निजी क्षेत्र र उद्यमीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्छः उद्योगमन्त्री सिन्हा


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले देशको आर्थिक विकासका लागि निजी क्षेत्र र उद्यमीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा सिन्हाले यस्तो बताएका हुन् ।

‘सरकार आफैँले व्यापार गर्ने भन्दा पनि व्यवसायीहरूलाई सहज वातावरण मिलाइदिनुपर्नेमा जोड दिनुपर्ने देखिन्छ । यदि हामीले उद्यमीहरूलाई गरिखान दिने वातावरण बनायौँ भने उनीहरूले नै सरकारलाई सबल बनाउनेछन्,’ सिन्हाले भने ।

मन्त्री सिन्हाले हालैको राजनीतिक परिवर्तन र जेन–जी आन्दोलनको सन्दर्भ जोड्दै आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेका परिवार र घाइतेहरूलाई रोजगारीको अवसर सिर्जना गर्नु मन्त्रालयको प्राथमिकतामा रहेको बताए । क्षतिग्रस्त सार्वजनिक र निजी संरचनाहरूको पुनर्निर्माणमा मन्त्रालयले विशेष ध्यान दिने उनको भनाइ छ ।

मन्त्री सिन्हाले आफूले पदभार ग्रहण गरेदेखि नै उद्योगी र व्यवसायीका समस्या सुनेर त्यसलाई समाधान गर्न मन्त्रालयको सम्पूर्ण टिम परिचालन गरेको जानकारी दिए । उनले निजी क्षेत्रको विश्वास जितेर मात्रै मुलुकमा औद्योगिक क्रान्ति सम्भव हुने दाबी गरे ।