
एजेन्सी । विश्वव्यापीकरणको युगमा चिनियाँहरूले अद्भुत प्रगति गरे । सन् १९९० मा चीनमा ९४ करोड मानिस (सन् २०२१ को मूल्यअनुसार) दिनको ३ डलरभन्दा कम आयमा बाँचिरहेका थिए । विश्व बैंकका अनुसार, यो त्यतिबेलाको कुल जनसंख्याको ८३ प्रतिशत थियो । सन् २०१९ सम्म आइपुग्दा यो संख्या शून्यमा झर्यो ।
दुर्भाग्यवश, अमेरिका त्यति सफल हुन सकेन । ४० लाखभन्दा बढी अमेरिकी (अर्थात्, जनसंख्याको १.२५ प्रतिशत) ले दिनको ३ डलरभन्दा कम आयमै गुजारा चलाउनुपरेको छ । यो ३५ वर्षअघिको भन्दा तीन गुणा बढी संख्या हो ।
यी तथ्यांकहरू अमेरिकाको लगातार सफलताको कथासँग धेरै मेल खाँदैनन् । हो, अमेरिकी उत्पादकत्व युरोपका समकक्षी देशहरूभन्दा धेरै अघि बढेको छ । थोरै देश मात्र छन् जसले एक घण्टा काम गर्दा अमेरिकाभन्दा धेरै वस्तु उत्पादन गर्छन् । अहिले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रले अमेरिकालाई अझै अघि बढाउने वाचा गरिरहेको छ ।
तर, अमेरिकाले आफ्नो धन कसरी खर्च गर्छ भन्ने कुरालाई यस कथाले उपेक्षा गर्छ । कुनै समाजको सफलता त्यसको शासन प्रणाली, राजनीतिक सम्झौता र सहमतिहरूको नैतिकतामा भर पर्छ । यी सबै धेरै हदसम्म समाजले आफ्ना उपलब्धिहरूका फल कसरी उपयोग गर्छ र असफलताका लागत कसरी बाँड्छ भन्नेबाट निर्धारण हुन्छ ।
आज सबैभन्दा गरिब १० प्रतिशत अमेरिकीहरूले राष्ट्रको कुल आयको करिब १.८ प्रतिशत मात्र पाउँछन् जुन गरिब बोलिभियालीहरूले पाउने आयको हिस्सासरह हो
चीनभन्दा फरक रही अमेरिकाले गरिबीको रेखामै बाँच्ने मानिसहरूलाई धेरै सहयोग प्रदान गरेन । प्रतिव्यक्तिको हिसाबले अमेरिकाको आर्थिक उत्पादन चीनको भन्दा ६ गुणा बढी छ । तर, अचम्मलाग्दो कुरा के छ भने अमेरिकामा चीनभन्दा बढी संख्यामा अत्यन्तै गरिब मानिस भेटिन्छन् ।
अमेरिकामा असमानताको कथा अहिले धेरैलाई थाहा भइसकेको छ । तैपनि, आय वितरणको असन्तुलन झनै खराब हुँदै गएको देख्दा अचम्म लाग्छ । सन् १९८० मा अमेरिकी मध्यमवर्गको आय माथिल्लो ९०औं पर्सेन्टाइलमा पर्ने व्यक्तिहरूको आयको करिब ५२.५ प्रतिशत थियो । २१औं शताब्दी लाग्नै लाग्दा यो ४८ प्रतिशतमा झर्यो । सन् २०२३ सम्म आइपुग्दा यो झनै घटेर ४२.५ प्रतिशत भयो ।
अमेरिकामा गरिबहरूको आय विकासोन्मुख मुलुकको स्तरसम्म झर्दै गएको छ । सन् २००० देखि २०२३ सम्म सबैभन्दा धनी ९०औं पर्सेन्टाइल समूहको आय सबैभन्दा तल्लो १०औं पर्सेन्टाइल समूहको आयभन्दा दोब्बर गतिमा बढ्यो ।
आज सबैभन्दा गरिब १० प्रतिशत अमेरिकीहरूले राष्ट्रको कुल आयको करिब १.८ प्रतिशत मात्र पाउँछन् जुन गरिब बोलिभियालीहरूले पाउने आयको हिस्सासरह हो । नाइजेरियामा गरिबहरूले ३ प्रतिशत पाउँछन्, चीनमा ३.१ प्रतिशत र बंगलादेशमा ३.७ प्रतिशत ।
