१७ गुणा बढी माग भएको रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँट गरिएको छ ।

कम्पनीले जारी पूँजीको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक विल्डिङ्ग विधिमार्फत निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारित ‘कट अफ’ मूल्य ९१२ रूपैयाँ मा १० प्रतिशत छुट दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रतिसेयर ८२० रूपैयाँ ८० पैसाको दरमा निष्कासन गरिएको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि कूल ३५ हजार १०२ जना आवेदकबाट १९ लाख ४४ हजार ३३० कित्ता सेयरको माग भएको थियो । यो माग निष्कासन गरिएको सेयरभन्दा करिब १७ गुणा बढी हो ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार न्यूनतम ५० कित्ताको सीमा तोकिएकाले, गोलाप्रथा विधिद्वारा बाँडफाँट गर्दा ३५ हजार १०२ जना योग्य आवेदकमध्ये २ हजार ३११ जनाले मात्र सेयर पाएका छन् । यी भाग्यशाली आवेदकलाई न्यूनतम ५० कित्ताको दरले सेयर बाँडफाँट गरिएको छ ।