रिलायन्स स्पिनिङको आईपीओमा २० मिनेटमै मागभन्दा बढी आवेदन

1.4k
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ निष्कासन खुला भएको २० मिनेटमै मागभन्दा बढी आवेदन परेको छ ।

कम्पनीले मंसिर २२ (सोमबार)बाट वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको थियो ।

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति पाएको कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरी कट अफ मूल्य तय गरेर २०८१ असारमा नै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । तर, अदालतको आदेशपछि बोर्डले बिक्री प्रबन्धकलाई पत्र लेख्दै निष्काशन प्रक्रिया रोकेकोमा गत साता मात्रै प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

बोर्डको निर्देशनसँगै कम्पनीले सोमबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीको आह्वानपत्रमा उल्लेख थियो। कम्पनीले बुक बिल्डिङ प्रक्रियामा योग्य संस्थागत लगानीर्ताले कबोल गरेको कटअफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो भने त्यसको १० प्रतिशत कम मूल्य अथात् ८२० रुपैयाँ ८० पैसामा कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २५ गतेसम्म आवेदन दिन पाउने भए पनि सोमबार आवेदन खुलेको २० मिनटेमा नै मागभन्दा बढी आवेदन परेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशतका दरले १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकत गराएको थियो ।

जसको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरी ९१२ रुपैयाँ कटअफ मूल्य तय भएको थियो । बाँकी रहेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशतले हुने एक लाख १५ हजार ५९६ कित्ता साधारण सेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री खुला गरेको हो ।

जसमा आवेदन खुलेको २० मिनेटमा नै १९७० आवेदकले १ लाख १८ हजार ३४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई निष्काशन गरेको सेयरभन्दा बढी हो ।