्ता, डुनट, कुकीज, फुलकेक, पाउरोटी र ब्रेड लगायतका परिकार पनि उत्पादन गर्दै आएको छ । ‘यो उद्योगले उत्पादन गरेका वस्तुको मुख्य बजार धनकुटा, तेह्रथुम, धरान, संखुवासभा र काठमाडौँ हो,’ मोहनले भने, ‘त्यसबाहेक धनकुटाबाट बाहिर पाहुना जाने र बाहिरबाट धनकुटा पाहुना आएर घर फर्कँदा कोसेलीका रूपमा बोक्ने ग्राहक हुन् ।’

उद्योगले धनकुटाको भेडेटारमा उत्पादन पुर्‍याउने गरेको छ । त्यसबाहेक सबै ग्राहक स्वयम् उद्योगमै आएर किन्छन् अनि बोकेर फर्कन्छन् ।

उद्योगको उत्पादनले बजार पाउँदैन कि भन्ने चिन्ता छैन । चिन्ता छ त बजारको मागलाई धान्न सकिँदैन कि भन्ने । सञ्चालिका निना श्रेष्ठले भनिन्, ‘उद्योगलाई आवश्यकता अनुसारको मैदा र चिनी जुटाउनै गाह्रो पर्दै आएको छ ।’

बजारको माग अनुसार बिस्कुट उत्पादन गर्न उद्योगलाई दैनिक ३ सय केजी मैदा र कम्तीमा पनि सय केजी चिनी आवश्यक पर्ने उनको भनाइ छ । चिनीको अभावले उद्योग प्रभावित हुँदै आएको छ ।

‘नेपाली चिनी पाइँदै पाइँदैन । तस्करीबाट भित्रिएको भारतीय चिनी महँगो मूल्यमा किनेर उद्योग चलाउन बाध्य छौँ,’ उनले भनिन्, ‘तस्करीको चिनी किन्दा भ्याट बिल हुँदैन । त्यसकै कारण राजस्वको गिद्धे नजरमा पर्दै आएका छौं ।’

भ्याट बिल तिरेर चिनी किन्ने वातावरण समेत सरकारले बनाउन नसकेको भन्दै उनले आलोचना गरिन् । कच्चापदार्थ सहजरुपमा किन्न पाउने वातावरण हुँदा उद्योगको उत्पादन बढाउन र थप रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ ।

‘उद्योग सञ्चालनका लागि सरकारले सहयोगी भूमिका खेल्दैन,’ निनाले भनिन्, ‘तस्करीको चिनी किन्न बाध्य बनाएर राजस्वको फन्दामा पार्छ ।’

धनकुटामा ४ हजार २३८ साना तथा घरेलु उद्योग छन् । तीमध्ये १९ वटा बिस्कुट उद्योग छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अधिकृत अर्जुन कार्कीका अनुसार यहाँका उद्योग मध्ये मोहन बिस्कुट उद्योग धनकुटाको पहिचान नै बनेको छ ।

धनकुटा र आसपास मोहन बिस्कुट बाहेकका उद्योगको खास ब्राण्ड चलेको पाइँदैन ।

साना उद्योग कार्यालयका अधिकृत कार्की चिनी लगायतको कच्चा पदार्थ आवश्यकता अनुसार नपाउँदा बजारको माग अनुसार उत्पादन गर्न नसकेको गुनासो उद्योगीले पटक-पटक गर्ने गरेको बताए ।