बजार शक्तिलाई दोष दिन सजिलो छ । त्यस शक्तिले अमेरिकामा उपलब्धिको वितरण गराउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका छन् । विश्वव्यापीकरण (ग्लोबलाइजेशन) र प्रविधिले मजदुरीमा खर्च हुने राष्ट्रिय आयको हिस्सा मात्र घटाएन, यसले कामदार वर्गभित्रकै असमानता पनि बढायो । उच्च शिक्षित कामदारलाई पुरस्कार दियो र कम सीप भएका कामदारलाई रोबोटहरूले प्रतिस्थापन गरे ।
ट्रम्प प्रशासनका मुख्य पहलहरू, जस्तै राष्ट्रपतिको ‘बिग ब्युटीफुल बिल एक्ट’ (खर्च ऐन) र अन्धाधुन्ध ट्यारिफ (भन्सार शुल्क) हरू, ले धेरै दैनिक वस्तुहरूको मूल्य बढाउने र व्यावसायिक खर्च तथा रोजगारीमा नकारात्मक असर ल्याउने काम गरेको छ ।
गरिबप्रति अमेरिकाको उदासीनता ट्रम्प प्रशासनमा अचानक देखापरेको होइन । यो त पछिल्ला ५० वर्षदेखि डेमोक्य्राट र रिपब्लिकन दुवै दलका सरकारहरूको विशेषता हो
अमेरिकाले आफ्नो सफलता समाजका कमजोर वर्गसँग बाँड्न नसक्नु पुँजीवादको कुनै ‘गल्ती’ होइन भन्ने कुरा यी सबैले देखाउँछन् । यो त यसको विशेषता नै हो ।
यस ऐनले लाखौं मानिसको स्वास्थ्य बीमा खोस्नेछ र करोडौं मानिसको स्वास्थ्य खर्च अत्यधिक बढाउनेछ किनकि यसले मेडिकेड र अफोर्डेबल केयर एक्ट अन्तर्गतका बिमा सब्सिडीमा ठूलो कटौती गर्छ । यसले गरीबहरूको लागि चलाइने स्न्याप पोषण सहायता कार्यक्रमबाट पनि सयौं अर्ब कटौती गर्नेछ ।
ट्रम्पका ट्यारिफ र उनको बिग ब्युटीफुल बिलले सबैभन्दा धनी २० प्रतिशत बाहेक बाँकी सबै अमेरिकी परिवारहरूको घरायसी आय घटाउने येलको बजेट ल्याबले गरेको ताजा अनुमानले उजागर गर्छ । सबैभन्दा तल्लो १० प्रतिशतका लागि आय ७ प्रतिशतले घट्नेछ ।
गरिबप्रति अमेरिकाको उदासीनता ट्रम्प प्रशासनमा अचानक देखापरेको होइन । यो त पछिल्ला ५० वर्षदेखि डेमोक्य्राट र रिपब्लिकन दुवै दलका सरकारहरूको विशेषता हो । अमेरिकामा असमानता बढ्दै गए पनि बजार कार्यक्षमताको नाममा यसलाई बेवास्ता गरियो । जिमी कार्टरको कार्यकालपछि प्रत्येक सरकारमा धनीहरूको आय गरिबको भन्दा छिटो बढेको छ । बिल क्लिन्टनको प्रशासन र ट्रम्पको पहिलो कार्यकाल (जसमा कोभिड सहायता सब्सिडीले गरिबहरूको आय बढ्यो) मात्र त्यसका अपवाद हुन् ।
चाखलाग्दो कुरा त के छ भने आफू ‘सामान्य अमेरिकी कामदार’का पक्षमा रहेको दाबी गर्ने ट्रम्प वास्तवमा अमेरिकी पुँजीवादका समस्याहरू अझै चर्काउने काम गरिरहेका छन् । अहिले ट्रम्पले अन्यायपूर्ण विश्व व्यवस्थाविरुद्ध गरेको भाषणमा ताली बजाइरहेका लाखौं मागा समर्थकहरूले भाषण परिवर्तन हुनसक्ने तर अमेरिकाको आय वितरणको तरिका परिवर्तन हुनेवाला छैन भन्ने कुरा अन्ततः बुझ्नेछन् ।
यसो भनेर चीनलाई उसको अधिनायकवादी सरकार, अल्पसंख्यकमाथिको दमन वा कुनै पनि प्रकारको असहमतिका विरुद्ध प्रयोग गरिने कठोर शक्तिका लागि बधाई दिएको कदापि होइन । तर, कसरी विश्वकै सबैभन्दा धनी र सबैभन्दा पुरानो लोकतन्त्रले गर्न नसकेका कामहरू एउटा गैरलोकतान्त्रिक सरकारले गरिबी दर अत्यन्तै घटाएर फत्ते पार्न सफल भयो त्यसको बारेमा सोच्नुपर्छ ।
द गार्डियन पत्रिकामा प्रकाशित एडुआर्डो पोर्टरको आलेखको अनुवाद







प्रतिक्रिया