सही समयमा सही निर्णय गरिदिए मुलुकमा कुनै समस्या आउँदैन : उद्योगमन्त्री सिन्हा

0
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले जेनजी आन्दोलनको क्रममा सरकारी र निजी क्षेत्रमाथि भएको क्षतिको बिषयमा क्लिकमाण्डु डटकमले तयार पारेको प्रतिवेदन निक्कै क्रुर प्रकृतिको भएपनि तथ्यमा आधारित बैज्ञानिक रहेको जानकारी दिएका छन् ।

उनले प्रतिवेदनले आन्दोलनपछि निजी क्षेत्रले भोगेको भौतिक, मानसिक र आत्मविश्वासजस्ता समस्यालाई ऐनाजस्तो प्रष्ट पारेको जानकारी दिए ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उल्लेखनीय भएको हुँदा पनि उक्त क्षेत्र असुरक्षित महसुस गर्दा त्यो मुलुककै लागि पीडादायी भएको उनले बताए ।

‘आन्दोलनपछि सुरुमा शान्ति सुरक्षा कायम गर्नुपर्ने थियो, घटनाहरु पुनरावृति हुन नदिन सरकारले प्रतिवद्ध भएर लागेको छ । तथापी यतिले पुग्दैन । निजी क्षेत्रको मनोवल कसरी बढाउने बिषय गहन छ,’ उनले भने, ‘अर्थमन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले यो बिषयमा उद्योगी व्यवसायीलाई राहत हुने गरी केहि काम गरेको छ ।’

मिडियाहरु तथ्यहिन सामाग्री पस्केका कारण पनि निजी क्षेत्र तारो बनेको जानकारी दिदैं मन्त्री सिन्हाले भने, ‘कसले के गर्न हुने के गर्न नहुनेजस्ता नैतिकताको बिषय हामीले बिर्सिरहेका छौं । निजी क्षेत्रले पारदर्शीता र नैतिकता देखाउनु पर्छ । राज्य र नीजि क्षेत्रबीचको परस्पर विश्वास हुनुपर्छ । यो प्रतिवेदनले सरकार र उद्योगी व्यवसायीलाई पनि सच्चिनुपर्ने आशयसहित निश्कर्ष दिएको छ ।’

उद्योग र बाणिज्य क्षेत्रमा देखापरेको वैदेशिक व्यापार घाटा मुलुकको लागि ठूलो चुनौती देखापरेको छ ।

‘पछिल्लो समयमा प्रशासन संयन्त्रमा धेरै हदसम्म सुधार आएको छ । अझै सुधार हुन बाँकी छ । जहाँ स्वार्थ गासिएको राजनीतिक, निजी क्षेत्र र प्रशासनिक क्षेत्र बन्छ, तब समस्या आउँछ नै,’ उनले भने,’जेनजी आन्दोलन भएपनि एक दिन पनि बजार अभाव सिर्जना भएन । त्यो वेला निजी क्षेत्र आफु जलेर पनि सेवा दिएको थियो ।’

उनले निर्बाचनपछि अशान्ति फैलाउने तत्वहरु कानूनको दायरामा आउने बताउँदै न्यायालयमा सरकारको लागी निक्कै न्युन रहेको जानकारी दिए ।

मन्त्री सिन्हाले न्यायालयलाई समय सुहाउँदो चलायमान बनाउन सरकारको लगानी निक्कै दयनिय रहेको बताए ।