रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोकिने, सर्वोच्चले दिएन माग बमोजिम आदेश


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको आईपीओको प्रक्रिया बदर नहुने भएको छ ।

आईपीओको प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम नहुने अन्तिम आदेश जारी गरेको हो ।

नेपाल सेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेल मंसिर २२ गते रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । तर, २३ गते सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठको आदेश दिएका थिए ।

दरपिठको आदेशविरुद्ध इजलासमा निवेदन पुगेपछि २६ गते रिट दर्ता भएको थियो ।

२८ गते न्यायाधीशहरु मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइपछि मिसिल झिकाउन आदेश जारी भएको थियो भने पुस २ गते तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा परे पनि हेर्न नभ्याइनेमा परेको थियो ।

कँडेलसमेत २ जनाले अर्थ मन्त्रालय समेतलाई विपक्षी बनाएर ‘रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्काशनमा कम्पनीको चुक्ता पुँजीको कम्तिमा १० प्रतिशत सेयर पाउने हकलाई बन्चित गर्ने गरी, सेयरको प्रिमियम दर कम्पनी ऐन २०६३ तथा धितोपत्र ऐन २०६३ विपरित हुने गरी धितोपत्र निष्काशन गर्दा अघिल्लो आर्थिक वर्षको आर्थिक विवरणका आधारमा पुन विवरणपत्र स्वीकृत तथा प्रकाशन नगरी, संस्थागत लगानीकर्ताहरु बुक बिल्डिङ निर्धारण गरी कायम गरिएको मूल्यमा विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक लगायत सर्वसाधारणलाई बढी रकम लिने गरी निष्काशन गरेको सम्बन्धमा हालसम्म भएका कामकारबाही उत्प्रेषणको आदेशले बदर गरी कम्पनीको यथार्थ तथा वास्तविक आर्थिक विवरणका आधारमा सेयरको प्रिमिय दर कायम गरी पुन विवरण पत्रको स्वीकृति तथा प्रकाशन गरी नेपाली सर्वसाधारण जनताले कम्तिमा १० प्रतिशत सेयर पाउने कानुनीहकको सुनिश्चिति गर्ने गरी सेयर निष्काशन गर्नु गराउनु भनि परमादेशसमेत जारी गर्न माग’ गरिएको थियो । तर इजलासले माग बमोजिम नहुने आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै रिलायन्सले मंसिर २२ गतेदेखि विदेशमा बस्ने नेपालीको लागि आईपीओ निष्काशन खुला गरेको थियो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।

कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो ।

सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि खुला गरेको आईपीओ बाँडफाँड पश्चात कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका आगामी पुस ७ गतेदेखि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।